कैलालीका गाउँबाट थारू युवा पलायन

1 September, 2015

मोहन बुढाऐर

 

टीकापुरको हिंसात्मक घटनापछि जिल्लाको असहज स्थितिबाट भयभीत थारू युवा गाउँबाट पलायन हुन थालेका छन्। सोमबारमात्रै भारत जान लागेका ५६ युवाको लस्करलाई धनगढीको त्रिनगर भन्सार नाकामा प्रहरीले सोधपुछ गरी छाडेको छ। उनीहरू सबै कैलाली टीकापुरसहित दंगाग्रस्त घोषणा क्षेत्रका हुन्। 

 

उनीहरू लम्कीबाट धनगढी आएका थिए। ती युवा धनगढीमा ४ बजे कफ्र्यु खुलेपछि त्रिनगर नाका हुँदै भारत जान लागेका हुन्। त्रिनगर प्रहरीका प्रमुख जीवन गुरुङले झोलीझिम्टासहित २० देखि ४० वर्ष उमेरका युवा लस्करै नाका कट्न लागेकाले शंका लागेर सोधपुछका लागि रोकेको बताए।  ती युवाले भारतको रतनागिरि भन्ने ठाउँमा जान लागेको बताए।

 

‘बस्न त्रास भएपछि गाउँ छोड्न लागेका हौं । यो समयमा त्यहाँ माछा मार्ने काम पाइन्छ,’ मसुरियाका ५६ वर्षे राधेश्याम चौधरीले भने, ‘अहिले गाउँमा त्रासको वातावरण पनि छ। खेतीपातीको काम पनि छैन। त्यसैले यता खाली बस्नुभन्दा काम गर्न जाउँ भन्ने हो।’ उनले पहिले पनि कामको खोजीमा भारत गएको बताए। भारत जान लागका टेकराज चौधरीले त्यहाँ माछा मार्ने ठेकादारले टीकापुर घटनाभन्दा पहिल्यै बोलाएको पनि बताए । टीकापुरकै पूर्णबहादुर चौधरीले बिहान २ घण्टाका लागि कफ्र्यु हटेको मौका छोपी घरबाट निस्केको बताए । 

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024