कोरोना प्रकोप : चिलीमा दर्जनौं नेपाली मारमा

31 March, 2020

ददि सापकोटा 

पेरिस — दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको त्रासले बन्द हुँदा त्यहाँ कार्यरत नेपालीहरू मारमा परेका हुन् । 

इकिकीस्थित उक्त मलमा कार्यरत राजेन्द्र कोइरालाका अनुसार उक्त सामुदायिक मलमा प्रत्येक दिन लाखौं व्यक्तिको भीड लाग्ने हुनाले त्यहाँको सरकारले कोरोना भाइरस सर्न सक्ने त्रासले बन्द गरिदिएको हो। मलमा अधिकांश पसलहरू भारतीय र पाकिस्तानीका छन्। इकिकी क्षेत्रमा बस्ने अधिकांश नेपालीहरूले तिनै भारतीय र पाकिस्तानीका पसलमा काम गर्छन् । 

सरकारले मल बन्द गर्ने निर्णय गरेपनि करचारीहरूलाई बन्द समयको तलब र सुविधा दिनैपर्ने नियम छैन। ‘मल बन्द भयो। बन्दको समयमा तलब दिनै पर्छ भन्ने छैन। इन्डियन र पाकिस्ताने त हुन् तीसबैले नेपालीलाई तलब दिन्छन् भन्ने छैन,’ कोइरालाले टेलिफोनमा कान्तिपुरसित भने, ‘दुई तीन महिनासम्म त पहिले कमाएको पैसाले धानौंला। तर लामो समयसम्म बन्द भयो भने के गर्ने ?’ 

चिलीको राजधानी सान्टियागोका पनि अधिकांश मल, पसलहरू बन्द भएकाले नेपालीहरू थप मारमा पर्न सक्ने उनले बनाए। 

कोरोना भाइरसको संक्रमण बिस्तारै फैलिँदै जाँदा त्यहाँको उपचार पद्दतीले चिलीका नेपालीहरूलाई झनै मर्कामा पारेको छ। चिलीमा सरकारी अस्पतालहरू कम छन्। स्वास्थ्य चौकीमा गएर उपचार गरेपछि तिनको सिफारिसले मात्रै सरकारी अस्पतालमा सुविधा पाइन्छ। त्यहाँपनि निजी अस्पताल र क्लिनीकहरूको प्रभाव बढी छ। निजी क्लिनीकहरूको सेवा अत्यन्तै महँगो र झन्झटिलो रहेकोले उपचारमा कठिनाई हुनसक्ने कोइरालाले बताए। ‘सिधै सरकारी अस्पताल जान पाइन्न। निजी क्लिनीक र अस्पत्ताल जान हामी नेपालीको कमाइले पुग्दैन। कोरोना भाइरस फैलियो भने दुःख पाइन्छ कि भनेर हामी चिन्तित छौं,’ उनले भने। 

सपिङ मल एक सातादेखि मात्रै बन्द भएको चिली हेर्ने ब्राजिलस्थित नेपाली दूतावास निकै टाढा भएकाले हालसम्म दूतावाससित कुनै सहयोग नमागेको उनले बताए। 

चिलीमा करिब २ सय नेपाली कार्यरत छन्। तीमध्ये ८० देखि ९० जना चिलीको उत्तरी भेग इकिकी र बाँकी सान्डियागोमा बस्छन्। व्यापारका लागि त्यहाँको कानुन सजिलो भएकाले भारतीय र पाकिस्तानीहरूले वर्षौंदेखि ठूला ठूला पसल खोलेका छन्। केहिले भारतबाट पुराना गाडी ल्याएर मर्मतपछि दक्षिण अमेरिकाका पेरु, बोलिभिया, पाराग्वे लगायतका मुलुकमा बिक्री गर्छन्। अधिकांश नेपाली तिनै भारतीयका व्यापारिक क्षेत्रमा काम गर्छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024