कतारले तोक्यो न्यूनतम ज्याला, जागिर परिवर्तन गर्न रोजगारदाताको अनुमति नचाहिने

31 Aug, 2020

कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश जारी गरेको छ। उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो व्यवस्था गरिएको छ। 

यसअघि कतारमा विदेशी कामदारले सम्झौता अवधिभित्र रोजगारदाताको अनुमतिबिना जागिर परिवर्तन गर्न नपाउने व्यवस्था थियो। यो व्यवस्थालाई परिवर्तन गर्दै कतार सरकारले अब श्रमिकले आफ्नो इच्छाअनुसार काम गर्ने ठाउँ र अफिस परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो। 

यसका लागि श्रमिकले कम्तिमा १ महिनाअघि लिखित जानकारी भने गराउनु पर्ने छ। 

कतारमा एकपटक रोजगारदाताले विदेशबाट श्रमिक लिएपछि कतै पनि जान नदिने, चरम श्रम शोषण गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय संघ संस्थाल विरोध जनाएका थिए। कतारको पछिल्लो यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ।

‘यो ऐतिहासिक दिन हो। सबै श्रमिकले अबदेखि कतारमा रोजगारदाताको अनुमतिबिना नै जागिर परिवर्तन गर्न पाउने छन्’ संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ। 

त्यस्तै कतार सरकारले श्रमिकका लागि न्यूनतम ज्याला पनि निर्धारण गरेको छ। यो नियमसँगै सबै श्रमिकले १ हजार कतारी रियाल (२७४ अमेरिकी डलर) पाउनेछन्। 

योसँगै बस्नका लागि मासिक ५ सय रियाल(१३७ अमेरिकी डलर) र खानाका लागि ३ सय रियाल(८२.८२ अेमिरिकी डलर) पाउने छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024