कुवेतको जेलमा रहेका २१ नेपालीलाई फर्काउन संसदीय समितिको निर्देशन

17 Nov, 2019

संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ। थुनामा राखेका उनीहरुको दण्ड जरिवाना तिरेर भएपनि तत्काल फिर्ता ल्याउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए।

थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख रुपैयाँ जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासले जनाएको छ। त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पुर्याउने म्यानपावर कम्पनीमाथि पनि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ।

यता, सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भईरहेको जनाएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दुतावासमार्फत पहल भइरहेको बताए।

उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दुतावासले कुरा गरिरहेको जानकारी दिए। रासस

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024