s

यौन उत्पीडनका अपुष्ट खबरहरूले डालस नेपाली समुदाय तरंगित, पीडितलाई खुलेर बाहिर आउन समुदायको आग्रह

Year of Publication: 25 May 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

बाल जोशी

सामाजिक कार्यहरू गरेर सधैँ चर्चामा रहने अमेरिकाको डालस नेपाली समुदाय अहिले यौन उत्पीडन ( सेक्सुअल ह्र्याश्मेन्ट) का केही घटनाहरूले तरंगित बनेको छ।

स्थानीय केही व्यापारीहरूको नाम समेत जोडिएर आएका अपुष्ट खबरहरूले डालस नेपाली समुदायलाई चिन्तित र आक्रोशित दुवै बनाएको छ ।
 
सतहीरुपमा बाहिर आएका सेक्सुअल ह्र्याश्मेन्टका सात भन्दा बढी आरोपहरूले समाजका केही ‘प्रतिष्टित’भनिएकाहरुको चरित्रमा प्रश्न उब्जाउनुका साथ साथै स्थानीय व्यापारिक समुदायलाई समेत लज्जित बनाएको छ।
 
नेपालबाट बिधार्थी भिसामा आएका नेपाली चेलीहरूको बाध्यतामा फाइदा उठाउँदै केही स्थानीय नेपाली मालिकहरूले आफ्नो पसलमा काम गर्ने चेलीहरूमाथि यौन उत्पीडन र यौन शोषण गरेका खबरहरू सामाजिक संजालहरुमा छताछुल्ल छन्।
 
सेक्सुअल ह्र्याश्मेन्टका खबरहरू बाहिर आउन थाले पछि स्थानीय नेपाली समाज टेक्सस (एनएसटी)ले पीडितहरूलाई न्याय दिलाउन र पीडकलाई उचित कारबाहीको प्रक्रिया अघि बढाउँन कदम चालेको छ। संस्थाका सभापति सुमन थापाले पीडितहरूलाई यथासम्भव एनएसटीलाई सम्पर्क गर्न आग्रह गर्दै पीडकलाई आवश्यक कारबाहीकोलागी आवश्यक सम्पूर्ण कार्यहरू गर्ने बताए। ” यो अत्यन्त संवेदनशील विषय हो, हामीलाई पीडित दिदी बहिनीहरूले आफ्नो नाम नभनिकन पनि घटनाको विवरण दिनु भयो भने हामी १५ मिनेट भित्रमा कारबाहीको प्रक्रिया आगाडी बढाउँछौ ” सभापति थापाले सेटोपाटीलाई भने।
 
एनएसटीकि माहिला संयोजक आइषा ओझाले आफ्नो फेसबुक मार्फत ‘हाम्रो समुदायमा धेरै उत्पीडनका घटनाहरू रहेको’ उल्लेख गर्दै एनएसटीले पीडितहरूलाई न्याय दिन पीडकलाई नछोड्ने उल्लेख गरेकी छिन्।
 
स्थानीय ब्याबसायीहरुको संस्था नेप्लिज च्याम्बर अफ कमर्स, डालसका सभापति मनोज सिग्देलले पीडितहरूलाई न्याय दिलाउन च्याम्बरले आफ्नो सम्पूर्ण श्रोत र साधनको प्रयोग गर्ने बताए। ” हाम्रा दिदी बहिनीहरू हामीले नै चलाएका व्यापारिक संस्थानमा सुरक्षित नहुनु भनेको अत्यन्त लज्जास्पद विषय हो, यी खबरहरू पुष्टि हुने आधारहरू छन् भने पीडित दिदी बहिनीहरू बाहिर आउनु पर्छ ” सिग्देलले सेतोपाटीलाई भने।
 
महिला हिंसा तथा मानवअधिकारका विषयमा कार्य गर्ने संस्था ‘अधिकार’की प्रमुख नर्बदा क्षेत्रीले यौन उत्पीडनका सिकार भएका दिदी बहिनीहरूका लागी थुप्रै कानुनी उपचारका उपायहरू रहेको बताउँदै आफ्नो संस्थाले पीडितलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। ‘अधिकार’ अमेरिकाको न्युयोर्क सहरबाट सञ्चालित छ।
 
धेरै जसो राम्रा कामहरूको जस बटुल्ने डालस नेपाली समुदायले आफ्ना चेलीहरूलाई आफ्नै आँगनमा सुरक्षित राख्न नसकेको खबरले स्थानीय अगुवाहरु अत्यन्त चिन्तित छन्। केही खराब प्रवृतिहरुका कारणले सिङ्गो समुदाय माथि नै प्रश्न सिर्जना भएकाले यी पीडकहरुको यथासम्भव खोजी गरी उनीहरूलाई सामाजिकरुपमा बहिष्कारका साथ साथै कानुनीरुपमा आवश्यक कारबाहीको प्रक्रिया आगाडी बढाउनु पर्छ भन्ने मान्यता डालस नेपाली समुदायको छ।
 
Published on: 25 May 2018 | Setopati

Back to list

;