s

यस्तो छ कतार संकटले नेपालीमा पारेको असर

Year of Publication: 30 July 2017 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

सन्तोष घिमिरे
 
चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको 'डिमान्ड' गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।
 
नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । 'केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्', कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले अन्नपूर्णसँग भने । तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन ।
 
राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए । 'कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन', उनले भने ।३० नेपालीको रोजगारी गुम्यो तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ ।कतारका नागरिकको लगानीमा साउदी अरेबियामा सञ्चालित कृषि र पशुपालन व्यवसायमा कार्यरत ३० भन्दा बढी नेपाली कामदारको रोजगारी गुमेको छ । उक्त संख्या अरू बढी पनि हुन सक्ने उनीहरूको भनाइ छ । ती नेपाली पशुपालन र कृषिलगायत पेसामा संलग्न थिए । उनीहरूमध्ये केही ट्रक ड्राइभर पनि छन् । कतार र साउदीबीच कूटनीतिक सम्बन्धविच्छेदको अवस्था छ । कतारले साउदीमा लगानी गर्ने व्यवसायी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
 
साउदीस्थित नेपाली दूतावासका उपप्रमुख आनन्द शर्माले कतारी नागरिकले सञ्चालन गरेका कम्पनीमा केही नेपालीको रोजगारी संकटमा परेकोबारे बुझ्ने काम भइरहेको जानकारी दिए । 'हामी ती नेपाली साउदीमा कहाँ कुन अवस्थामा छन् पत्ता लगाएर उद्धार गर्न प्रयास गर्नेछौं', उनले भने ।कतारका नागरिकले चलाएका कम्पनीमा नेपाली समस्यामा परेको सम्बन्धमा दोहास्थित नेपाली दूतावासले साउदीस्थित नेपाली दूतावासलाई जानकारी गराएको उनले बताए । 'यसरी समस्यामा परेका नेपालीले हामीसँग सम्पर्क गरेका छैनन् । आफ्नै ढंगले उनीहरूको जानकारी लिन प्रयासमा छौँ', शर्माले अन्नपूर्णसँग भने ।
 
कतारमाथि नाकाबन्दी लगाउँदै आएको प्रमुख मुलुक साउदीले कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै कतारमाथि हवाई र जमिनबाट आवागमनमा रोक लगाएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले ५ जुनदेखि कतारमाथि नाकाबन्दी गरिरहेका छन् । कतारले आतंकवादलाई प्र श्रय दिएको आरोप ती मुलुकले लगाए पनि उसले त्यसको खण्डन गरेको छ ।
 
श्रम स्वीकृति लिनेको संख्या घट्यो
वैदेशिक रोजगार विभागका अनुसार असारमा कतार जान स्वीकृत लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ ।मासिक औसत ९ हजार नेपालीले कतार जान स्वीकृति लिने गरेकोमा असारमा ५५ सयले स्वीकृति लिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए ।'कतार संकटका कारण श्रम स्वीकृति लिने कामदारको संख्या घटेको हुन सक्छ', उनले भने, 'म्यानपावर कम्पनीले केही कतारी कम्पनीले कामदारको माग गर्न छाडेको हामीलाई बताउने गरेका छन् ।'
 
खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क विच्छेदको घोषणा गरेपछि त्यहाँका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासलाई सरकारले एक महिनाअघि निर्देशन दिएको थियो । दूतावासले नियमित रूपमा मन्त्रालयलाई कतार संकटबारे अवगत गराइरहेको परराष्ट्रमा खाडी मामिला हेर्ने सहसचिव तीर्थराज वाग्लेले बताए । अहिलेसम्म कतारमा नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको उनले बताए ।
 
'कतारमा चार लाखभन्दा बढी नेपाली छन् । उनीहरूलाई कुनै मानवीय संकट आइपर्न सक्छ । त्यसैले यसबारे हामीले त्यहाँस्थित राजदूतलाई नियमित जानकारी गराउन र सतर्क रहन भनेका छौं । खाडीस्थित सबै दूतावाससँग हामी सम्पर्कमा छौं', उनले भने । कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहाँ हाहाकार हुन सक्ने र त्यसले मानवीय संकट उन्पन्न हुन सक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले दूतावासलाई भनेको छ ।
 
कतारले भारत, पाकिस्तान, टर्की र इरानलगायत मुलुकबाट खाद्यान्न लगायत बस्तु आयात गरिरहेको छ । राजदूत कोइरालाले भने आफूले नियमित कतारी अधिकारीसँग सम्पर्कमा रही परिस्थितिको जानकारी लिइरहेको बताए ।'कतारी अधिकारीले नेपालीसहित आप्रवासी कामदारलाई कुनै समस्या नपर्ने आश्वस्त गराएका छन्' उनले भने । कोइरालाले महिनौंसम्म कतारमा नाकाबन्दी भए त्यसले अर्थतन्त्रमा समस्या पर्न गएको खण्डमा त्यसको प्रत्यक्ष असर नेपालीलाई पनि पर्नेचाहिँ बताए ।
 
साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन र यमनमा ठूलो संख्यामा नेपालीहरू छन् । कतारमा सन् २०२२ मा हुने फिफा वल्र्डकपका लागि रंगशाला निर्माणलगायत पूर्वाधारका परियोजना निर्माणमा नेपाली छन् । कतारले आतंकवादलाई प्र श्रय दिएको भन्दै ऊसँग साउदी अरेबिया, इजिप्ट युएई र बहराइनले कूटनीतिक सम्बन्धविच्छेद गरेको घोषणा गरेसँगै खाडी क्षेत्रमा संकट आउनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कतार खाडी क्षेत्रमा सानो तर समृद्ध मुलुक मानिन्छ ।
 
कतारले आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) र अल काइदालाई प्रश्रय दिएको तथा खाडी मुलुकमा अस्थिरता उत्पन्न गरेको अरू खाडी मुलुकले आरोप लगाए पनि कतारले भने सो आरोपको खण्डन गरेको छ । साउदीको प्रमुख विरोधी मुलुक इरानसँग कतारले सम्बन्ध बढाएको आरोपसमेत ती मुलुकले कतारमाथि लगाएका छन् । कतार संकट हल गर्न अमेरिका, फ्रान्स, जर्मनीलगायत मुलुकले प्रयास गरे पनि सार्थक हुन सकेको छैन ।
 
नेपालसँग समर्थन माग्दै दुवै पक्ष
कतारलाई नाकाबन्दी गर्ने मुलुक र कतार दुवैले नेपालसँग आफ्नो पक्षमा उभिदिन आग्रह गरेका थिए । काठमाडैाँस्थित कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी कतारमा रहेका नेपालीको रोजगारीमा समस्या नआउने बताएका थिए ।
 
उनले कतारमाथिको नाकाबन्दीविरुद्ध बोलिदिन नेपाललाई घुमाउरो ढंगले आग्रह गरेका थिए । त्यसको एक सातापछि इजिप्ट, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका राजदूतले परराष्ट्रमन्त्री महरा र गृहमन्त्रीसँग भेटी कतारमाथि नाकाबन्दी लगाउनुपरेको कारणबारे अवगत गराएका थिए । उनीहरूले घुमाउरो रूपमा नाकाबन्दीको समर्थन गरिदिन आग्रह गरेका थिए । परराष्ट्रमन्त्री महराले नेपाल यस खालका क्षेत्रीय संकट शान्तिपूर्ण वार्ताबाट हुनुपर्ने जवाफ दिएका थिए । बरु मन्त्री महराले कतार संकटको समाधानका लागि नेपालले मध्यस्थता गर्न सक्ने राजदूतसमक्ष बताएका थिए।
 
- कतारमाथि आतंकवादलाई प्रश्रय दिएको आरोप
- साउदी अरेबिया, इजिप्ट युएई र बहराइनद्वारा कूटनीतिक सम्बन्धविच्छेद
- कतारमाथि नाकाबन्दी
- विदेशी कामदारको 'डिमान्ड' मा कमी
- स्वीकृत भइसकेको कामदार पनि लिन अस्वीकार
- कतारमा चार लाखभन्दा बढी नेपाली
- ३० भन्दा बढी नेपालीको रोजगारी गुम्यो
- असारमा ५५ सयको मात्रै श्रम स्वीकृति
- औसतमा ९ हजार नेपालीले स्वीकृति लिन्थे
 
Published on: 30 July 2017 | Annapurna Post

Back to list

;