खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ । कुवेतमा रोजगारीका लागि पुगेका १ लाख ६० हजार नेपाली छन् ।
कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।३१ बिरामी भेन्टिलेटरमा, ५१ को आपत्कालीन मृगौला डायलसिस जारी, कतिपय अन्धोपनको सिकार, धेरैजसो बिरामीको सघन उपचार कक्षमा
मदिरा सेवनबाट पीडित सबै एसियाली मुलुकका श्रमिक छन् । अघिल्लो शनिबारबाटै एकपछि अर्को श्रमिक बिरामी पर्न थालेका थिए । अस्पतालमा भर्ना हुनेको संख्या बढ्न थालेपछि कुवेतको लागूऔषध नियन्त्रण केन्द्र र सुरक्षा एजेन्सीसहितका निकाय सक्रिय भएका थिए । कुवेती स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा ३१ जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको उल्लेख छ । त्यस्तै ५१ जनालाई आपत्कालीन मृगौला डायलसिस जारी रहेको भनिएको छ । कतिपय आकस्मिक रूपमै अन्धोपनको सिकार पनि भएको जानकारी गराइएको छ । धेरै बिरामीलाई सघन उपचार कक्षमा राखेर चिकित्सकको २४ घण्टे निगरानीमा राखिएको छ । विषाक्त मदिरा कहाँबाट आयो, त्यसको कुवेत सरकारले अनुसन्धान गरिरहेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले जीवन बचाउनका लागि त्यस्तो व्यवहार नगर्न सचेतसमेत गराएको छ ।
नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले कान्तिपुरसँग फोनमा भने, ‘दूतावासले नेपाली कम्युनिटी र यहाँको सरकारसँग सम्पर्कमा रहेर आवश्यक समन्वय गरिरहेको छ ।’ शंका लागेर अस्पतालमा उपचार गराउन जाने नेपालीको संख्या पनि थपिँदै गएको आचार्य बताउँछन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर क्षेत्रीले कुवेतमा भएको दुःखद् घटनाबारे जानकारी प्राप्त भएपछि त्यहाँस्थित दूतावासलाई सक्रिय रहन निर्देशन दिइएको बताए । ‘कुवेत सरकार र पीडित परिवारसँग समन्वय र सम्पर्कमा रहन भनेका छौं,’ उनी भन्छन्, ‘त्यहीअनुसार दूतावासबाट काम भइरहेको छ ।’
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष एकराज मल्लले विषाक्त मदिरा सेवन गरेकाहरू बिरामी भएर अस्पताल भर्ना भएको बताए । मृत्यु हुनेको संख्या बढ्न सक्ने उनको भनाइ छ । कुवेतमा मदिरा, लागूऔषधको उत्पादन ओसारपसार र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्धित हुँदाहुँदै लुकीछिपी त्यसको प्रयोग भइरहँदा यस्ता दुःखद् घटना भएको उनले बताए ।
कुवेतलगायतका खाडी मुलुकमा लाखौं नेपाली श्रमिक कार्यरत छन् । अन्य खाडी मुलुकजस्तै कुवेतमा पनि मदिराको उत्पादन र प्रयोग पूर्ण निषेधित छ । तर, एसियाली मुलुकका श्रमिक अवैध रूपमा त्यसको घरेलु उत्पादन गरेर खरिदबिक्री गर्छन् । मदिरा सेवन र बिक्री वितरणका आरोपमा नेपाली श्रमिक पनि जेल पर्ने गरेका छन् ।