इपिएस पास गरेकालाई एक हप्तामै उडाईदिऊँ भन्ने पक्षमा छु: श्रममन्त्री श्रेष्ठ

18 January, 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताएका छन्।

इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दवाव परिरहेको खुलासा गरेका हुन्। सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इपिएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताए।

उनले भने, ‘असाध्यै सिन्सियर भएर लागेको छु। तपाईहरु पास हुनु भयो। पास भएपछि मलाई थाहा छ। अघि आफैले भन्नु भयो,–गाउँमा बस्ने अवस्था छैन। कतिपयले त मानसिक औषधि खानेबेला भएको होला। मेरो हातमा हुन्छ भने त म। म एक हप्तामै सबैर्लाइ उडाईदिऊ भन्ने पक्षमा छु।   तपाईहरुलाई रोकेर, दायाँबायाँ गरेर सरकारलाई कुनै फाईदा छैन।’

मन्त्री श्रेष्ठले इपिएस प्रणाली पास गरेकाहरुलाई आफूले एक हप्ता भित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे। उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भईरहेको पनि बताए। मन्त्री श्रेष्ठले आफूले ईपिएस प्रणालीबाट पास गरेकाहरुलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहोर्‍याए। यता, पीडितहरुले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दवाव दिएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024