कोरियन भाषा सिक्ने लहर

22 March, 2023

लक्ष्मी गौतम

पाँचथर — फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी सबेरै सदरमुकाम फिदिमको सेवारो कोरियन भाषा इन्स्टिच्युट पुग्छिन् । ६ बजे उक्त कक्षा छुट्नासाथ नास्ता गरेर कक्षा १२ को परीक्षा तयारीका लागि ट्युसन जान्छिन् ।

उनको यो दैनिकी चार महिनाअघि सुरु भएको हो । ‘राम्रो पैसा कमाउन सकिने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाएकी हुँ,’ उनले भनिन् । स्नातकोत्तर गरेका जागिर नपाएर भौंतारिएको देखेपछि स्वदेशमै जागिर खाऔंला भन्ने आशा मरेको उनी सुनाउँछिन् ।

पाँचथर हिलिहाङ–७ की माङसा लावती अम्बिकासँगै कोरियाली भाषा सिकिरहेकी छन् । बीएड तेस्रो वर्षमा अध्ययनरत उनी आफन्त एवं नातागोताले कोरियामा राम्रो आम्दानी गरेको देखेर त्यसतर्फ मोहित भएको बताँउछिन् । फालेलुङ–८ की लक्ष्मी केरुङको बाध्यता अलि फरक छ । बुबालाई छालासम्बन्धी रोग लागेपछि घरव्यवहार चलाउनसँगै उपचार गर्ने पैसा जुटाउन कोरिया जान चाहेको उनी प्रस्ट्याउँछिन् ।

‘बाआमाको जेठो सन्तान हुँ, जागिर खोजौं आठ कक्षा मात्रै पढेकी छु, घरव्यवहार मेरै काँधमा छ, त्यही भएर भाषा सिक्न सदरमुकाम झरेँ, कोरिया गएर कमाएपछि बाबुको उपचार गर्ने योजना छ,’ केरुङ भन्छिन् । बीएड दोस्रो वर्षमा अध्ययनरत फालेलुङ–४ की अनिला राई पनि कोरिया जाने कोसिसमा छिन् । विदेशमा सुरक्षित भइन्न कि ? भन्ने शंका लागे पनि गइसकेकाको प्रगति देखेर त्यसतर्फ मन एकोहोरिएको उनले बताइन् ।

कक्षा १२ देखि स्नातक तह तेस्रो वर्षसम्म अध्ययन गरिरहेका अम्बिका, माङसा र अनिला कोरिया जान भाषा सिकिरहेका प्रतिनिधि पात्र मात्रै हुन् । पाँचथर सदरमुकाम फिदिमसँगै विभिन्न पालिकामा चलिरहेका कोरियाली भाषा सिकाइ केन्द्रमा स्नातकोत्तर गरेका र बच्चाका आमासम्म भाषा सिकिरहेका भेटिन्छन् ।

सात वर्षीया छोरीकी आमा २६ वर्षीया बिन्दु लिम्बू घरपायकमै रोजगारी नभेटेपछि यो भाषा पढ्न थालेको बताउँछिन् । स्नातकोत्तर उत्तीर्ण फाल्गुनन्दकी सुजाता नेम्वाङले शैक्षिक योग्यताका प्रमाणपत्रले पनि जागिर नभेटेपछि कोरिया जान चाहेको बताउँछिन् । फिदिम–१४ की सरु मगरका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको ६ वर्ष भयो । अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि अहिले उनी आफैं कोरियन भाषा सिकिरिहेकी छन् । ‘उहाँलाई भाषा पढेर कोरिया जानुस् भन्दा पास गर्न सक्दिनँ भन्दै मलाई जाऊ भन्नुभएको छ, उनले यता घरव्यवहार र छोरी हेर्ने भनेपछि इन्स्टिच्युट धाउन थालेँ,’ उनले भनिन् ।

सदरमुकाम फिदिममा ६ वटा भाषा सिकाइ केन्द्र छन् । अधिकांश केन्द्रमा महिलाको संख्या धेरै छ । भाषा सिक्नेको लाइनमा १७ देखि ३४ वर्ष उमेरका धेरै छन् । फिदिमको एक लघुवित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीया अल्का लिम्बूले अहिले कार्यरत कम्पनीको आम्दानीले पेट पाल्न मात्र सकिएकाले विदेश जाने योजना बुनेको सुनाउँछिन् । पछिल्लो समय नेपालको शिक्षा प्रणाली, अस्थिर राजनीति र रोजगारीको न्यून सम्भावनाले ग्रामीण महिला रोजगारीका लागि विदेश गन्तव्य बनाउँदै छन् । भाषा सिक्नेमध्ये ६० प्रतिशत महिलाको संख्या रहेको सेबारो कोरियन भाषा सिकाइ केन्द्रका सञ्चालक गजेन्द्र तुम्बापोको भनाइ छ ।

कोरियन भाषा सिक्ने यी महिलाको उपस्थितिले देशमा रोजगारीको अवस्था कस्तो छ भन्ने वास्तविकता छर्लङ्ङ हुन्छ । फिदिम माविका प्रधानाध्यापक विनोद ठाकुर नेपालमा बढ्दो बेरोजारी समस्या न्यूनीकरण गर्न विद्यालयबाटै व्यावहारिक र व्यावसायिक शिक्षा दिनुपर्ने तर्क राख्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024