अस्ट्रेलियामा हिउँ खेल्न जाने क्रममा नेपाली विद्यार्थी सवार कार दुर्घटना

28 July, 2019

अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको एक समूहको स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमाको मोनारो हाइवेमा कार दुर्घटना भएको छ।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए।

उनीहरू राति उडन रिजर्भमा गएर बसे तर सोही समूहको एउटा टोली भने रातको दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेको थियो। सोही समूहको कार बिहान पखको तीन बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ भने तीन जना घाइते भएका छन्।तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताए।कार दुर्घटनापछि करिब ६ बल्ड्याङ खाएको बताइएको छ।घाइते तीन जना विद्यार्थीहरूमा अस्वीन कँडेलको अवस्था सामान्य रहेको र उनलाई कोमा हस्पिटलबाट डिस्चार्ज गरिएको छ।

सेतोपाटीसँग कुराकानी गर्दै अस्वीनले भने, ‘हामी बिहान साढे दुई बजेतिर उठेर हिँडेका थियौं, एक घन्टाको यात्रापछि अचानक गाडी अगाडि कंगारुजस्तो चिज देखियो, गाडी छलाउदा छलाउदै पल्ट्यो। त्यसपछि म गाडीभित्रै च्यापिएर बसेछु। दुई जना साथीको मृत्यु भएको भनेका छन्, कोमा हस्पिटलमा राखिएको छ। भर्खरै एक जना नेपाली दाजु आएर आइडेन्टिफिकेसन गर्नुभयो। अरु साथीहरू क्यानबेरा भन्ने सुनें।’ संगीत देवकोटा र चालक सागर भट्टराईको भने क्यानबेरा हस्पिटलमा उपचार भैरहेको छ।

नेपाली राजदूतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले क्यानबेरा हस्पिटलमा रहेका दुई घाइतेलाई भेटी उनीहरूको अवस्थाका बारेमा जानकारी लिएको बताइन्।

‘ठूलो दुर्घटना भएको रहेछ, हामीले उनीहरूमध्ये चालक सागर भट्टराईसँग हस्पिटलमा कुरा गर्‍यौं, दुई जना साथीहरूको अवस्थाका बारेमा उनीहरूले पनि दुखद संकेत गरेका छन् तर प्रहरीले अझै कुनै स्पष्ट जानकारी दिएको छैन’, उनले भनिन्।

क्यानबेराबाट केही तल रहेको कोमाको मोनारो हाइवेमा भएको सो दुर्घटना भएको विषयमा राजदूतावास बिहानदेखिनै सक्रिय रहेको र नेपाली विद्यार्थीहरूको अवस्थाका बारेमा चिन्तित रहेको सापकोटाले बताइन्।

सानो उमेर र अपरिपक्क निर्णय अनि रमाइलो गर्ने बानीले यस्ता खाले दुर्घटनाहरू भएको पाइएको भन्दै यसमा सचेत रहन उनले आग्रह गरिन्।राजदूतावास प्रहरीको सम्पर्कमा रहेको र दुई जनाको अवस्थाका बारेमा अझै यकिन नआइसकेको अवस्थामा केही भन्न नसकिने सापकोटाले सुनाइन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024