s

युवा फसाउने पासो

Year of Publication: 8 July 2022 | Annapurna Post

Published by: CESLAM

बेरोजगार नेपाली युवालाई विदेश लैजाने र ठगी गर्ने एउटा बहाना भिजिट भिसा हो। घुमफिरको बहानामा भिजिट भिसा लगाएर लैजाने अनि काममा लगाइदिन्छु भन्ने र ठग्ने प्रवृत्तिको सिकार गोरखाको भीमसेन थापा गाउँपालिकाका युवा पनि भए। कोभिडको बेला देशमै रोजगारी गुमेको वा पाउन मुस्किल भएको समय थियो। त्यस्तो घडीमा जसले जहाँ लगेर काम लगाइदिन्छु भने पनि पत्याउन बाध्य र विवश थिए युवा। ठगहरूलाई बहाना मिलिहाल्यो। २०७७ माघमा गोरखाका ३० युवालाई गाउँकै व्यक्तिले दुबई र साउदी अरब पुर्‍याए। त्यहाँ पुगे पनि न वर्क परमिट पाए न त वर्क भयो। त्यसमाथि झन् नेपाल फिर्ता आउन पनि अझै पाएका छैनन्। तिनका दुःख त्यो बिरानो देशमा कसले सुनिदिने ? परिवारसँग सम्पर्कमा आउन पाएका छैनन्।

आखिर खोजीनीति घरपरिवारबाटै गर्नुपर्‍यो। जसै सुरक्षित आप्रवासन परियोजना (सामी) मा उजुरी पर्‍यो अनि खुलासा भयो कि भिजिट भिसामा दुबई र साउदी अरब पुर्‍याइएका युवा ठगिए। अझै कोठामा थुनिएर उकुसमुकुस बसिरहेका छन्। परिवारलाई थाहा भएको यत्ति हो। अब उद्धार कसरी गर्ने भन्ने व्यथाले परिवार पिरोलिएका छन्। सामीका अधिकारीहरूका अनुसार भने यसरी भिजिट भिसामा गएर थुनिने, ठगिनेको संख्या त्यतिमात्रै पक्कै छैन। बिदेसिनु र जसरी पनि बिदेसिनुमा युवाको रहरभन्दा धेरै बाध्यता छ। मुलुकमा रोजगारी र स्वरोजगारीको कुनै वातावरण नभएपछि जसै युवा विदेश जान भनेर लोभिन्छन्।

भिजिट भिसा पनि युवालाई फसाउने एउटा त्यस्तो पासो बन्छ। भिजिट भिसा त आफू घुमफिर गर्न आफैंले व्यक्तिगत प्रयासमा लिन सकिन्छ। तर, जागिरको खोजीले रन्थनिएका युवाहरूलाई त्यो के थाहा ? त्यस्तो रनाहा छामेका दलालले युवालाई चारा फालिहाल्छन् र पासोमा पार्छन्। अनि यता बेरोजगार युवा उता गएर पनि फेरि बिल्लीबाठमा परेपछि तावाबाट उम्केर भुंग्रोमा परेजस्तो हुन्छन्। यी सारा दुःखको मूल कारण हाम्रो राज्य हो। जसले युवालाई आफ्नै भूमिमा पसिना सिञ्चने कुनै मौका दिँदैन। वातावरण दिँदैन। जबरजस्ती परदेश धकेल्छ। होइन भने कुनै पनि देशको नागरिकलाई रहर हुँदैन, परदेशमा पसिना बगाउने। भनिन्छ नि परदेशको रोटी स्वदेशको ढुंगाभन्दा साह्रो हुन्छ।

पहिलो त राज्यले युवालाई जुनसुकै बहानामा विदेश पुर्‍याउने दलाललाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। अर्काे, युवालाई सचेत पार्नुपर्छ कि भिजिट भिसामा गएर काम गर्न कुनै पनि देशमा पाइँदैन। श्रम स्वीकृत नलिई काम गर्नु अर्काे गैरकानुनी काम हो। गैरकानुनी काम न स्वदेश न विदेश, कहीँ पनि गर्नै हुँदैन। यस्तो सचेतना बढाउनु नै छ। त्यो राज्यकै दायित्व हो। श्रम स्वीकृति नलिई र मान्यता प्राप्त एजेन्सीबाहेकबाट वैदेशिक रोजगारीमा जानै हुँदैन। यति सामान्य जानकारी नहुनु युवाको दोष होइन, दोष त उनीहरूलाई बेरोजगार राख्ने हाम्रो मुलुकको संरचनाको हो। राज्यको बागडोर सम्हालेकाहरूको हो। जबकि संविधानमै रोजगारीको हकलाई मौलिक अधिकारमा समेटिएको छ। हालत भने कठैबरी भन्न लायकमात्रै छ।

समाधान भनेको युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्नु हो। रोजगारी सिर्जना गर्न उद्योगधन्दा र कलकारखानाका लागि उचित कानुनी र अरू वातावरण चाहिन्छ। जबकि नेपाल त्यस्तो मुलुकमा पर्छ जहाँ उद्योग वा कम्पनी खोल्नै घुस दिनुपर्छ। यो कुराले देश अन्तर्राष्ट्रिय जगत्मा बदनाम छ। उद्योगधन्दा र कलकारखाना खोल्न विदेशी लगानी आकर्षित नहुनुको कारण त्यो एउटा हो। दर्ता प्रक्रियामै पनि महिनौं लाग्छ। विदेशी लगानी आकर्षित गर्छ। कैयौं मुलुकले विदेशी लगानीकर्तालाई एकद्वारबाट सेवा दिन्छन्, हाम्रोमा उल्टै घुस माग्छन् कर्मचारी। कमिसन माग्छन्, राजनीतिक दलका नेता, कार्यकर्ता। यी तमाम बेथिति र दुर्दशाको मुक्ति भनेको मुलुकलाई प्रणालीमा चलाउनु र देशको शासन सत्ताको बागडोर इमान्दार, निष्ठावान् र दृढइच्छाशक्ति भएको योग्य नेतृत्वमा पुग्नु हो। जसका लागि जनताले निर्वाचनलाई उचित मौकाको रूपमा सदुपयोग गर्नुपर्छ। होइन भने युवाहरू कहिले भिजिट भिसाको पासोमा पर्छन् त कहिले अरू नै।

Published on: 8 July 2022 | Annapurna Post

Link

Back to list

;