s

युवाकै कारण बर्बादीमा देश

Year of Publication: 24 June 2024 | Onlinekhabar

Published by: CESLAM

इतिहासलाई अध्ययन गर्ने हो भने हरेक राजनीतिक आन्दोलनमा युवाहरूको योगदान अतुलनीय र महत्वपूर्ण देखिन्छ। १९९६ सालको राणाविरोधी आन्दोलन, २०३६ र २०४६ सालको जनआन्दोलन, २०५२ सालमा सुरु भएको माओवादी युद्ध, मधेश आन्दोलन र पछिल्लो २०६२-६३ सालको जनआन्दोलनमा हजारौं शहीद, घाइते, अपाङ्ग र बेपत्ता, लाखौं विस्थापित हुनपुगे। यी आन्दोलनमा युवाहरूको योगदान अतुलनीय थियो।

मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउन मुख्यतः राजनैतिक दलहरू र विशेषगरी दलभित्रका युवाहरूको त्याग, बलिदान र समर्पण मुख्य छ। अझ भनौं युवा त्याग र बलिदानको उपज नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो।

नेपालको संविधान २०७२ मार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा परिभाषित गरियो। त्यस पश्चात् राजनैतिक वृत्तमा एक भाष्य निर्माण गरियो।

मुलुकमा राजनैतिक आन्दोलन सफल भएको र अबको राजनैतिक कार्यदिशा विकास र समृद्धिमा केन्द्रित हुने रटान सबै दलहरूले आ–आफ्ना राजनैतिक घोषणापत्र मार्फत प्रस्तुत गरे। नागरिक समाज, बुद्धिजीवी र प्रबुद्ध वर्गले पनि यस कुराको खुलेरै समर्थन गरे।

नागरिकमा पनि सकारात्कता देखिन्थ्यो, विशेषगरी युवा वर्गमा। लामो समयसम्म राजनैतिक आन्दोलन र प्रदर्शनका कारण सुस्ताएको विकास र अर्थतन्त्र बौरिने आश थियो।तर चीनको वुहानबाट सुरु भएर विश्वका १८८ देशमा फैलिएको कोभिड–१९ महामारीको कारण मुलुकले नयाँ आर्थिक र सामाजिक संकटको सामना गर्नुपर्‍यो। यसको बहुआयामिक असरले नछोएको कुनै क्षेत्र रहेन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्क अनुसार महामारीले नेपालमा मात्र १२ हजारभन्दा बढीको ज्यान लियो।

यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘कोभिड-१९ ले नेपालको श्रमबजारमा पारेको प्रभाव’ विषयक अध्ययन प्रतिवेदनले कोरोना महामारी तथा बन्दाबन्दीका कारण नेपालमा ३७ लाखको रोजगारी गुमेको तथ्य प्रकाशित गरेको छ।

अर्कोतर्फ राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्याङ्क अनुसार २०७२ सालको भूकम्पको कारण ८ हजार ८९१ जनाभन्दा बढीको ज्यान गुमेको, २२ हजार ३०० भन्दा बढी घाइते र ३५ लाख मानिस घरबारविहीन भएका थिए र लाखौंको रोजगारी गुमेको थियो। सो भूकम्पका कारण हजारौं पहिरोहरू पनि गएका छन् जसले समुदाय र महत्वपूर्ण पूर्वाधारहरूमा पनि ठूलो क्षति पुर्‍याएको छ।

यी दुई घटनाका कारण मुलुकको अर्थतन्त्र गम्भीर समस्यामा पर्‍यो। धेरै कलकारखाना, उद्योग, व्यापार बन्द हुनपुगे। लाखौंको रोजगारी पनि गुम्यो। नागरिकमा चरम निराश बढ्दै गयो।

मुलुकले करिब दर्जन जति ठूला राजनैतिक आन्दोलन भोगिसकेको छ। हजारौंको मृत्यु, कैयौं बेपत्ता, हजारौं घाइते, कैयौं परिवार विस्थापित छन्। राजनीतिक आन्दोलनले चरण-चरणमा थला परेको मुलुक बितेको दश वर्षमा कोरोना महामारी र भूकम्पको ठूलो चोटले झनै प्रताडित बन्यो।

विभिन्न अध्ययन र शोधपत्रहरूले विभिन्न मुलुकमा राजनीतिक पद्धति परिवर्तन पश्चात् देश राजनीतिक स्थिरतातर्फ उन्मुख भएको निचोड प्रस्तुत गरेका छन्। इतिहासको कुनै कालखण्डमा प्राकृतिक विपत्ति वा ठूलो द्वन्द्व भोगेका मुलुकहरू अर्को कालखण्डमा तीव्र आर्थिक विकास र समृद्धि गर्न सफल भएका धेरै उदाहरण उल्लेख गरेका छन्।

प्रत्येक घटना/दुर्घटनाको पछाडि सिकाइ र अवसरहरू हुन्छन्। तर हाम्रो मुलुकले इतिहासमा जुनै संकट भोगे पनि त्यसको सम्भावनाको कुनै अवसर लिन सकेन। यसको पछाडि विभिन्न कारण छन्। मुख्यतः अहिलेको युवा पुस्ता प्रमुख कारण हो।

हिजो, राजनैतिक आन्दोलनमा त्याग र बलिदानका लागि युवा पुस्ताबीच हानथाप देखिन्थ्यो। व्यक्तिगत र पारिवारिक जीवन त्यागेर आन्दोलनको अग्रदस्तामा युवाहरूको ठूलो संख्या थियो।

युवामा भोक र शोकको कुनै पर्वाह थिएन। फलस्वरूप विभिन्न कालखण्डका राजनैतिक आन्दोलन सफल रहे र राजनैतिक उपलब्धिलाई संविधान मार्फत संस्थागत गरियो। यसकारण राजनैतिक आन्दोलन हिजोका युवाहरूको त्याग र तपस्याकै कारण सफल भएको मान्न सकिन्छ।

जब मुलुक आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्‍यो, योगदान गर्ने युवाहरू व्यक्तिगत स्वार्थ र राजनैतिक कित्ताकाटमा विभाजित हुनपुगे। विशेषगरी दुई सोच युवामा देखियो। एक विदेश पलायन हुने, अर्को राजनैतिक दलको आवरणमा लुटतन्त्र मच्चाउने।

ग्रामीण भूगोल र न्यून आर्थिक स्तर भएका युवाहरूको रोजगारीको गन्तव्य अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया बनेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्र रोजगारीका लागि ३ लाख ४३ हजार ४०५ जनाले मुलुक छोडेका छन्।

यसैगरी पढेलेखेका र आर्थिक स्तर सबल भएका युवा उच्च शिक्षाको गन्तव्य अमेरिका, अस्ट्रेलिया र क्यानडा बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ८५ हजार ७५ जना विदेशिएका छन्। ६ महिनामा उच्च शिक्षा अध्ययनका नाममा ५८ अर्ब ९५ करोड १ लाख रूपैयाँ बाहिरिएको हो।

बहु-विश्वविद्यालयको अवधारणा बमोजिम हाल दर्जनभन्दा बढी विश्वविद्यालयहरू र आधा दर्जन जति प्रतिष्ठानहरू सञ्चालनमा छन्। विश्वविद्यालय र प्रतिष्ठानहरूमा रहेका सामुदायिक, आंगिक र निजी गरी जम्मा १ हजार ४३२ क्याम्पसहरू सञ्चालनमा रहेका छन् ।

हिजो ४० सिटमा भर्नाका लागि हजारौं आवेदन पर्ने विषयहरूमा आज विद्यार्थी पाउन मुस्किल छ। यसले हाम्रा विश्वविद्यालयको विश्वसनीयता र गुणस्तरमा प्रश्न उब्जाएको छ।

अर्कोतर्फ चालीस–पचास लाखको सम्पत्ति देखाएर विदेश पुगेका युवाहरूको गन्तव्य विश्वविद्यालय र अध्ययन हैन, काम र दाम बन्न पुगेको छ । विश्वविद्यालयको शुल्क, विदेश जाँदाको ऋण र त्यहाँको बसाइ खर्च धान्नका लागि जस्तोसुकै काम गर्न बाध्य छन्।

घरमा सामान्य काम नगरेका हाम्रा युवायुवती त्यहाँ गएर के काम गर्छन्, कसैलाई थाहा छैन । विदेशबाट फर्किएकाहरूले पनि यो काम गर्छौं भनेर कसैका सामु भन्दैनन् । काम र बसाइको बारेमा भन्न प्रायःले हिच्किचाउँछन्। यसले विदेशमा नेपाली र उनीहरूको दैनिकी कसरी गुज्रिएको छ, सजिलै बुझ्न सकिन्छ।

गत चुनावमा काङ्ग्रेस, एमाले र माओवादीले मात्र वाचा गरेको संख्यालाई हेर्ने हो भने पाँच वर्षभित्र मुलुकमा बेरोजगारी अन्त्य हुने देखिन्छ। नेपाली कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजार, एमालेले ५ लाख र माओवादीले २० लाख रोजगारी सिर्जना गर्ने वाचा गरेको थियो। उक्त वाचाको करिब दुई वर्ष बितिसकेको छ, तर कहाँ कतिलाई रोजगारी सिर्जना गरियो कुनै तथ्य छैन। यसले हाम्रा राजनैतिक पार्टी र नेतृत्व कति गैरजिम्मेवार छन् भन्ने पुष्टि हुन्छ।

शिक्षा वा रोजगारी जुनै माध्यमबाट भए पनि विदेशिनु हाम्रो बाध्यता हो कि रहर? किन मुलुकमा नै खोजिंदैन विकल्प ?

घरखेत बन्धक राखेर रोजगारी र उच्च शिक्षाका लागि विदेश पठाउन पचास लाख खर्च गर्ने परिवारले मुलुकमा नै त्यही रकम लगानी गरेर उनीहरूलाई अगाडि बढ्न किन प्रेरित गर्दैनन् ? मुलुकमा नै युवा रोक्नभन्दा पनि वैदेशिक यात्रालाई सहज बनाउन सरकार किन लागिराखेको छ ? यी प्रश्नहरूले परिवार, समाज र मुलुक नै जेलिएको छ।

लाखौं मानिसलाई रोजगार सिर्जना गर्न सक्ने (विराटनगर जुटमिल, गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता उद्योग, बालाजु कपडा उद्योग, हिमाल सिमेन्ट, हरिसिद्धि इँटा टायल उद्योग, काँचो छाला संकलन तथा बिक्री उद्योग, रघुपति जुट मिल्स, नेपाल चिया विकास उद्योग) लगायत दर्जनौं उद्योगहरू बेचिएको छ। कोही किन बोल्दैन ? कोही बोल्नेवाला छैन किनकि उसको दल मिसिएको छ, उसको नेता मिसिएको छ।

अहिले देशभित्र युवाशक्तिको अभाव छ । हिजो रोजीरोटीले गाउँका गाउँ रित्तिएका थिए । आज शिक्षाको नामले शहरहरू रित्तिएका छन्। गाउँ र शहर दुवैमा मलामी र जन्ती जाने युवाहरू भेटिंदैनन्। संस्कार र संस्कृति रित्तिएको छ।

गाउँबस्तीका कृषि व्यवसाय संकटग्रस्त हुन थालेका छन् । शहरका कलकारखाना र उद्योगहरू बन्द भएका छन्। कृषिदेखि उद्योग सञ्चालनका लागि छिमेकी मुलुकबाट श्रमिकहरू आयात गर्नुपरेको छ। वैदेशिक रोजगारी र उच्चा शिक्षाले मुलुकको श्रम बजार थलिएको छ।

अर्कोतर्फ देश नछाड्ने युवाहरू राजनीतिमा छन्, कोही युवा दस्तामा त कोही विद्यार्थी संघ संगठनमा। औपचारिक कार्यक्रम र बहसमा निकै राष्ट्रसेवी र मुलुकको समृद्धिको लागि आफ्नै मुलुकमा त्याग, बलिदान र योगदान गर्ने बताउँछन्। तर वास्तविकता पृथक् छ।

राजनीतिक पहुँचको आडमा तस्करका मतियार बनेका छन्। वडाध्यक्षदेखि संघका मन्त्रीको वरिपरि रहेर शक्तिको आडमा तस्करी र अवैधानिक काम गर्छन्। कर्मचारीको सरुवा, बढुवा, तस्करीबाट आफ्नो दैनिकी चलाउँछन्। कुनै देखिने पेशा, रोजगारी वा पैतृक सम्पत्ति नभएका कथित राष्ट्रसेवक युवाहरूको उच्च तहको जीवनयापन छ। न त दलहरूले यसको अनुसन्धान गरेका छन् न त सरकारले नै। उल्टै राजनैतिक संरक्षण छ।

बाहिर आएका अधिकांश भ्रष्टाचारका घटनामा युवा नेताहरूको संलग्नता देखिएको छ। सामाजिक सञ्जालको दबाबका कारण केहीलाई अनुसन्धानको दायरामा ल्याइए पनि प्रक्रिया पुर्‍याएर छोडिएको छ। राजनीतिमा भिज्न र टिक्न निर्वाचन प्रणाली महँगो हुने भएकोले पनि राजनीति गर्ने अधिकांश युवा तस्कर, गुण्डा, बिचौलियाको रूपमा प्रयोग भएका छन्।

अन्त्यमा, आज एक युवा राजनीतिप्रति घृणा व्यक्त गर्दै, दल र नेताहरूलाई धिक्कार्दै विदेश पलायन भएको छ। अर्को युवा राजनीतिलाई नै लुटिखाने पेसा बनाएर सच्चा देशप्रेमी बनिटोपलेको छ। युवाका दुवै सोच र क्रियाकलापका कारण देश अप्ठ्यारोमा पुगेको छ।

वैदेशिक रोजगारी र शिक्षाले व्यक्ति र परिवारको आर्थिक अवस्था मजबुत त होला तर देश बन्नेवाला छैन। युवाको राजनैतिक बिचौलियाको रोलले व्यक्ति र दल बलियो होला तर मुलुक बन्नेवाला छैन।
युवाको काँधमा देश विकासको उत्तरदायित्व र आवश्यकता हुन्छ। खास–खास चरणमा युवाहरूको त्याग, बलिदान र योगदान मुलुकका लागि अत्यावश्यक हुन्छ।

मुलुक बनाउने जिम्मा युवाहरूकै हो। तर हाम्रा युवाहरू पन्छिएका छन्। युवाले समस्या देखाएर भाग्ने हैन, समाधान गर्ने हो। हिजोको राजनैतिक आन्दोलनहरू युवा बलिदान र त्यागकै कारण सफल भएका हुन्। तर देशमा भ्रष्टाचार, बेथिति र अविकास आजका युवाकै कारण मौलाएको हो।

अहिलेका विकसित मुलुकहरू कुनै पनि रेमिट्यान्स र दातृराष्ट्रको सहयोगले समृद्ध बनेका हैनन्। आफ्नै युवाको रगत र पसिनाले समृद्ध बनेका हुन्। देश समृद्ध बन्दा समाज र परिवार पनि समृद्ध बन्छ। यसैले युवाहरूले सोच्ने बेला आएको छ।

Published on: 24 June 2024 | Onlinekhabar

Link

Back to list

;