s

युवतीलाई भारतको कोठीमा पुर्‍याएपछि पक्राउ परे होटेल सञ्चालक

Year of Publication: 22 February 2023 | Setopati

Published by: CESLAM

युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ।

होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

घोराहीकी २० वर्षीया युवतीलाई भारत चण्डीगढमा पुर्‍याएर बेचबिखन गरेको उनीहरूमाथि आरोप छ। राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले ती युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत पुर्‍याएको खुलेको प्रहरीले बताएको छ।

उनीहरूले चण्डीगढस्थित एक कोठीमा ती युवतीलाई बेचबिखन गरेको प्रहरीको दाबी छ। युवतीकी आमाले गत माघ २२ मा जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो।

भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको एसपी वीरबहादुर वलीले जानकारी दिए।

‘युवती त्यहाँ बस्दिनँ भनेपछि बन्धक बनाएर यौनकार्यमा लाग्न बाध्य पारेको भन्ने खुलेको छ,’ उनले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’

युवतीको उद्धार भएसँगै ती होटल सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूलाई राखेको भारतको उक्त कोठीमा अन्य युवती पनि रहेको ती युवतीले प्रहरीलाई जानकारी गराएकी छन्।

पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

Published on: 22 February 2023 | Setopati

Link

Back to list

;