अस्ट्रेलियाका ठूला सहरमा अब आप्रवासीहरू बस्न नपाउने

10 October, 2018

अस्ट्रेलिया जाँदै हुनुहुन्छ?

उसो भए थाहा पाइराख्नुस्– अब तपाईं सिड्नी, मेलबोर्न र ब्रिसबेन बस्न नपाउनुहोला।

अस्ट्रेलियाका यी सहरबाट टाढा गाउँमा मात्र बस्न पाउनुहुनेछ।

अस्ट्रेलियाका यी प्रमुख सहरमा मान्छेको चाप अत्यधिक हुँदै गए पछि सरकारले यो नयाँ योजना प्रस्ताव गरेको हो। र, यो नियम नयाँ आप्रवासीहरूलाई लागू हुनेछ सिड्नी मर्निङ हेराल्डले जनाएको छ। नयाँ आप्रवासीलाई भिसा दिँदै शर्त राखेर अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रमा मात्र बस्न दिने नयाँ योजना सरकारले अघि सारेको छ। नियमअनुसार कम्तीमा पाँच वर्ष आप्रवासीहरूले ग्रामिण क्षेत्रमा बस्नुपर्नेछ।

सरकारको यो प्रस्तावित योजनामा थप के-कस्ता नियम हुनेछन् भन्ने तय भइसकेको छैन। यो योजनाले सिड्नी र मेलबोर्न जस्ता सहरमा मान्छेको चाप कम हुने र दक्ष कामदार प्रोत्साहन गर्न मद्दत गर्ने आशा रहेको अस्ट्रेलियाका जनसंख्या मन्त्री अलान टजले बताएका छन्। तर विश्लेषकहरूले भने यो नयाँ नीतिका कारण कामदार अभाव हुनसक्ने औंल्याएका छन्।

अस्ट्रेलियाको यो नयाँ योजनाले करिब ४० प्रतिशत आप्रवासी प्रभावित हुने देखिएको छ, जो यी सहरमा काम गर्न र बस्न आउँछन्। पहिलेदेखि बस्दै आएका आप्रवासीका परिवारका सदस्य र कम्पनीको ‘स्पोन्सर’ मा बसेका कामदारमा भने यो नियम लागू नहुने बताइएको छ।

ठूलो क्षेत्रफल भएको अस्ट्रेलियामा छरिएका बस्ती छन्। यहाँको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत छ। यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा धेरै हो।

विश्वमै सबभन्दा तीव्र गतिमा विकास भइरहेका सहरमा सिड्नी, मेलबोर्न र ब्रिसबेन पर्छन्। यसो हुनुमा आप्रवासीको ठूलो भूमिका रहेको मन्त्री टजको भनाइ छ।

बढ्दो जनसंख्याका कारण अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरमा पूर्वाधार विकासमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो। यो क्रम बेलैमा नरोकिए सन् २०३० सम्ममा खर्च करिब ४० अर्ब पुग्ने मन्त्री टज बताउँछन्।

अति घनाबस्तीका कारण सामाजिक र आर्थिक चुनौती बढेको भन्दै अस्ट्रेलिया आउनेहरूलाई साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने योजना अघि बढेको हो।

सरकारी आँकडा अनुसार गत वर्ष झन्डै एक लाख ८० हजार जना ‘स्किल्ड माइग्रेन्ट भिसा’ मा अस्ट्रेलिया आएका थिए। कुनै कम्पनीले सम्बन्धित क्षेत्रमा दक्ष कामदार बोलाउने र सोही आधारमा त्यहाँ काम गर्न जान पाउने भिसा नै ‘स्किल्ड माइग्रेन्ट भिसा’ हो। गत वर्ष गएकामध्ये ७० प्रतिशत सिड्नी र मेलबोर्नमै बसेको सरकारी आँकडा छ।

यसरी काम गर्न गएका आप्रवासीहरू कहाँ बस्न र काम गर्न पाउने भन्ने हालसम्म नियम तोकिएको छैन। यही कारण एक–दुई ठाउँमा मात्र अत्यधिक चाप भएको अधिकारीहरूको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024