दक्षिण कोरियामा रहेका नेपालीहरूले परोपकारी संस्था हेल्प नेपाल-नेटवर्कलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ र ‘हेलो नेपाल कोरिया डट कम’ को संयुक्त प्रयासमा संकलन गरिएको उक्त रकम नेटवर्कका संस्थापक रवीन्द्र मिश्रलाई हस्तान्तरण गरिएको छ । सोलको तुङदेमुनस्थित सामुदायिक सभाहलमा आयोजित कार्यक्रममा मिश्रले कोरियामा रहेका नेपालीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै राज्य र समाज परोपकारी भएमात्र राष्ट्र र समाज समृद्ध हुने धारणा राखेका थिए । १० करोडको परोपकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको डेढ महिना नबित्दै १५ लाख जम्मा भइसकेको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघ, कोरियाका अध्यक्ष खेम कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी रुद्र शर्मा, तमुधिं कोरियाका अध्यक्ष रामकाजी गुरुङलगायत यहाँको नेपाली समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने दर्जनभन्दा बढी संस्थाका प्रमुखहरूलाई सम्मान पनि गरिएको थियो ।