अस्ट्रेलियाका नेपालीबारे सरकारको चासो

6 April, 2020

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकमाथि कूटनीतिक माध्यममार्फत चासो र चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको संकटको घडीमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकहरुको संरक्षण र सुरक्षा गर्न अस्ट्रेलियन सरकारलाई आग्रह गरेको छ । 

आफ्ना अस्ट्रेलियन समकक्षी परराष्ट्र मन्त्री मरिस पेनसँग टेलिफोनमा वार्ता गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुसहित नागरिकहरुलाई संरक्षण र सुरक्षा दिन आग्रह गरेका हुन्। 

चार दिनअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यदि अस्थायी भिसाबाहेकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था नभए घर फर्कन सुझाव दिएका थिए। उनले भनेका थिए,‘हामी अहिलेको अवस्थामा विद्यार्थीलाई उल्लेख सहयोग गर्न असमर्थ छौं। त्यसैले आफ्नो देशमा सहज महसुस हुने विद्यार्थी र अस्थायी भिसामा रहेकाहरु फर्किन चाहन्छन् भने फर्किन सक्छन्,’ प्रधानमन्त्री मरिसनले भनेका थिए। 

मरिसनको उक्त भनाइ बाहिर आएसँगै भइरहेको अन्योलतालाई चिर्न नेपाल सरकारले परराष्ट्र मन्त्री ज्ञवालीमार्फत अस्ट्रेलियन सरकारसँग त्यहाँ अध्ययरत हजारौं विद्यार्थी र नागरिकहरुको बारेमा चासो व्यक्त गरेको हो। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले दुई परराष्ट्र मन्त्रीबीच सोमबार बिहान वार्ता भएको थियो।टेलिफोन वार्तामा अस्ट्रेलियाकी परराष्ट्र मन्त्री पेनले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपालले खेलेको भूमिकालाई लिएर धन्यवाद दिइन्। 

केही दिन अघि नेपाल वायुसेवा निगमको विमानले अस्ट्रेलियाली नागरिक बोकेर गएको थियो। सोही अवसरमा भविष्यमा दुई मुलुकबीच हुन सक्ने सीधा हवाई सेवाको विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ। 

यस्तै दुवै मन्त्रीबीच नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको विषयमा छलफल भएको थियो। यस्तै दुवै परराष्ट्रमन्त्रीले भविष्यमा छिट्टै वार्ता गर्ने विषयमा पनि छलफल भएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024