आवेदन दिएको दिनमै श्रम स्वीकृति

29 May, 2025

काठमाडौँ, जेठ १५ गते । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन आवेदन दर्ता भएकै दिनमा श्रम स्वीकृति पाउन थालेका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई चुस्तदुरुस्त बनाउने उद्देश्य अनुरूप सुधार अभियान सञ्चालन गरेपछि यो सातादेखि वैदेशिक रोजगारीमा जान आवेदन दर्ता गराउने श्रमिकले सोही दिनमै श्रम स्वीकृति पाउन थालेका हुन् ।

विभागका अनुसार यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृतिका लागि आवेदन दिएको आठ/१० दिनमा मात्रै श्रम स्वीकृति पाउँदै आएकोमा मङ्गलबारदेखि भने आवेदन दिएको दिनमै श्रम स्वीकृति दिन थालिएको छ ।

विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको दिनमै श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास गरी श्रम स्वीकृति दिन थालेको जानकारी दिनुभयो ।

यसअघि श्रम स्वीकृतिका लागि आवेदन दर्ता भएको आठ/१० दिनमा मात्रै श्रम स्वीकृति पाउने गरेकोमा हाल यसलाई सुधार गरेर एकै दिनमा श्रम स्वीकृति दिन थालेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको एक घण्टामा श्रम स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक दिनमा श्रम स्वीकृत दिन सकेका छौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले सम्पूर्ण कागजात अनलाइनबाट पेस गरी प्रव्रिmया पूरा गरे एक दिनमा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउन सक्ने बताउँदै विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति नरोकिएको दाबी गर्नुभयो । उहाँका अनुसार दैनिक दुई हजार दुई सय जनाले श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको विस्तार गरेकोमा एक हजार आठ सय जनाको मात्रै श्रम स्वीकृतिका लागि आवेदन पर्ने गरेकाले रोकेर राख्नुपर्ने अवस्था छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024