s

भिएलएनको सञ्चालक श्रेष्ठलाई ललितपुरमा अर्को मुद्दा चलाउने तयारी

Year of Publication: 15 June 2018 | Kantipur

Publication Type: NEWS

Published by: होम कार्की

झन्डै तीन अर्ब बिगो मुद्दामा १० लाख धरौटी माग
२ करोड १४ लाख बिगो मुद्दामा ५० लाख धरौटी माग
 
होम कार्की
 
मलेसिया जाने कामदारसँग दुई अर्ब ८६ करोड रुपैयाँ ठगी गरेको अभियोग लागेका मलेसिया भिएलएनका सञ्चालक राम श्रेष्ठलाई ललितपुर जिल्ला अदालतलमा ठगीको आरोपमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।
 
जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी लिई बुधबार छाडिदिएको श्रेष्ठलाई ललितपुर जिल्ला अदालतमा मुद्दा दयार गर्न लागिएको हो। धरौटीमा छुटे लगत्तै पक्राउ गरी काठमाडौं प्रहरीले श्रेष्ठको कार्यालय दर्ता ललितपुरमा रहेको भन्दै थप अनुसन्धान गर्न ललितपुर प्रहरीलाई बुधबार साँझ जिम्मा लगाएको हो। ‘भिएलएनको कार्यालय ललितपुरमा पनि छ। हामी अहिले अनुसन्धान गरिरहेका छौं,’ ललितपुर प्रहरी प्रवक्ता नारायण चन्दले कान्तिपुरलाई भने।
 
भिएलएनले मलेसिया जाने कामदारको राहदानी संकलन गर्ने र संकलित राहदानीलाई भिसा लगाउन मलेसियन दूतावास पुर्‍याए वापत प्रति कामदार ६ हजार ७ सय रुपैयाँ लिँदै आएको थियो। यो सेवा भने लाजिम्पाटस्थित कार्यालयबाट भइरहेको थियो।
 
भिएलएनले ‘कम्प्युटर सफ्टवेयर उत्पादन गरी बिक्री वितरण गर्ने, स्वदेशी तथा विदेशी कम्पनीको एजेन्सी लिई सफ्टवेयर सम्बन्धी सेवा उपलब्ध गर्ने, स्वदेशी तथा विदेशी सफ्टवेयर प्रयोग गरी नेपाल सरकार तथा विदेशी नियोगमा सेवा प्रदायकको कार्य गर्ने, विदेशी नियोगको स्वीकृतिमा भिसा, सफ्टवेयर सम्बन्धि सेवा उपलब्ध गराउने, सम्बन्धित सेवा प्रदायकसँग बाह्य श्रोत प्रयोग सम्बन्धि सम्झौता गरी सफ्टवेयर सम्बन्धी सूचना प्रदान गर्ने र सूचना प्रविधि सम्बन्धि अध्ययन तथा तालिम प्रदायककको कार्य गर्ने’ उद्देश्य राखेर कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको थियो।
 
तर, भिएलएनले यी उद्देश्यसँग सम्बन्धीत मन्त्रालयसँग स्वीकृति नदिई मलेसिया जाने कामदारसँग भिसा प्रक्रियाको नाममा रकम असुली गर्दै आएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी कार्य गैरकानुनी भएको भन्दै कारबाही गर्ने निर्णय गरेको हो। सरकारी वकिल कार्यालयले श्रेष्ठ विरुद्ध दुई अर्ब ८६ करोड १५ लाख बिगो र ५ वर्ष कैद सजाय माग राखी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। यसमा सुनुवाई हुँदै न्यायधीश अमृतबहादुर बस्नेतले १० लाख धरौटी लिएर छाड्न आदेश दिएका थिए।
 
अदालतले निकै कम धरौटीमा छाडेको भन्दै कानुन मन्त्री शेरबहादुर तामाङले असन्तुष्टी जनाएका छन्। जिल्ला अदालतले मलेसिया प्रकरणसँग जोडिएको बायोमेट्रिक प्रणाली मार्फत स्वास्थ्य परीक्षण गर्ने एक स्वास्थ्य संस्थाका सञ्चालक देवान राई विरुद्ध २ करोड १४ लाख विगो दाबी गरिएकोमा अदालतले ५१ लाख रुपैयाँ धरौटी मागेको थियो। मन्त्री तामाङले झन्डै तीन अर्ब ठगीका अभियुक्तलाई १० लाख रुपैयाँमा छाड्ने कार्यमाथि छानविन गर्न न्यायपरिषदलाई अनुरोध गर्ने तयारी गरेका छन्।
 
Published on: 15 June 2018 | Kantipur

Back to list

;