केही हजारको लोभले तस्करको फन्दामा फस्दा.

31 July, 2019

‘म काठमाडौं उत्रें है,’ २२ असारमा कतारको दोहाबाट हिमालयन एयरलाइन्स हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेपछि लीलाबहादुर बस्नेतले कसैको मोबाइलबाट झापाको काँकडभिट्टामा श्रीमती जानुकालाई यति मात्रै सुनाउन भ्याएका थिए । बेलुकासम्म त आफ्नै पुरानो सिमबाट कसो फोन नगर्लान् भन्ने उनलाई लाग्यो । श्रीमान्ले राति अबेरसम्मै फोन गरेनन् ।

‘गलेर आए, सुते होलान् । भोलि त फोन गरिहाल्छन्,’ भनेर उनले मन बुझाइन् । तर, भोलिपल्ट श्रीमान्बारे उनले अनपेक्षित खबर पाएपछि भने उनको भोक र निद्रा हराएको छ ।

सरकारले फ्री भीसा, फ्री टिकटको नीति लागू गरेको दुई वर्षपछि विदेश उडेका बस्नेत स्थानीय एजेन्टलाई १ लाख २० हजार रुपैयाँ बुझाएर क्लिनरको काम गर्न कतार उडेका थिए । २९ महिना काम गरेर नेपाल फर्केका उनी ४२ दिने छुट्टी सकेर गत फागुनमा सोही कम्पनीमा फर्केका थिए । कतार फर्केकै महिना दमका रोगी ८२ वर्षीय पिता शेरबहादुरको मृत्यु भयो । तुरुन्तै घर फर्कन खोज्दा उनलाई कम्पनीले बिदा दिएन । काम पनि भनेजस्तो नभएपछि उनी कम्पनी नै छाडेर घर फिर्ने निधोमा पुगे । नेपाल फर्कने अघिल्लो दिन श्रीमतीलाई फोन गरेर भने, ‘धेरै पैसा छैन । छोरीलाई गुडिया किन्देको छु । अलिकति चकलेट पनि छ ।’ काठमाडौं उत्रेपछि पशुपति गएर पण्डितसँग सल्लाह गरेर पिताको काजकिरियाको विधि टुंग्याएर मात्रै घर फर्कने सल्लाह भयो । तर, भोलिपल्ट काठमाडौं उत्रेपछि भने उनको खबर आएन । जानुकाको मोबाइलमा नयाँ नम्बरबाट मिसकल आएको थियो । श्रीमान्ले पो गरेका हुन् कि भनेर उनले फोन गरिन् । प्रहरीले रिसिभ गरेको फोनबाट उनले श्रीमान् सुन तस्करीको आरोपमा पक्राउ परेको घटना थाहा पाइन् ।

कम्पनी छाडेर नेपाल फर्कने अघिल्लो दिन कम्पनीकै एकजना कामदार साथी रामबहादुर तामाङले भनेका थिए– ‘घर फर्किंदा दोहा एयरपोर्टबाट ५० ग्रामको सुनको बाला लगिदिनु, ५ हजार रुपैयाँ ज्याला पाइन्छ ।’ वैदेशिक रोजगारीबाट कामदारहरूले स्वदेश फर्कंदा ५० ग्रामसम्मको सुन ल्याउन पाउने कानुनी व्यवस्था नै छ । यही व्यवस्थाको फाइदा उठाउँदै संगठित सुन तस्करले घर फर्कने कामदारहरूलाई पैसाको लोभ देखाएर ५० ग्राम सुनको बाला नेपाल ओसार्न लगाउँछन् ।

प्रहरीका अनुसार दोहास्थित विमानस्थल बाहिर बस्ने एजेन्टहरूले स्वदेश फर्कन लागेकाहरूलाई केही हजार लोभमा सुनको बाला ओसार्न लगाउँछन् । प्रस्ताव मानेका कामदारको फोटो र पासपोर्टको फोटो खिचेर दोहास्थित एजेन्टले काठमाडौंका एजेन्टलाई पठाइदिन्छन् । अनि जसै ती कामदार काठमाडौं उत्रन्छन्, एजेन्टहरूले विमानस्थल बाहिर उनीहरूलाई भेला पारेर सुनका बाला जम्मा पार्छन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार यस्तो प्रवृत्ति रोक्न प्रहरीले कडाइ गरे पनि सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार शाखाका प्रमुख गजेन्द्र ठाकुरको वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूलाई संगठित सुन तस्करहरूले उपयोग गर्ने क्रम निरन्तर चलिरहेको बताए । उनका अनुसार चालु महिना मात्रै कतारबाट फर्केका दुई कामदार बस्नेतझैं अरूको सुन बोकेका कारण पक्राउ परेका छन् । सप्तरीका दुई कामदारको कथा पनि उस्तै भएको बताउँदै उनले भने, ‘कानुनले दिएको सुविधा दुरुपयोग गर्दै एजेन्टहरूले केही हजारको लोभमा सोझा कामदारलाई उपयोग गर्ने गरेको देखिन्छ ।’

घर फर्कंदा कानुनसम्मत ५० ग्राम सुनको बाला ओसारे ५ हजार पाइने लोभमा लीलाबहादुर बस्नेत पनि फसे । साथीले भनेअनुसार विमानस्थल बाहिर उनले भेटेको व्यक्तिले ५० ग्राम सुनको बाला दियो । छुट्टिने बेला भन्यो, ‘हेर न मेरी श्रीमती भर्खरै सुत्केरी भाकी छे । नेपालमा राम्रो डाइपर पाइँदैन । यो सानो डाइपरको पोको र श्रीमतीलाई एउटा सेम्पु छ । लैदिनुस् न ।’

सानो पोको लगिदिएर सहयोग हुन्छ भन्ठानेर लीलाले त्यो पोको बोके । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेर श्रीमतीलाई फोन गरेको केही बेरमै बस्नेतलाई प्रहरीले पक्राउ गर्‍यो । उनले ल्याएको डाइपर लिन विमानस्थल बाहिर रुपेश गिरी र र टेकबहादुर थापा बसेका थिए । उनीहरू पनि प्रहरीको फन्दामा परे । प्रहरीले उनीहरू तीनै जनालाई टेकुस्थित प्रहरी परिसरमा लगेर हिरासतमा राख्यो । डाइपरको १ सय ७५ वटा टाँकभित्र चार सय ग्राम सुन बरामद भयो । प्रहरी हिरासतमा रहेका बस्नेत कतारमा डाइपर दिने मान्छेलाई कहिल्यै नचिनेको बताउँछन् । ‘हत्ते गरेपछि सहयोग गरेको ठानियो, फसियो,’ उनले भने । सुनको बाला र डाइपरको प्याकेट लिन विमानस्थल बाहिर आएर बसेका रुपेश र टेकलाई पनि उनले चिनेका छैनन् । डीएसपी बोगटीले पनि अनुसन्धानमा खुलेको तथ्यले बस्नेतलाई अरू कसैले फसाएको बुझिने बताए । घटना विवरण थाहा पाएपछि जानुकाको होसले ठाउँ छाडेजस्तो भयो । पक्राउको भोलिपल्ट दिउँसो उनले श्रीमान्सँग फोनमा बोल्न पाइन् । ‘म फसें । तर, टेन्सन नलेऊ । छोराछोरीको ख्याल गर भन्नुभयो,’ उनले भनिन्, ‘फोन राखेपछि म रोएँ । छोराले मामु किन रुनुभाको भनेर सोध्यो । मैले त्यत्तिकै रोएको भनेर ढाँटे ।’ बाबु थुनामा परेको कुरा धेरैबेर छोरासँग लुकाउन सकिनन् । भनिन्, ‘कुरो बुझ्ने भइसकेको छोरालाई कसरी लुकाउनु ।’ सुनाएपछि आमाछोरा दुवै मिलेर रोए । दाजु र आमा रोएको देखेपछि सानी छोरीले सोधिन्, ‘मम्मी किन रुनुभा ?’ जानुकाले झूटो बोलिन्, ‘दाइको पेट दुखेर ।’

थुनामा परेको केही दिनपछि बस्नेतले थुनाबाटै छोरीसँग फोनमा कुरा गरे । आफू काठमाडौं आएर काम परेर यतै अड्किएको बताउँदै भने, ‘तिमीलाई खेलौना ल्याइदेको छु । घर आएपछि दिन्छु है ।’ जानुकाको जीवनमा दुःखभन्दा धेरै संघर्षको हिस्सा थियो । तर, यतिबेला भने उनलाई ठूलै दशाले घेरेजस्तो महसुस भइरहेको छ । बिहे गरेपछि नै जीवनमा संघर्ष सुरु भएको थियो । बस्नेत मुम्बईको एउटा होटलमा काम गर्थे । बिहे गरेर उतै गएका बस्नेत दम्पती जेठा दाजुको निधनको खबर पाएपछि घर फर्किए । गाउँघरमै बस्न भनेजस्तो काम पाइएन । उपाय नलागेर बस्नेत साउदी अरब गए । तीन वर्षर्पछि फर्केर वर्ष दिनमा फेरि दलाललाई १ लाख १० हजार बुझाएर मलेसिया पुगे । पामको जंगलमा काम गर्नु त्यति सजिलो थिएन । चिसोको एलर्जी थियो । चिसोमै काम गर्नुपर्ने भएपछि अडिन सकेनन् । १० महिनामै फर्के । त्यसको ६ महिनापछि कतार हान्निएका थिए । श्रीमानको कमाइले मात्रै घर खर्च चलाउन मुस्किल भएकैले केही समयअघि जानुका मोरङ केराबारीको घर छाडेर काँकडभिट्टा पुगेकी छन् । उनी स्थानीय साहुको सामान सीमापारिबाट साइकलमा ओसारेर वारि ल्याउने काम गर्छिन् । स्थानीयले ‘क्यारियर’ भन्ने यस्तो काम गरेबापत जानुका मुस्किलले दैनिक चार/पाँच सय कमाउँछिन् । उनले भनिन्, ‘ऐलानीमा झुप्रो हालेर बस्या’छौं । श्रीमान् उता थुनामा परेपछि के हुने हो भन्ने डरले खाइरा’छ ।’

सुन तस्करीको आरोपमा श्रीमान् थुनामा परेकामा जानुकालाई जति पीर कसैलाई परेको छैन । उनले माइतमा खबर गरेर बाबुलाई काठमाडौं पठाएकी छन् । ज्वाइँलाई छुटाउन बाबुले केही गर्छन् कि भन्ने झिनो आशा छ । त्यतिका महिनापछि घर फर्केका श्रीमान्ले थुनामा दुःख पाए होलान् भन्ने छटपटीले पिरोलेको छ । जानुकालाई काठमाडौं नै गएर श्रीमान् भेट्ने मन त छ । तर, गएर मात्रै भएन, कहाँ बस्ने, खर्च कसरी पुर्‍याउने अनि केटाकेटीको हेरचाह कसले गर्ने भन्ने पीर छ । उनले भनिन्, ‘मन त उडेर उतै पुगेको छ नि । के गर्नु केही उपाय छैन ।’

बस्नेतविरुद्ध प्रहरीले अगाडि बढाएको मुद्दाकै आधारमा काठमाडौं जिल्ला अदालतले २२ लाख धरौटीमा थुनामुक्त हुने फैसला सुनाएको छ । तर, आर्थिक रूपले कमजोर उनी यति धेरै पैसा बुझाएर छुट्ने अवस्थामा छैनन् । उनले भने, ‘२२ हजार पनि कसले पत्याउँछ भन्ने मान्छेले त्यति धेरै धरौटी कसरी पो जम्मा पार्ने ।’

अब के हुन्छ भन्ने उनले मेसो पाएका छैनन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त कोटेश्वरबाट जैसीदेवलस्थित केन्द्रीय कारागार सारिएको छ । फौजदारी कार्यविधिअनुसार धरौटी रकम बुझाउन नसकेसम्म उनी थुनामुक्त हुन सक्ने छैनन् । कार्यविधिले यस्तो अवस्थामा दैनिक थुनामा बसेबापत ३ सय रुपैयाँ कटौती हुन सक्ने भनेको छ ।

दैनिक तीन सय रुपैयाँका दरले धरौटी रकम कट्टी गर्न २० वर्ष थुनामा बस्नुपर्ने हुन्छ । तर, कार्यविधिले धरौटी बुझाउन नसक्नेका हकमा बढीमा १२ वर्ष वा दैनिक कटौती हुन आउने रकममध्ये जुन कम हुन्छ, त्यही सजाय भुक्तान गर्नुपर्ने व्यवस्था गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024