कोरियालीसँग घरजम

8 February, 2020

गोकुल थोकर

दक्षिण कोरिया — नेपाल छँदा बाला राई व्यस्त पत्रकार थिइन् । झन्डै एक दशक मूलधारको पत्रकारिता गरेकी उनले फिचर लेखनमा राम्रै नाम बनाएकी थिइन् । आफ्नो बिट कला–रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी उनले लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । क्यानभासका रङहरू नियालिन् ।

सन् २०११ मा उनले कोरियाली नागरिकसँग विवाह गरिन् । अनि उनकै जीवन ‘रंगमञ्च’ झैं भयो । नाट्य पात्रको जीवनमा आएको मोडजस्तै उनको जीवन मोडियो । ‘आफूले जीवन बिताउनुपर्ने केटाको अनुहारसमेत राम्ररी थाहा नपाई मैले बिहे गरें,’ उनी भन्छिन्, ‘जिन्दगीको एउटा पाटो छोपियो ।’

त्यसपछिका आफैंलाई सम्झाउनसमेत निकै दिन लागेको उनले बताइन् । ‘मेरी गाउँकी बहिनी पहिले कोरियाली केटासँग विवाह गरेर आएकी थिई, उसैले मेरी आमासँग कुरा गरिछ, आमाले कर गरेपछि हुन्छ भनिदिएँ,’ उनले भनिन्, ‘कोरियाली केटा पहिलोचोटि नेपाल आयो । म्यारिज ब्युरोले सबै कागजात तयार गरिदियो । कफीसपमा बसेर बेहुलाले सुट लाए, मैले नेपाली साडी लगाएँ । दुवैले फोटो खिच्यौं, त्यसपछि बिहे भयो ।’

विवाह भएको तीन महिनापछि बाला कोरिया आइन् । न कोरियाली भाषा आउने, न संस्कार–संस्कृति । उनलाई निकै समस्या भयो । श्रीमान्ले अंग्रेजीमा एउटा–एउटा शब्द भन्थे । धेरै कुरा इसारामै चल्थ्यो । झन्डै एक वर्षसम्म कोरियाली भाषा पढेपछि मात्रै उनी सामान्य कुराकानी गर्न सक्ने भइन् । दैनिकी केही सामान्य बन्दै गयो । अहिले उनी एउटी छोरी हुर्काउँदै छिन् । फुर्सदको समयमा भाषा अनुवादको कामसमेत गर्छिन् ।

बालाको जस्तै छ कोरियाली नागरिकसँग विवाह गरेर आउने धेरै नेपालीको समस्या । सबैले मुस्किलको दैनिकी बिताइरहेका छन् । बिरानो देशमा घरजम गरेर आउने नेपाली चेली कति छन्, यकिन तथ्यांक छैन । नेपाली दूतावाससँग ६ सय १४ महिला र १ सय ३९ जना पुरुष कोरियाली नागरिकसँग बिहे गरेर आएको तथ्यांक छ । यो संख्या कोरियाभर विवाह गरेर आउने नेपालीको संख्याभन्दा निकै थोरै रहेको दूतावासकै स्वीकारोक्ति छ । ‘हामीलाई न नेपालबाट विवाह गरेर यता आउने बेला जानकारी हुन्छ न आइसकेपछि थाहा दिइन्छ,’ दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले कान्तिपुरसँग भने, ‘कोरियाली सरकारले विदेशी महिलाका लागि धेरै सुविधा दिएको छ । यसबाट हाम्रा दिदीबहिनी लाभान्वित भएको सूचना छ । कोरियामा विवाह गरेर आउने महिलाका समस्या त्यति आएको छैन ।’

कोरियाली नागरिकसँग विवाह गरेर आउने महिलालाई भाषा र जीवनशैली सिकाउन तालिम केन्द्रहरू सञ्चालन गरिएका छन् । कोरियाली भाषामा ‘धामुना’ सेन्टर (बहुसांस्कृतिक परिवार सेवा केन्द्र) भनिने यस्ता केन्द्रमा विदेशी बुहारीका लागि जीवनोपयोगी सीप सिकाइन्छ । कुनै समस्या परे नेपालीमै भन्न सकिने सुविधासमेत छ ।

यति भएर पनि कोरियाली नागरिकसँग विवाह गरेर आएका महिलाका समया अनेक छन् । सन् २०१८ मा राष्ट्रिय मानवअधिकार आयोग कोरियाले गरेको एउटा अध्ययनमा कोरियालीसँग विवाह गरेर आएका ४२ प्रतिशत विदेशी महिलाले घरेलु हिंसा भोग्नुपरेको र ६८ प्रतिशतले यौनहिंसा सहनु परेको पाइएको थियो । विवाह गरेर जानुअघि ‘केपप ब्यान्ड’ र ‘टेलिसिरियल’ हेरेर कोरिया रमाइलो रहेछ भन्नेहरू धेरै छन् तर यथार्थ अलग छ । बिहे गर्नुपहिला म्यारिज ब्युरोले राम्रा कुरा मात्रै सुनाउने गरेको गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाकी महिला संयोजक शुभद्रापालुङ्वाको अनुभव छ । ‘बिहे गरेपछि सबै राम्रो हुन्छ, तुरुन्तै कार्ड पाउन सकिन्छ, अझ डिभोर्स गरेर बस्दासमेत हुने भनेर भनिदिन्छन्,’ उनले भनिन्, ‘धेरै दिदीबहिनीलाई कोरियाको यथार्थ थाहा हुनै पाउँदैन ।’

नेपाल हुँदा म्यारिज ब्युरोले एक दुई वर्षमै कोरियन ग्रीनकार्ड निस्कन्छ भने पनि ‘कार्ड’ पाउन त्यति सजिलो छैन । कोरियाली भाषा ‘एड्भान्स लेभल’ पास हुनैपर्ने, सन्तान जन्मनुपर्ने, आर्थिक अवस्था राम्रो हुनुपर्नेजस्ता झन्झटिला सर्त छँदै छन् । यी सबैमा श्रीमान्को सहयोग हरपक्षमा हुनैपर्छ । त्यसैले पनि श्रीमान्को हिंसा सहेरै बस्छन्विदेशी बुहारी ।

एक अध्ययनले विदेशीसँग विवाह गर्ने कोरियाली नागरिकको उमेर औसतमा ४३.६ वर्षभन्दा बढी छ भने विदेशी महिलाको उमेर २५.२ वर्ष मात्रै देखिन्छ । महिला र पुरुषको उमेर १८.४ वर्षले अन्तर भएपछि दाम्पत्य जीवनमा स्वभावतः फरक पर्ने फेन्थेककी कविता लामाको भनाइ छ । ‘उमेर फरक परेपछि सोच्ने तरिका पनि फरक हुने रहेछ, यदाकदा महिलाले सामान्य रूपमा लिएको विषयले परिवारमा झगडा हुने गर्छ,’ उनी भन्छिन् ।

सानो निहुँमा हुने घरायसी झगडाका कारण सम्बन्धविच्छेद गर्नेको संख्या पनि उत्तिकै छ । गत वर्ष ५ हजार विदेशीसँग विवाह गरेका जोडीले सम्बन्धविच्छेद गरेका थिए । सम्बन्ध तोड्नेमा चिनियाँ महिला सबैभन्दा बढी छन् । चीनबाट विवाह गरेर आएका ३ हजार २ सय महिलाले सम्बन्ध विच्छेद गरेका छन् भने १७ नेपाली महिलाले सम्बन्धतोडेका छन् ।

सम्बन्धविच्छेद गरेपछि सन्तान भइसकेका र कोरियाको ग्रिनकार्ड लिइसकेकालाई धेरै समस्या हुँदैन । बालबच्चा नहुनेलाई भने समस्या पर्छ । श्रीमान्ले सँगै बस्न नसक्ने अवस्थाको हिंसा गरेको भन्ने अदालतले प्रमाणित नगरे भिसा मिल्दैन । अदालती प्रक्रिया खर्चिलो र झन्झटिलोसमेत छ ।

विदेशी महिलासँग विवाह गर्न चाहने धेरै कोरियालीको आर्थिक अवस्था राम्रो छैन । उनीहरूको बसोबास गाउँमा छ । खेती किसानी मुख्य पेसा हो । कोरियाली केटीसँग विवाह गर्न नसकेपछि उनीहरूले विकल्पका रूपमा विदेशी महिला रोज्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका पुरुषलाई विभिन्न नगरपालिकाले १ करोड वन (१० लाख रुपैयाँ) सम्म विदेशीसँग विवाहका लागि आर्थिक सहयोगसमेत गर्छ ।

कोरियाका गाउँमा पुरुषको तुलनामा महिलाहरू बस्न मन पराउँदैनन् । विवाह उमेरका कोरियाली महिला सहरमै बस्छन् र सहरकै पुरुषसँग विवाह गर्छन् । विवाहित जोडीले तुरुन्तै बच्चा जन्माउन चाहँदैनन् । सन् २०१८ मा औसतमा कोरियाली महिलाले ०.९८ बच्चा जन्माएका थिए । देशैभरि जम्मा ३ लाख २६ हजार ९ सय बच्चा जन्मिए । अहिलेको कोरियाको जनसंख्यालाई सन्तुलित रूपमा राख्नका लागि वार्षिक ७ लाखभन्दा बढी बच्चा जन्मिनुपर्छ । देशको जनसंख्या घट्दै गएको र गाउँमा बस्न मन नगर्ने कोरियाली महिलाको विकल्पमा एसियाली मूलका महिला पर्ने गरेका छन् ।

बिहे गरेर कोरिया आएका महिलाले दुई वर्षभित्रै पहिलो सन्तान जन्माउने गरेको देखिएको छ । यसरी आउनेमा कोरियाली मूलका चिनियाँ महिला सबैभन्दा बढी छन् । सन् २०१८ सम्म ८० हजार महिला बिहे गरेर कोरिया आएका छन् । यो विदेशीसँग विवाह गर्ने कोरियालीको ४७.१ प्रतिशत हुन आउँछ । दोस्रो ठूलो संख्या भियतनामी महिलाको छ । उनीहरू ४० हजारभन्दा बढी छन् । यो संख्या २३.९ प्रतिशत हुन आउँछ । नेपाल, थाइल्यान्ड, उज्वेकिस्तान, फिलिपिन्स, मंगोलियाजस्ता देशबाट विवाह गरेर आउनेको संख्या यी दुई देशको तुलनामा कम छ । यसरी आउने धेरै महिलाका सपना समान छन्– आफू ‘सेटल’ हुने अनि माइती देशमा सकेको आर्थिक सहयोग गर्ने ।

यहाँको तथ्यांक विभागले सन् १९९८ देखि विदेशीसँग गरेको विवाह रेकर्ड राख्न सुरु गरेको पाइन्छ । सबैभन्दा बढी विदेशी महिलासँग विवाह सन् २००५ मा भएको देखिन्छ । उक्त वर्ष ३० हजार ७ सय विदेशी महिलाले कोरियालीसँग विवाह गरेका थिए भने ११ हजार ६ सय पुरुष विवाह गरेर कोरिया आएकोरेकर्ड छ ।

पछिल्लो समय विदेशी महिलासँग विवाह गर्न केही कडा नियमसमेत लागू भएका छन् । त्यसपछि विदेशीसँग विवाह गर्ने कोरियालीको संख्यामा कमी आएको छ । सन् २०१८ मा १६ हजार ६ सय विदेशी महिलाले विवाह गरेर आएका थिए भने ६ हजार पुरुषले विवाह गरेका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024