s

भिजिट भिसामा खाडी र अफ्रिकी देश जान महिलालाई कडाइ

Year of Publication: 18 November 2019 | Onlinekhabar

Published by: CESLAM

सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो।

अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण देशमा जाँदा अध्यागमन विभागले पासपोर्ट, भिसा, बोर्डिङ पास, आतेजाते टिकट, प्रायोजक भए उसको पत्र, होटेल बुकिङको प्रमाणित पत्रसमेत माग्ने छ ।

यसबाहेक महिलाका हकमा विदेशमा रहेको आफन्त वा साथमा जान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात, गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागजात आवश्यक पर्ने छ ।

ट्राभल एजेन्सीबाट घुमफिरमा जान लागेको भए त्यसको पत्र र लिखित स्वघोषणा गरेपछि मात्र उनीहरुलाई अनुमति दिने गरी नीति परिवर्तन गरिएको छ ।

कुन देश जाँदा के–के कागजात ?

महिला वा पुरुष जुनसुकै व्यक्ति पनि पर्यटक भिसामा जाँदा अध्यागमनले हेर्ने कागजात थप गरिएको छ । अमेरिका, क्यानाडा, यूरोप, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया भ्रमणमा जाँदा पासपोर्ट, भिसा, आतेजाते टिकट र बोर्डिङ पास अनिवार्य हुनेछ । यसबाहेक स्पोन्सर लेटर, होटेल बुकिङ वा साथमा १ हजार डलरसम्म बोकेको प्रमाण देखाउनुपर्ने छ । ती देशमा आफु कालोसुचीमा नरहेको प्रमाणित हुने पत्रसमेत अध्यागमनले माग्ने भएको छ ।

चीन, थाइल्याण्ड, अफ्रिकी मुलुकबाहेक नेपालीका लागि अनअराइभल भिसा पाउने मुलुक तथा भारत र बंगलादेशबाहेक सार्कका अन्य देशको भ्रमणमा जाँदासमेत सोही प्रावधान राखिएको छ । भारत जाने क्रममा भने राहदानी वा नागरिकता, बोर्डिङ पास हेरिनेछ । भारत जाँदा त्यहाँबाट कन्टेक्टिङ फ्लाइटमा अन्य मुलुकमा जाने गरी भिसा लिएको भए त्यसको अध्यागमनले परीक्षण गर्ने भएको छ ।

अध्ययन/भाषा वा इन्टर्नसीप कार्यक्रममा जाँदा

अध्ययनका लागि जाँदा पासपोर्ट, भिसा, बोर्डिङ पास, एड्मिसन वा अफर लेटर, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र र बास खर्चको व्यवस्थापन वा बसोबास कहाँ, के कसरी हुने हो भन्ने खुलासा भएको कागजात देखाएउनुपर्नेछ ।

तालिममा जाँदा पनि पासपोर्ट, भिसा, बोर्डिङ पास, टू वे टिकट, स्पोन्सर लेटर, होटेल बुकिङमा १ हजार डलरसम्म रकम साथमा बोकेको प्रमाण पेश गर्नुपर्छ । त्यसबाहेक निमन्त्रणा पत्र र आफ्नो परिचयपत्र समेत अनिवार्य बोक्नुपर्ने प्रावधान ल्याइएको छ ।

श्रम भिसामा जानेको हकमा पासपोर्ट, भिसा, अन्तिम गन्तव्यसम्म पुग्ने गरी जारी भएको बोर्डिङ पास, श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिने भएको हुनुपर्ने भएको छ । यूरोपमा भने श्रम स्वीकृति अनिवार्य गरिएको छैन ।

Published on: 18 November 2019 | Onlinekhabar

Link

Back to list

;