उद्धार र राहतमा लापरबाही गरेपछि युएईका श्रम काउन्सेलर पौडेल जिम्मेवारी मुक्त

6 January, 2026

Hom Karki

श्रमिकको राहत र उद्धारमा लापरबाही गरेको भन्दै परराष्ट्र मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दुतावासमा कार्यरत श्रम काउन्सेलर दिपेन्द्र पौडेललाई जिम्मेवारीबाट हटाएको छ। परराष्ट्रले पौडेललाई उक्त जिम्मेवारीबाट हटाएर नेपाल फिर्ता बोलाएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पौडेललाई गत वर्ष दुतावासको काउन्सेलर नियुक्त गरेको थियो। तर, एक वर्ष कार्यकाल बाँकी छँदै उनी जिम्मेवारी मुक्त भएका हुन्। उनी शनिवार नै नेपाल फिर्ता भइसकेका छन्।

युएईमा रहेका नेपाली श्रमिकका राहत, उद्धार र क्षतिपूर्ति सम्बन्धी मामिलामा लापरबाही गरेको विषयमा पौडेलमाथि आन्तरिक छानबिन गरिएको थियो। त्यसक्रममा उनले लापरबाही गरेको पुष्टि भएपछि उनलाई जिम्मेवारीबाट मुक्त गरी फिर्ता गराइएको परराष्ट्रले जनाएको छ। तर, उनलाई फिर्ता गर्ने विषयमा श्रम मन्त्रालयबाट लिखित रुपमा सहमति लिइएको थिएन।

युएईस्थित नेपाली दुतावासले पौडेलमाथि छानबिन गर्न नियोग उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले कन्सुलर सेवासँग सम्बन्धित कार्यमा लापरबाही र त्रुटि देखिएको प्रतिवेदन परराष्ट्र पठाएको थियो।

श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐनमा उल्लेख भए बमोजिम २०६६ देखि परराष्ट्र मन्त्रालयमार्फत श्रम काउन्सेलर (उपसचिव) र श्रम सहचारी (शाखा अधिकृत) पठाउन थालेको हो। त्यसरी पठाइएकोमध्ये कार्यकाल अगाडि नै फिर्ता गरिएका उनी पहिलो श्रम काउन्सेलर हुन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024