कोरिया कामदारलाई नि:शुल्क टिकट दिलाउँछु : श्रम मन्त्री

18 August, 2015

देवेन्द्र सम्बाहाम्फे

 

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले दक्षिण कोरिया सरकारँंग नेपाली कामदारका लागि नि:शुल्क हवाई टिकट दिन प्रस्ताव राख्ने भएका छन्। नेपाल र कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नवीकरण गर्न अर्को साता सोल आउन लागेका गुरुङले समकक्षी कोरियाली मन्त्री ली की क्वनसँग नेपाली कामदारका लागि नि:शुल्क हवाई टिकट दिन आग्रह गर्ने भएका हुन्।

 

गुरुङले मलेसिया र खाडीका ६ मुलुकमा नि:शुल्क हवाई टिकटको प्रावधान लागू गराइसकेका छन्। उनले मंगलबार कान्तिपुरसित फोनमा भने, ‘वैदशिक रोजगारमा गएका नेपाली कामदारका लागि हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउने सरकारको नीति हो।’ उनले कोरिया सरकारसँग ईपीएस कोटा बढाउन प्रयाससमेत

गर्ने बताए।

 

गुरुङले कोरियासँग आउँदो ईपीएस परीक्षाका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्थाका लागि वार्ता गरिने जानकारी दिए। पछिल्लो समय कोरियामा नेपाली कामदार अवैधानिक हुने क्रमलाई न्यूून गरेर ईपीएस कोटा बढाउने आफ्नो लक्ष्य रहेको बताए। दुई देशबीच हुने ईपीएससम्बन्धी श्रम सम्झौता नवीकरणका लागि मन्त्री गुरुङ, वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुुवेदी, ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोला, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव गिरिजा शर्मासहित ६ जनाको प्रतिनिधिमण्डल सोल आउन लागेको छ।

 

ईपीएस श्रम सम्झौता प्रत्येक दुई वर्षमा नवीकरण हुुँदै आएको छ। यसअघि २०१० र १२ मा नवीकरण भएको थियो। तेस्रो नवीकरण गत वर्षको जुलाईमा हुुनुुपर्नेमा एक वर्ष लम्बिएको हो। यसअघिका श्रम नवीकरणहरूमा नेपाली कामदारको सेवा, सर्तमा कुनै सुधार नगरिएको गुनासो बढेको थियो।

 

यसपालि केही बुँदा नेपाली कामदारका पक्षमा उठान हुुने भएका छन्। यसका लागि बाँस्तोलाको संयोजकत्वमा अध्ययन कार्य टोलीले तयार पारेको २४ पृष्ठ लामो प्रतिवेदन कोरियालाई बुझाइएको छ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024