अमेरिकामा एकै परिवारका चार नेपालीको हत्या, छिमेकी भन्छन्: ६ महिनाअघि नेपालबाट आएका थिए

9 Jun, 2025

अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या गरिएको छ। त्यहाँको मानासास पार्कमा रहेको एक घरमा बिहीबार राति दुई बालबालिकासहित चार नेपालीलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको स्थानीय प्रहरीले जानकारी दिएको छ।

घरधनीले भुइँतलाको अपार्टमेन्टमा भाडामा बस्दै आएका उनीहरूबारे प्रहरीलाई खबर गरेका थिए। ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठसहित २ वर्षीय बालक, ८ वर्षीया बालिका, फेला परेका छन्। प्रहरीले मृतक बालबालिकाको नाम सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ। छिमेकीहरूले मृतक परिवार करिब छ महिनाअघि नेपालबाट त्यहाँ पुगेको जानकारी दिएका छन्। स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको अपार्टमेन्टमा प्रहरी पुगेको थियो।

चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मानासास पार्क प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। शुक्रबार बिहान चोपर४ को भिडियोमा रूखहरूले घेरिएको टाउनहाउस क्षेत्रमा प्रहरीका गाडीहरू देखिएका छन्। यो क्षेत्र सेन्टरभिल रोड (रुट २८) बाट करिब दुई माइल पूर्वमा पर्छ।

प्रहरीले चारै जनाको शव पोस्टमार्टमका लागि मानासासको मेडिकल परीक्षकको कार्यालयमा पठाएको छ। छिमेकीहरूले यो घटनाले आफूहरू स्तब्ध भएको बताएका छन्। एक छिमेकीले भने, ‘मेरी ८ वर्षीया छोरी हरेक दिन ती ८ वर्षीया बालिकासँग खेल्थिन् जसलाई गोली हानियो।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024