इपिएस पास गरेका नेपाली श्रमिक अन्यौलमा

4 June, 2020

कैलालीका २२ वर्षीय अजय सोडारीले २ वर्ष अगाडिदेखि कोरीया जाने सपना बुनेका थिए। त्यसको लागि उनले कोरियन भाषा कक्षा पढे र १ वर्षको मिहेनत पछि पास पनि गरे।

गत मंसिरमा उनले स्किल टेस्ट पास गरे भने चैतमा रोजगार दाता पनि निश्चित भयो।

२ वर्षको मिहेनत पछि उनी कोरीया गएर पैसा कमाउनेमा ढुक्क थिए। तर चैत ११ देखिको लकडाउनले उनको सपना सपनामै सिमित भयो।

कोरियन सरकारसगँको सहकार्यका नेपाली कामदारलाई कोरिया पठाउने तयारी थियो तर विदामा नेपाल आएका कामदारलाई मात्र प्लेन चाटर्ड गरेर लगेपछि उनको आश फेरी मर्यो।

‘जान पाउने/नपाउने निश्चित भए त्यहीअनुसार काम गर्नुहुन्थ्यो हामी त अन्यौंलमा पो पर्याै, सिसिभिआइ आएको पनि १ महिना भइसक्यो, हामी भन्दा अघिल्लो लटको साथीहरुको त सिसिभिआइ को म्याद (९० दिन) पनि सकिइसक्यो,’ उनले भने। 

सिसिभिआइको म्याद सकिएपछि कोरिया सरकार सोही कामदार लान बाध्य नहुने प्रावधान छ। इपिएस परिक्षा पास गरेका नयाँ श्रमिकहरुको बारेमा भने हाल केही भन्न नसकिने इपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले जानकारी दिए।

‘विदामा नेपाल आएका ७५ जानाको टिकट काटिएको थियो। विभिन्न कारणबस ५४ जानालाई पठायौं,‘ खनालले सेतोपाटीसगँ भने।

कोरियाको ह्युमन रिसोर्स डिपार्टमेन्टले नयाँ कामदारलाई रेगुलर फ्लाइटमै पठाउनु भनेको उनले बताए।

‘हाम्रो लेभलमा कुरा हुँदा लकडाउन खुलेपछि मात्र श्रमिक पठाउन भनेको छ,’ उनले भने ‘नयाँ कामदार लैजाँदा एयर पोर्टमा रिसिभ, ओरेन्टेसन कक्षा लगायतका झमेला हुने रहेछ।’

त्यस्तै लकडाउनका कारण कोरीया जान नपाई सिसिभिआई म्याद सकिएका ८ सयजनाको विवरण त्यहाँको ह्युम्यान रिसोर्स डिपार्टमेन्टलाई पठाईसकेको खनालले जानकारी दिए।

Published  on: 4 June 2020 | Setopati

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024