कफीले गाउँमै रोजगारी

17 Nov, 2019

रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी सरिता गौतमले कफी अनुसन्धान कार्यक्रममा काम गर्न थालेको चार वर्ष भयो । उनी एकल महिला हुन् । उनका श्रीमान १६ वर्षअघि बितेका हुन् । श्रीमान्को मृत्यु हुँदा उनको छोरा दीपक चार वर्षका थिए । श्रीमान्को मृत्युपछि नाबालक छोरा हुर्काउन उनले गाउँमा विभिन्न मजदुरी गरिन् । ०७१ सालमा गाउँमा कफी अनुसन्धान कार्यक्रम सुरु भएयता उनको दैनिकी फेरिएको छ । कार्यक्रम सुरु भएको एक वर्षपछि उनी कार्यक्रममा अबद्ध भइन् । उनले काम गर्दा दैनिक पारिश्रमिक दुई ७० रुपैयाँ थियो । अहिले बढेर पाँच सय १७ भएको छ । गौतमले सुरुमा ढुंगा बोक्ने, गाह्रो लगाउने, पानी बोक्ने, कफी रोप्नेदेखि घाँस काट्नेसम्मका काम गरिन् । उनले भनिन् ‘घरमुली ढलेपछि परिवारको आर्थिक अवस्था बेहाल थियो, समयमै कफी कार्यक्रममा काम पाएँ, छोरो पढाएँ, घर खर्च चलाएकी छु ।’

गाउँकै कामले परदेश सोचिनँ

टेकबहादुर पल्ली पनि सोही ठाउँका युवा हुन् । उनी पाँच वर्षदेखि कफी अनुसन्धान कार्यक्रममा काम गर्छन् । गाउँका धेरै युवा परदेश छन् । तर, पल्लीले कहिल्यै गाउँ छोड्न मन नलागेको बताए । उनी कफी अनुसन्धान कार्यक्रमको कार्यालय परिसर सफासुग्घर गर्छन्, कफीका बोटमा सिँचाइ गर्छन्, बोडो मिश्रण छर्ने गर्छन् । ‘गाउँमा काम खोज्दै हिँड्नु पर्दैन, काम र पैसा दुवै मिलेको छ,’ पल्लीले भने, ‘यो कार्यक्रमले पत्याउने वेलासम्म काम गर्छु ।’

सीपसँगै समान काम, समान ज्याला

बलेटक्सार चौताराकी कल्पना गौतम पनि यही कार्यक्रममा काम गर्छिन् । घरबाट काममा आउन एक घन्टा र फर्कन करिब डेढ घन्टा लाग्ने उनले बताइन् । उनले भनिन्, ‘यहाँ काम गर्न थालेको पाँच वर्ष भयो । दुई छोराछोरीसहित परिवार यहीबाट आएको आम्दानीले पालिरहेको छु ।’ बल भएसम्म कफी कार्यक्रममा काम गर्ने उनी बताउँछिन् ।

उनले यहाँ काम गर्दा पैसा मात्रै नकमाएको बताइन् । उनले भनिन्, ‘कफीसम्बन्धी धेरै ज्ञान प्राप्त भएको छ । केही गर्ने हिम्मत पलाएको छ ।’ कफी अनुसन्धान कार्यक्रममा महिला पुरुषले समान काम गर्छन् । सबैको ज्याला पनि समान नै रहेको गौतमले बताइन् ।

श्रीमान्को कमाइ बचत श्रीमतीको कमाइले खर्च

बलेटक्सार सिधुरेकी कुमारी रेश्मीले पनि पाँच वर्षदेखि सोही ठाउँमा काम गरिरहेकी छिन् । उनका श्रीमान् रोजगारीको लागि विदेसिएका छन् । कफी कार्यक्रममा जागिर खानुअघि उनको परिवार श्रीमान्कै कमाइमा चलेको थियो । गाउँमा ऋणधन गरेर परिवार चलाउँथिन् । तर, पछिल्ला वर्षहरू यस्तो छैन । ‘अहिले श्रीमान्को कमाइ बचत हो, मैले घर खर्च चलाएकी छु,’ रेश्मीले भनिन्, ‘अहिले कमाइ पनि राम्रै छ ।’ सोही स्थानकी मीठु क्षेत्रीको पनि श्रीमान् भारत छन् ।

वर्षमा ४० जनासम्मलाई रोजगारी

रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारको भण्डारीडाँडामा कफी अनुसन्धान कार्यक्रम छ । कार्यक्रमले कफीको अनुसन्धान, बिरुवा उत्पादन, बगैचा निर्माण, कृषकलाई प्रविधि सहयोग र कफीको उन्नत जात विकासलगायत काम गर्दै आएको कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले बताए । त्यो बाहेक यो कार्यक्रमले गाउँलेहरूलाई रोजगारी सिर्जना गरेको छ । प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम पाँच सय १७ तोकिएको छ । तर, सामान्य बाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा हाल २२ जना स्थानीयले नियमित काम गर्दै आएका छन् । कफीको मौसमअनुसार ४० जनासम्मलाई रोजगारी दिने गरिएको संयोजक थापाले जानकारी दिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024