कुवेत जाने नेपाली कामदारलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने

12 Mar, 2020

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगारको लागि कुवेत जाने नेपाली कामदार १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्‍नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भन्दै स्रोत देशबाट आउने सबै विदेशी नागरकिकको लागि अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्‍नुपर्ने निर्णय गरेको हो । यो नियमलाई बुधबारदेखि नै लागू गरिएको छ ।

कुवेतले २७ फेब्रुअरीयता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी कामदारलाई स्वास्थ्य परीक्षणको लागि अनिवार्य रुपमा कुवेत फेयर ग्राउन्डसमा उपस्थिति हुनको लागि समयसिमा समेत तोकेको छ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतले क्वारेन्टाइनको लागि निश्चित स्थानहरु तोकेको छ। विमानस्थल पुगेका कामदारलाई तोकिएको क्वारेन्टाइनमा सिधै लैजानेछ। १४ दिन पछि मात्रै कामको लागि कम्पनीको जिम्मेवारीमा छाडिनेछ।

फेब्रुअरी २७ यता कुवेत प्रवेश गरी कुवेतको ६ क्षेत्रमा बस्ने कामदारलाई छुट्टाछुट्टै समयमा कुवेतको फेयर ग्राउन्डसको हल नम्बर ६ मा सर्म्पक गर्न सूचना जारी गरिएको छ। जस अनुसार अल जाहरा क्षेत्रमा बसोबास गर्ने नेपालीले १२ मार्च, मुवारक अल कविर क्षेत्रमा बसोबास गर्ने नेपालीले १३ मार्च , फर्वानिया क्षेत्रमा बसोबास गर्ने नेपालीले १४ मार्च, ह्वाली क्षेत्रमा बसोबास गर्ने नेपालीले १५ मार्च, अह्मदि क्षेत्रमा बसोबास गर्ने नेपालीले १६ मार्च र क्यापिटल (अल असिमा) क्षेत्रमा बसोबास गर्ने नेपालीले १७ मार्च कुवेतको फेयर ग्राउन्डस हलमा जानुपर्ने नेपाली दूतावासले जनाएको छ।

कुवेतले सबै खालको नयाँ भिसा जारी गर्न पनि रोक्ने निर्णय गरेको छ। अब हालसम्म जारी भएका भिसा प्राप्त नेपाली मात्रै कुवेत जान पाउनेछन्। हालसम्म जारी भएका भिसाको श्रमस्वीकृतिको प्रक्रियामा नै छ। कुवेतमा बुधबारसम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २ जना निको भएर फर्केका छन्। ५ जनालाई आइसीयुमा राखिएको छ। १ जनाको अवस्था गम्भीर छ।

कुवेतले कोरोना संक्रमण बढेपछि सबै शैक्षिक संस्थाहरु थप दुई हप्ताको लागि बन्द गरेको छ। कुवेतमा झन्डै ८५ हजार नेपाली कार्यरत छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024