काठमाडौंमा खुल्यो कतार भिसा सेन्टर, रोजगारीमा जाने सम्पूर्ण प्रक्रिया अब नेपालबाटै

29 May, 2019

कतार भिसा सेन्टरले बुधबारदेखि औपचारिक सेवा सुरू गर्ने भएको छ। कार्यालय वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारलाई लक्षित गर्दै खोलिएको हो। काठमाडौं महानगरपालिका ४ महाराजगञ्जमा रहेको भिषा सेन्टरको आज साँझ नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले उद्घाटन गर्दैछन्। सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउनेछन्। यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमा हुने गर्थे। अब यी सबै काम नेपालबाट पूरा हुनेछ जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् । कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकामा यस्ता भिसा सेन्टर सञ्चालन गरिसकेको छ ।

यसले नेपाली श्रमिकहरूलाई भिसा प्रोसेसिङका लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त गरेको छ। मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरु राम्रोसँग स्क्रिनिङ गरिने भएकोले मेडिकल फेल वा अन्य विभिन्न समस्या भएका व्यक्तिहरु नेपालबाट नै कतार जान पाउने वा नपाउने विषयमा टुंगो लाग्ने हुँदा कतार पुगेर फर्किनुपर्ने अवस्थाको पनि सेन्टरका कारण हट्नेछ । कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी अब सहज रूपमा प्राप्त हुनेछ । कतारको सरकारी प्रकृया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने नेपालस्थित कतारी दूतावासले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024