कुबेतमा अलपत्र नेपालीको उद्धार, ३३ जनालाई सम्बन्धित देश पठाइयो

23 March, 2026

पश्चिम एसिया तनावको असरले कुबेतमा फसेका नेपालीको उद्धार गरिएको छ ।

विभिन्न देशबाट नेपाल आउने तथा गन्तव्य मुलुक जाने गरी कुबेतमा ट्रान्जिटमा रहेका ३३ जना नेपालीलाई गन्तव्य मुलुक पठाइएको हो । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका उनीहरूलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ ।

कुवेतबाट उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको थियो भने साउदीबाट हवाईमाध्यमकै प्रयोग गर्दै गन्तव्य मुलुक पठाइएको हो ।

दूतावासका अनुसार हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेकालाई आपसी समन्वय गरी गन्तव्य मुलुक पठाइएको हो । साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरिएको हो ।

यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै पठाइएको थियो ।

कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया जारी छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024