युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।
संघका विदेश नीति प्रमुख छोफेडेरिका मोगेरिनीले भनिन्, ‘हामी मानव तस्करीविरुद्ध युद्ध लड्न साँच्चिकै युरोपेली विवेक विकास गरिरहेका छौं।’ संघकी विदेश नीति प्रमुख मोगेरिनीले लक्जमबर्गमा भएको वार्तामा संकट समाधानका लागि १० बुँदे प्याकेज तयार पारिएको बताइन्।
संघको बिहीबार बस्ने बैठकमा प्याकेजबारे छलफल हुनेछ। संघले तर्जुमा गरेको नयाँ योजना अनुसार भूमध्यसागरमा उद्धार कार्य गरिरहेको फ्रोन्टेक्सलाई दिइने आर्थिक सहयोग बढाइएको र उद्धार गरिने सामुद्रिक क्षेत्रको दायरा बढाइने छ। संघले गए वर्षदेखि उद्धार कटौती गरेपछि आलोचना हुँदै आएको छ। संघले मंगलबार सार्वजनिक गरेको नयाँ योजनाअनुसार भूमध्यसागरमा गरिने गस्ती बढाइनुका साथै चुस्त पारिने र सेनाले मानव तस्करी गर्ने डुंगा नष्ट गर्ने छ।
यसबीच इटली प्रहरीले भूमध्यसागरमा भएको पछिल्लो डुंगा दुर्घटनाबाट बाँचेका दुई जना पक्राउ गरेको छ। प्रहरीले एक जना ट्युनिसियाली र चालक दलका अर्का सदस्य सिरियाली नागरिक पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मानव तस्करी गरेको आशंका ती दुई जनालाई पक्राउ गरिएको हो। इटलीका कोस्ट गार्डले दुर्घटनाबाट बाँचेका २७ जनालाई सोमबार सिसिलीको बन्दरगाहमा पुर्यासएका थिए।