किशोरी केरुङ लान गिरोह सक्रिय

24 December, 2018

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ बजारमा जान कडाइ गरिएपछि दलालले यसको फाइदा उठाउन थालेका छन्। उमेर नपुगेका, अभिभावकबिना जाने तथा बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय भएका हुन्। केरुङमा किशोरी लैजान गिरोह सक्रिय भएको माइती नेपालले जनाएको छ।

 

एक किशोरी लगेबापत १० हजारदेखि २५ हजार रुपैयाँसम्म दलालले लिने गरेको पाइएको छ। संस्थाले पाँच महिनामा रसुवागढी नाकाबाट १ सय १० किशोरी फिर्ता गरेको छ। रोजगारीका लागि केरुङ जान लागेका उनीहरूलाई घर फर्काइएको हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म १ सय १० किशोरी फर्काइएको र एक जनाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक लालुमाया घलेले जानकारी दिइन्। ‘नाका खुलेपछि रोजगारीका लागि केरुङ जाने क्रम बढेको छ,’ उनले भनिन्।

 

उमेर नपुगेका र अभिभावकबिना केरुङ हिँडेका किशोरीलाई नाकाबाटै फिर्ता गरिएको उनले बताइन्। श्रीमान्–श्रीमती बनेर जानेलाई पनि विवाह दर्ता नभए फिर्ता गर्ने गरिएको उनको भनाइ छ। २० वर्ष उमेर नपुगेकालाई त्यहाँ जान रोक लगाइएको माइती नेपालले जनाएको छ।

 

केरुङमा करिब पाँच सय किशोरी कार्यरत् रहेको संस्थाले जनाएको छ। जसमा तीन सयको हाराहारीमा रसुवाका किशोरी छन्। संस्थाले सन् २०१८ मा सञ्चालन गरेको सामाजिक परिचालन तथा जनचेतनामूलक कार्यक्रमको वार्षिक प्रगति पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। केरुङमा कार्यरत् किशोरीले मासिक १५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। त्यहाँ रहेका महिला १६ वर्षदेखि २५ वर्षसम्म उमेरका धेरै छन्। जिल्लाबासीलाई एक वर्षको पास उपलब्ध गराउने हुँदा त्यहाँ जान सजिलो छ। राहदानी बनाउन नपर्ने, खर्च कम लाग्ने र आम्दानी राम्रो हुने आसामा पढाइ छोडेर किशोरीहरू केरुङ जाने गरेका छन्। श्रीमान् विदेश गएका, आर्थिक अवस्था कमजोर भएका, अभिभावकविहीनहरू बढी जोखिममा पर्छन्।

 

Published: 24 December 2018 | Nagarik

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024