कोरिया बस्ने नेपालीलाई जलविद्युत्‌को सेयर

21 August, 2015

लिलु डुम्रे

 

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्वारा प्रवद्र्धित सी.ई.डी.बी हाइड्रो फन्ड अन्तर्गतको युनिभर्सल पावर कम्पनीले दक्षिण कोरियामा रहेका नेपालीका लागि तल्लो खारे खोला जलविद्युत् आयोजनाको अग्राधिकार सेयर आवेदन खुला गरेको छ। 

 

कम्पनीले साना लगानीकर्तालाई अवसर प्रदान गर्ने गरी प्रतिकित्ता सय रुपैयाँका दरले ८७ लाख कित्ता अग्राधिकार सेयर बिक्री गर्ने भएको छ।सी.ई.डी.बी हाइड्रो फन्डकै नेतृत्वमा निर्माण हुन लागेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको निर्माणस्थल दोलखा जिल्लाको सुरी र चंखु गाविसमा पर्छ।

 

तीनदेखि चार वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको कुल लागत एक अर्ब ८७ करोड रुपैयाँ हुने कम्पनीको अनुमान छ। युनिभर्सल पावर कम्पनीको स्वामित्व रहेको यस आयोजना निर्माण गर्न विद्युत् खरिद बिक्री सम्झौता, बिस्तृत डिजाइन,वातावरणीय अध्ययन र आयोजनालाई आवश्यक ९५ प्रतिशत जग्गा खरिद गरिसकिएको प्रबन्ध निर्देशक विनयकुमार भण्डारीले जानकारी दिए। 

 

आयोजनाको निर्माण कार्य आगामी मंगसिरदेखि सुरु गरिनेछ।अग्राधिकार सेयर चार वर्षपछि स्वतः साधारण सेयरमा परिवर्तन हुनुका साथै अग्राधिकार सेयरमा वार्षिक ७.५५ प्रतिफल दिने कम्पनीको योजना छ। 

 

अग्राधिकार सेयरमा वार्षिक ब्याज दिने नेपालकै पहिलो कम्पनी रहेको निर्देशक भण्डारीले दाबी गरे।बैंक अफ काठमान्डूसँग यस आयोजनाको ऋण सम्झौता सम्पन्न भइसकेको छ भने आयोजनाबाट उत्पादित विद्युत् सिंगटी सबस्टेसनबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ। आयोजना स्थलसम्म सडक पुुगिसकेको र उत्पादित विद्युत् सहजै राष्ट्रिय ग्रिडमा जोडिने पनि भण्डारीले जानकारी दिए।

 

साधारण सेयरमा परिवर्तन हुने आग्राधिकार सेयर भएकोले लगानीकर्ताको जोखिम न्यून हुनुको साथै आयोजनाबाट विद्युत् उत्पादन पश्चात साधारण सेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण विश्वस्त हुन कम्पनीले लगानीकर्तालाइ सुझाएको छ।

साना लगानीकर्तालाई अवसर प्रदान गर्ने गरी ८७ लाख कित्ता अग्राधिकार सेयर बिक्री गरिने भएको छ। 

आयोजनाको निर्माण पश्चात यसको सेयर सर्वसाधारणलाई बिक्री गरी नेप्सेमा सूचीकृत गरिने योजना रहेको कम्पनीले जानकारी गराएको छ। ई.डी.बी हाइड्रो फन्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। अग्राधिकार सेयरमा न्यूनतम एकलाख रुपयाँ लगानी गर्नुपर्नेछ।

 

यस अघि सानो मिल्ती खोला हाईड्रो र नेपाल पूर्वाधार विकास कम्पनीले सस्थापक शेयर निस्काशन गर्दा उल्लेख्य रकमको आवेदन परेको थियो। कोरियामा रहेका नेपालीको पहलमा निर्माणाधीन सानोमिल्ती खोला हाईड्रो आयोजनाले खुला गरेको सस्थापक सेयरमा १२ करोड ५० लाख रुपैयाँ लगानी भएको छ। 

 

करिब ३२ हजार कामदार रहेको कोरियाका नेपालीको मासिक आर्जन आकर्षक हुनाले आयोजना सञ्चालक एक पछि अर्को गरी सेयर निस्कासन गर्न लागिरहेका हुन्। 

 

गत सालको वैशाख र जेठ महिनामा नेपाल पूर्वाधार विकास कम्पनीले एक सय ८२ जना युवामार्फत सुरुङ मार्ग निर्माणका लागि रकम जुटाएको थियो। कम्पनीले काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्गका लागि दक्षिण कोरियाबाट दुई करोड ६३ लाख उठाएको थियो । 

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024