‘अब २२ ठाउँमा फाइल पुर्‍याउनु पर्दैन’

16 Feb, 2014

२९ माघमा वैदेशिक रोजगार विभागका महानिर्देशकको कार्यभार सम्हालेका कृष्णहरि पुष्कर भन्छन्, “यसअघि जस्तो अब सेवाग्राहीले एउटै फाइल बोकेर २२ ठाउँमा पुग्नुपर्दैन ।”

विभागको नेतृत्वमा पुगेपछि त्यहाँका प्रमुख समस्या के रहेको पाउनुभयो ?  विभागमा बाहिर भनिए जस्तो समस्या रहेनछन् । फाइदा लिन खोज्नेहरूले समस्यालाई भयावह बनाएर प्रस्तुत गरेकाले त्यस्तो देखिएको रहेछ । अघिल्ला नेतृत्वले इमान्दारिता देखाएको भए समस्याहरू पहिले नै हल हुने रहेछन् भन्ने पनि लाग्यो ।

समस्यालाई त्यहाँका कर्मचारीले भयावह बनाएको कि बाहिरकाले ? दुवैले हुन् । जहाँका भए पनि उनीहरू वैदेशिक रोजगार विभागलाई भ्रष्टाचार, अपारदर्शिता र ढिलासुस्तीको पर्याय बनाएर सेवाग्राहीबाट रकम असुल्नेहरू हुन् । त्यहाँ जानी–जानी ‘लुपहोल’ हरू राखिएको रहेछ ।

बाहिरबाट समस्या सिर्जना गर्नेबाट विभागलाई कसरी बचाउनुहुन्छ ?  महानिर्देशकले कसैबाट व्यक्तिगत फाइदा लिन नखोजेपछि विभागले पनि अनावश्यक कुरा सुन्न, डराउन र दबाब सहन पर्दैन ।

तपाईंको कार्यकाल अरुको भन्दा कसरी फरक हुन्छ ?  विभागका कर्मचारीलाई मिहिनेती र इमान्दार कर्मचारी बनाउँछु । १ फागुनदेखि श्रम स्वीकृति नवीकरण बिहान ७ देखि साँझ ७ बजेसम्म गर्न सकिन्छ । १५ दिनभित्र सबै परिवर्तन देख्न पाउनुहुन्छ ।

तपाईंले यसअघि नै कार्यदलमा रहेर विभागभित्रका समस्या र समाधानका उपायको फेहरिस्त तयार पारिसक्नुभएको छ । त्यसलाई लागू गर्न सक्नुहुन्छ ?  यसअघि २२ ठाउँमा पुर्‍याउनुपर्ने फाइल एकैठाउँमा हस्ताक्षर गरे पुग्ने बनाएको छु । दुई सिफ्टमा काम शुरु भएकाले भीडभाड कम हुन थालिसकेको छ । कार्यदलको सुझावमध्ये प्राविधिक रुपमा समय लाग्ने बाहेक सबै लागू गरिसकेको छु ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024