अस्ट्रेलियाको मोह त्यागेर मःम उद्योगमा रमाएका दम्पती

1 August, 2025

गणेश लम्साल

विराटनगरका एक दम्पती अस्ट्रेलियाको मोह त्यागेर स्वदेशमै सफल रूपले मःम उद्योग सञ्चालन गरिरहेका छन्। अनिल र शोमा साह आफ्नो रेस्टुरेन्टमा मात्र होइन, विराटनगरका अधिकांश होटेल, पसल, रेस्टुरेन्ट, क्यान्टिन, कार्यालय र घरघरमा समेत दैनिक सयौँ प्लेट मःम सप्लाई गर्छन्।

श्रीमान् अनिल कमर्सका र श्रीमती सोमा नर्सिङकी विद्यार्थी हुन्। १० वर्ष कुवेत बसेर आएपछि अनिलले श्रीमतीसँगै अस्ट्रेलिया जाने तयारी गरेका थिए। तर, भिसा आग्रह अस्वीकृत भएपछि साहदम्पतीले आफ्नो सोचलाई ‘युटर्न’ गराए। पहिले आफ्नै घरमा केही केजी मैदाको पिठो मुछेर थोरै लगानीबाट थालेको मःम बनाउने व्यवसाय अहिले विराटनगरमा ‘मःम बजार’ ब्रान्डका रूपमा ठुलो उद्योगको रूप लिइसकेको छ।

विराटनगर– ३, भट्टाचोक र बुद्धचोकमा छ अनिल र सोमाको मःम बजार आउटलेट। यहाँ उनीहरू दैनिक १५ सय प्लेट मःम बनाउँछन् र आफ्नो आउटलेटदेखि विराटनगरभरिका घर, होटेल, पसल र कार्यालयहरूमा डेलिभरी गर्छन्। उनीहरूले अहिले आफ्नो उद्योगमा २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। त्यसमा पनि स्थानीय गृहिणीहरू उनीहरूको प्राथमिकतामा छन्।

मःम बनाएर बिक्री गरेर दैनिक ५० देखि ७० हजार रुपैयाँसम्म आम्दानी गरिरहेकाे उनीहरू बताउँछन्। सानो लगानीबाट थालेको मःम पसलले उद्योगको रूप लिएपछि राम्रो आम्दानी हुन थालेकाले उनीहरूले बिदेसिने सपना त्यागिसकेका छन्। उनीहरू भन्छन्, ‘हामी आफ्नै देशमा उद्यम गर्न सफल भइसकेका छौँ, अर्काको देशमा गएर दुःख किन गर्ने ?’

व्यवस्थापन विषयमा स्नातक गरेपछि अनिल पैसा कमाउन कुवेततिर हान्निएका थिए। त्यहाँ उनले ब्रोकरको रूपमा १० वर्ष काम गरे। पैसा पनि ठिकै कमाए। यता श्रीमती साेमाले बिएस्सी नर्सिङ सकेपछि दुवैले अस्ट्रेलिया गएर धेरै पैसा कमाउने सोच बनाए। ‘अप्लाई’ गरे, भिसा रिजेक्ट भयो। तर, उनीहरूले हिम्मत हारेनन्। बरु स्वदेशमै आफैँ केही नयाँ गर्नुपर्छ भन्ने सोचे। युट्युब हेरेर उनीहरूले मःम बनाउने काम पनि उद्योग बन्न सक्छ भन्ने बुझे। अनि बजार अध्ययन गरेर आफैँले केही केजी मैदा मुछेर घरबाटै काँचो मःम सप्लाई गर्न थाले। बजारमा उनीहरूको मःम रुचाइन थाल्यो।

माग बढ्न थालेपछि चीनबाट मःम बनाउने मेसिन मगाए। तर, चाहेजस्तो काम नदिएर हैरानी पाइरहे। उनीहरूले झापाको बिर्तामोड गएर काँचो मःम सप्लाई गर्ने अनुभव लिए। विदेशबाट आएर आफ्नै गाउँ मोरङको लेटाङमा काँचो मःम सप्लाई गर्ने उद्योग खोलेका रुद्र श्रेष्ठसँग नजिकिए। हैरानीले गर्दा रुद्र थालेको व्यवसाय छाड्न चाहन्थे। उनको मःम स्टिम गर्ने मेसिन साहदम्पतीले खरिद गरे। स्टिम मेसिन आएपछि ७० प्रतिशत कम ग्यास खर्चेेर मःम उत्पादन हुन थाल्यो। त्यसपछि उनीहरू हौसिए। बजारमा मागअनुसारको मःम आपूर्ति पनि बढाए। माग झन्–झन् बढ्दै गयो। अनि उनीहरूले स्थानीय गृहिणीहरूलाई मःम प्याक गर्न बिहान ९ देखि ५ बजेसम्म रोजगार दिन थाले।

अनिल र साेमा दैनिक चिकेन र भेज दुई थरीको ‘फ्रेस स्टिम’ र ‘फ्रोजन स्टिम’ मःम आउटलेटबाट बिक्री र बजारमा सप्लाई गर्छन्। अहिले सधैँजसो उनीहरूको आउटलेटमा मःम खान आउने ग्राहकको भिड हुन्छ। अनलाइनमा पनि माग राम्रो छ। सुरुमा एक लाख रुपैयाँ लगानीबाट उद्यम सुरु गरेकाे मःम उद्योगको लगानी अहिले ३० लाखभन्दा बढी पुगिसकेको सोमाले बताइन्। अस्ट्रेलियाको मोह त्यागेर आफ्नै देशमा परिश्रम गरेर मःम उद्योगलाई विस्तार गरिरहेका उनीहरू भन्छन्, ‘धैर्य राखेर नयाँ ढंगले गर्न चाह्यो भने स्वदेशमै राम्रो कमाइ गर्न सकिने रहेछ। ऋण काढेर जोखिम मोल्दै विदेश जानुपर्दैन।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024