इराकमा कार्यरत नेपालीलाई विभागले भन्यो– श्रम स्वीकृति लिनू

14 January, 2026

वैदेशिक रोजगार विभागले इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति लिन आह्वान गरेको छ।

विभागले पहिल्यैदेखि इराकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति लिन आग्रह गरेको हो। नयाँ श्रम स्वीकृति जारी गर्ने भएको भने होइन।

पुस ११ गतेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम वैदेशिक रोजगारीको सिलसिलामा इराकमा गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नेपाल आएका बेला श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो।

स्वीकृत प्राप्त गर्न वैदेशिक रोजगार व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन विभागले आग्रह गरेको छ।

यसका लागि कम्तीमा तीन महिना म्याद भएको राहदानी, आधिकारिक भिसा, म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, रोजगारदातासँगको करार सम्झौता लगायत कागजात आवश्यक पर्नेछ।

त्यसैगरी, इराकको अध्यागमनले पासपोर्टमा लगाएको आगमन तथा प्रस्थान छाप, अभिमुखीकरण तालिम तथा मेडिकल गरेको प्रमाण आवश्यक पर्नेछ।

श्रम स्वीकृति माग गर्ने व्यक्ति स्वयं सक्कल पासपोर्ट, भिषा तथा करार सम्झौता सहित विभागमा सनाखतका लागि उपस्थित हुनुपर्ने विभागले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024