अमेरिका–इरानबिचको तनाव युद्धतर्फ मोडिने जोखिम बढेसँगै सरकारले इरानमा रहेका नेपालीलाई तत्काल बाहिर निस्कन आह्वान गरेको छ । विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले अर्को सूचना जारी नभएसम्म इरान यात्रा नगर्न र त्यहाँ रहेका नेपाली नागरिकलाई यथाशीघ्र छाड्न आह्वान गरेको हो ।
आइतबार ट्राभल एड्भाइजरी जारी गर्दै परराष्ट्रले समन्वय तथा आवश्यक सहयोगका लागि कतारको दोहास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । इरानमा सरकारविरोधी प्रदर्शनले पनि उग्ररूप लिएको छ । ठुलो मानवीय क्षतिको चर्चा भए पनि औपचारिक तथ्यांक आएको छैन । अमेरिका र इजरायल प्रदर्शनकारीको पक्षमा उभिएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इरानमा हाल १० जना नेपाली छन् । ‘उहाँहरू सुरक्षित हुनुहुन्छ । तर, त्यहाँ विकसित चिन्ताजनक घटनाक्रमका कारण उहाँहरू जतिसक्दो चाँडो, सहज माध्यमबाट बाहिर निस्किनुहोस् भन्ने अनुरोध गरेका हौँ,’ प्रवक्ता क्षेत्रीले भने । हाल तेहरानमा अन्तर्राष्ट्रिय उडानहरू करिब–करिब बन्दप्रायः अवस्थामा छन् ।
इरानमा रहेका नेपाली नागरिकले आपत्कालीन अवस्थाका लागि पासपोर्ट तथा परिचयपत्रलगायत आवश्यक यात्रा कागजातहरू सधैँ तयारी अवस्थामा राख्न पनि परराष्ट्रले नेपाली नागरिकलाई अनुरोध गरेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयद्वारा २०२६ जनवरी १३ मा जारी गरिएको यात्रा परामर्शलाई समेत ध्यानमा राख्न अनुरोध गरिएको छ । गैरआवासीय नेपाली संघका अनुसार इरानमा विष्णुप्रसाद भुसाल, राजु खनाल, सागर पौडेल, गणेश पोखरेल, विष्णु बन्झाडे, सुमन गैरे, यज्ञप्रसाद मरासिनी, उत्सव थापा, हरि थापा र गायत्री कार्की थापा छन् । नेपालीहरू सुरक्षित रहेको जानकारी पाएको परराष्ट्र प्रवक्ता पौडेलले बताए ।
लोकबहादुर पौडेल क्षेत्री, प्रवक्ता, परराष्ट्र मन्त्रालय
इरानमा हाल १० जना नेपाली छन् । उहाँहरू सुरक्षित हुनुहुन्छ । तर, त्यहाँ विकसित चिन्ताजनक घटनाक्रमका कारण उहाँहरू जतिसक्दो चाँडो, सहज माध्यमबाट बाहिर निस्किनुहोस् भन्ने अनुरोध गरेका हौँ ।