अमेरिकाका नेपालीको माग : सरकारले टीपीएस लम्ब्याउन पहल गरोस्

9 Jun, 2025

२३ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेपछि करिब सात हजार नेपाली गैरकानुनी हुने जोखिम बढेको छ ।

सन् २०१५ मा नेपालमा भूकम्प गएपछि अमेरिकाले नेपाली नागरिकका लागि दिँदै आएको टीपीएसमा अमेरिकामा बस्ने अनुमति प्रदान गर्दै आएको थियो । त्यसबेला करिब २५ हजार नेपाली त्यो स्टाटसमा बस्दै आएकोमा अहिले त्यस्ता नेपालीको ७ हजारभन्दा धेरै रहेको न्यूयोर्कका वरिष्ठ कानुन व्यवसायी तथा गैरआवासीय संघ अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जीसीले जानकारी दिए ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा उल्लेख छ ।

१५ जुन २०२५ सम्म अमेरिकामा छिरिसकेका नेपालीलाई अमेरिकामै बस्न पाउने गरी सुविधा दिइएको थियो । त्यस्तो सुविधा लिने नेपाली २५ हजार पुगेकोमा अहिले साढे सात हजार जति रहेको अधिवक्ता जीसीले बताए ।

अघिल्लो पटक डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा धेरै नेपालीले टीपीएसबाट स्टाटस परिवर्तन गरेका थिए । ‘यसबीचमा पटक-पटक टीपीएसको म्याद थपिँदै आएको थियो । अहिले पनि यसको म्याद थपिएर डिसेम्बरसम्म पुग्ला भनेको म्याद थपिएन,’ उनले भने, ‘अब भने अमेरिकाले नेपाललाई त्यो स्टाटस दिन अमेरिकाले नचाहेको देखियो ।’

अमेरिकाले ५ अगस्तसम्म टीपीएस स्टाटसमै रहेका नेपालीलाई आफ्नो देश फर्कनुपर्ने उनले बताए । ‘दुई महिनाको म्याद दिइएको छ । यसबीचमा अन्य स्टाटसमा जान सक्दा यहाँ बस्न पाइन्छ, नत्र नेपाल फर्किनुपर्छ । होइन भने यहाँको बसाइ अवैधानिक हुन्छ,’ उनले भने ।

दुई महिनाको अवधि मात्रै बाँकी रहेकाले टीपीएको स्टाटसमा रहेका नेपालीलाई अर्को वैधानिक स्टाटसमा जान समय अभाव हुन भने सक्नेछ ।

नेपालीलाई यो स्टाटस निरन्तर गरिदिन नेपाल सरकारले अमेरिकालाई अनुरोध गरेको भए अमेरिकाले पुनः म्याद थपिदिन सक्थ्यो कि भन्ने जीसीको बुझाइ छ ।

‘हामाीले परराष्ट्र मन्त्रालयमा त्यसका लागि अनुरोध पनि गरेका हौं । नेपालका प्रधानमन्त्री वा राष्ट्रपतिको तहबाट अनुरोध भएको भए त्यसमा केही पुनर्विचार हुनसक्थ्यो होला,’ उनले भने ।

टीपीएसअन्तर्गत नेपालमा ७–८ हजार नेपालीले अमेरिकामा बस्न, काम गर्न र हिँड्न पाउने सुविधा पाइरहेकोमा उनीहरूको बसाइ अवधि लम्ब्याउन सरकारले पहल गर्दा राम्रै हुने जीसीको भनाइ छ ।

टीपीएसको स्टाटसमा विद्यार्थी तथा अवैधानिक बाटोबाट अमेरिका पुग्नेहरू धेरै रहेको त्यहाँ बसोबास गरिरहेकाहरू बताउँछन् ।

‘अदालतले नेपालको टीपीएसलाई निरन्तरता दियो भने यसले निरन्तरता पाउन सक्ला । अन्यथा, निरन्तर हुँदैन,’ वरिष्ठ अधिवक्ता जीसीले भने ।

अमेरिकाको गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११:५९ बजे अन्त्य हुने भनिएको छ ।

‘यदि तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’ सूचनामा भनिएको छ, ‘अमेरिका छाड्ने मनसाय भएमा तपाईं सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुहुन्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा समेत नेपाललाई टीपीएस खारेज गर्ने प्रक्रिया अघि बढेको थियो । त्यसबेला १२ महिनाभित्र नेपाल फर्किन समय सीमा तोकिएको थियो ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीलाई टीपीएस सुविधा दिएको थियो । त्यसबेला झन्डै २५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बताइन्थ्यो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अवैध रूपमा बसोबास गरिरहेकाप्रति कडा नीति लिइरहेका बेला नेपाली नागरिकहरू पनि यसमा परेका छन् । र, टीपीएसका आधारमा बस्दै आएका थप नेपाली समेत फर्काइने भएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024