काम गरेको ज्याला माग्दा पोलमा बाँधेर माेसो दल्ने ठेकेदार पक्राउ

13 April, 2023

रञ्जन भण्डारी

महोत्तरीको लोहारपट्टी नगरपालिका– ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँधेर मोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । चैत २३ गते बिहान ३४ वर्षीय मिश्रले नदाफलाई पोलमा बाँधेर अमानवीय व्यवहार गरेका थिए ।

मिश्रलाई नियन्त्रणमा लिएर अपमानजनक तथा अमानवीय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । मिश्रले नदाफमाथि गरेको अमानवीय गतिविधिको भिडियो सामाजिक सञ्जालबाट थाहा पाउपछि पीडितका हजुरबुबा गफुर नदाफले सोमबार दिएको जाहेरीको आधारमा सोही दिन प्रहरीले मिश्रलाई नियन्त्रणमा लिई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।

यस्तो थियो घटना :

लोहारपट्टी नगरपालिका– ६ स्थित लोहारपट्टी चोकमा बन्दै गरेको शिव आश्रमको जिम्मा पाएका ठेकेदारले नदाफलाई काममा लगाएका थिए । नदाफले काम गरेको ज्यालासहितको हिसाब मिश्रसँग पटकपटक मागे, तर दिएनन् ।

ठेकेदारले ज्याला नदिएको झोँकमा नदाफले आफ्नो पारिश्रमिकबराबर फलाम काट्ने मेसिन र पंखा लिएर आए । त्यसको बदालामा मिश्रले उनलाई घरमै बोलाएर कुटपिट गर्दै लोहारपट्टी चोकमा लगेर पोलमा हात बाँधी मोसो दली कुटपिट गरेको स्थानीयको भनाइ छ ।

यता प्रहरीले दिएको जानकारीअनुसार नदाफले मेसिन चोरेको निहुँमा उनीसँग अपमानजनक तथा अमानवीय व्यवहार गरेको प्रारम्भिक जानकारी रहेको जनाएको छ । नदाफको कपालसमेत मुण्डन गरी नगरभरि घुमाइएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024