उपचार नपाएर मलेसियामै मर्ने भएँ

8 March, 2018

वीरसिंह सुतार

‘छोराछोरीलाई राम्रो स्कुल पढाउँला, परिवारलाई सुखले पालुँला,’ मलेसिया लाग्नुको मुख्य कारण र सपना यही थियो । मेरा दुई छोरा र एक छोरी छन् ।

२०७३ सालमा म मलेसिया आएँ । परिवारलाई सुख दिउँ भन्ने त सबैको सपना हुन्छ नै । त्यसमा मलजल गर्‍यो म्यानपावरले । मलाई काठमाडौंको महाराजगञ्जमा रहेको क्रस नेपाल ओभरसिजले मलेसिया पठाएको हो ।

 

टप ग्लाेब कम्पनीमा मासिक ७० हजार रुपैयाँ कमाइ हुन्छ भनेका थिए म्यानपावरका मानिसले । त्यसका लागि मैले एक लाख २० हजार रुपैयाँ बुझाएको छु । तर मलेसिया आएपछि मात्रै थाहा भयो म्यानपावरले त्यहाँ भनेको जस्तो नहुने रहेछ ।

 

अहिले मलाई गरिखानु न मरिजानु भने झैं भएको छ । एक महिना अघिदेखि मेरो खुट्टामा समस्या देखियो । खुट्टा दुख्ने, हिड्न नमिल्ने हुन थाल्यो । कम्पनीलाई भने । तर कम्पनीले उपचार गरिदिएन । हिड्न नसक्ने भएपछि म काममा जान सकेको छुइन् । तर मलाई कम्पनीले घर फर्कन पनि दिएको छैन । यहाँ काम नगरी बस्दा तलब पनि दिएको छैन ।

 

एक महिनादेखि काममा जान नपाएकाले पैसा छैन । खान बस्न पनि समस्या छ । मेरो काम दिनभरी उभिएर गर्नुपर्ने थियो । त्यसैले मलाई यो समस्या भएको हो । अब त्यो काम पनि गर्न सक्दिन म के गरौं ?

 

यहाँ आउनेबेला काढेको ऋण पनि तिर्न सकेको छैन । आउँदा १ लाख ५० हजार रुपैयाँ ऋण थियो अहिले सावा ब्याज गरेर दुई लाख पुगिसक्यो । मेरो समस्या घरमा पनि सुनाउन सकेको छुइन् । मसँग एक रुपैयाँ छैन । मलेसियामा यसरी नै बसें भने त यतै मर्छु होला । ऋण भएपनि सग्लो ज्यान फर्कन पाएँ हुन्थ्यो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024