अस्ट्रेलियास्थित नेपाली दूतावासले भन्यो– यात्रा गर्दा जोखिम हुन्छ, यथास्थानमै बस्नू

30 Apr, 2020

सिड्नी । आगामी मे महिनाको पहिलो साता सिड्नी आउन लागेको नेपाल एयरलाइन्सको जहाजमा अस्ट्रेलियास्थित नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने माग आइरहेको बेला नेपाली दूतावासले भने अहिले यात्रा गर्नु सुरक्षित नहुने जनाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले केही समयको लागि धैर्यधारण गरी जो जहाँ छ, त्यहीँ सुरक्षित रूपमा रहन अनुरोध गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ ।’

नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवं स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज आगामी मे महिनाको पहिलो साता अस्ट्रेलियाको सिड्नी आउँदैछ । सोही जहाजमा अस्ट्रेलियामा रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेको दूतावासले जनाएको छ ।

नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई अत्यन्त गम्भीरताका साथ ग्रहण गरी नेपाल सरकारसम्म पुर्‍याउने काम गरिरहेको दूतावासले जनाएको छ । नेपाल सरकार संसारभर छरिएर रहेका आफ्ना नागरिकहरूको सुरक्षा र बसोबासप्रति पनि अत्यन्तै संवेदनशील रहेको पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

कसैलाई खान, बस्नलगायतका अन्य केही समस्या भएमा तत्काल यस राजदूतावासमा र भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अस्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्नसमेत दूतावासले अनुरोध गरेको छ ।

अस्ट्रेलिया, नेपाललगायत सारा विश्व नै हाल अकल्पनीय महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुधिरहेको र कोभिड-१९ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय यात्रु आगमनमा रोकलगायतका विभिन्न उपायहरू अपनाइरहेको भन्दै दूतावासले धेरै विषयमा सम्झौता गर्नुपरेको अवस्थालाई स्मरण गराएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024