आइतबारबाट मलेसियाको रोजगारी खुल्ने

13 September, 2019

गत वर्षबाट बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसिया आइतबारबाट खुल्ने भएको छ। नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसियाको रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटरमा लेखेका छन्। नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको हो। मलेसिया जाने नेपाली आर्थिक भारमा परेको भन्दै सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु खारेज गरी १५ महिनादेखि मलेसिया जान रोक लगाएको थियो।

मलेसिया र नेपाल सरकारबीच गत कात्तिकमा नयाँ श्रम सम्झौता भएको थियो। अब मलेसिया जाने नेपाली कामदारले सोही श्रम सम्झौताअनुसारको सेवा सुविधा पाउने छन्।यसअघिकाे श्रम सहमतिअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्वन्धित रोजगारदाताले नै ब्यहोर्नुपर्नेछ।

विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी अब नलाग्ने व्यवस्था गरिएको छ। त्यस्तै यसअघि करार अवधि ३ वर्षको रहँदै आएकोमा त्यसलाई २ वर्षको कायम गरिएको छ। मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलव, भत्ता एवं। सुविधा पाउने सुनिश्चितता गर्नुका साथै अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक तथा सेवा सुविधा पाउने व्यवस्था यसघिको श्रम सम्झौतामा उल्लेख छ। सम्झौताअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य गर्नुपर्ने, सही वातावरण र वासस्थानको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ। नेपाली कामदार मलेसियाको विमानस्थलपुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्ने व्यवस्था सहमतिपत्रमा भएको छ। महिला कामदारको सम्वन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

सहमति अनुसार कामदार र रोजगारदाताबीच श्रम सम्वन्धी कुनै विषयमा विवाद भई सम्वन्धित निकायमा मुद्दा विचारणीय रहेसम्मका लागि मलेसिया बस्न पाउने छन्। मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटतम सदस्यहरु (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरी)को मृत्यू भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने व्यवस्था मिलाइएको छ। कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा पनि लागू हुनेछ। रोजगारका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्वन्धित रोजगारदाता कम्पनीले ब्यहोर्नुपर्नेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026