s

‘भिजिट भिसा’ले घर न घाट

Year of Publication: 9 October 2023 | Nagarik

Published by: CESLAM

झापाकी ४० वर्र्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्। कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्।

विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर ब्युरोको एक कुनामा बसिरहेकी थिइन्। छोराछोरीको पढाइ र घरको बाध्यताले उनी विदेश जान थालेकी थिइन्। परिवारको जिम्मेवारीले उनी साह्रै चिन्तित थिइन्। त्योभन्दा ठुलो पीडा पतिको माया र साथ पाउन नसक्दा भएको उनले बताइन्। दुई छोराकी आमा उनलाई आफैंले प्रयोग गर्ने टेलिफोन नम्बर पनि थाहा छैन।

विमानस्थलबाट फर्काइएपछि उनी रोइरहेकी छन्। उनका आँखाका डिल सुन्निएका छन्। बिदेसिन नपाउँदा उनको चित्त दुखेको छ।

ब्युरोले गैरकानुनी रूपमा विदेश जाँदा जोखिममा परिने जानकारी उनलाई गराएको छ। तर उनी भने फेरि पनि कसरी विदेश जान पाइएला भन्ने ध्याउन्नमा छिन्। ब्युरोबाट राहदानीलगायत अन्य कागजपत्र पाए फेरि दसैंअगाडि बिदेसिने उनको सोच छ।

घरमा पति, सासूससुरा र छोरा भए पनि आर्थिक भार भने उनकै थाप्लोमा छ। १७ वर्षदेखि घरको आर्थिक जिम्मेवारी उनैले समाल्दै आएकी छिन्। सासूससुरालाई चुरोट खर्च जुटाइदिने मात्र नभएर पतिको रक्सीको गिलास पनि भरिदिनुपर्ने बाध्यता उनको छ।

‘पतिलाई रक्सी खान मैले पैसा दिनु पथ्र्यो। पैसा नदिए आफूले कुटाइ खानु पथ्र्यो,’ ती महिलाले भनिन्, ‘सासूससुरालाई हेर्नुपर्ने कर्तव्य हो, त्यो हेराैंला केही भएन तर मैले पतिबाट पाउने माया कहिल्यै पाइनँ। घरको सबैको टेन्सन मैले भोग्नुपर्छ। पतिबाट साथ र सहयोग पाएा परिवारलाई सुखी राख्न पनि आनन्द हुन्थ्यो।’

अगाडि थपिन्, ‘घरलाई स्वर्ग बनाउने बुहारीले हो भन्छन्। त्यो त एक उखान मात्र रै’छ। वर्षौं घरका लागि भनेर संघर्ष गरियो तर अहिलेसम्म सुखका दिन आएनन्। सधैं रूवावासी। केको स्वर्ग बनाउन सक्नु घरलाई।’

घरपरिवारको चिन्ताकै कारण गाउँकै एक दिदीमार्फत ती महिला दुबई जान लागेकी थिइन्। उनका अनुसार घरमा विदेश जाँदैछु भन्दा पतिबाहेक अरू कोही खुसी भएनन्। विदेश जान एक साता पहिले घरबाट काठमाडौं आएकी ती महिलाले गाउँकै दिदीले चिनजान गराएको भरमा एक सहजकर्ताले कागजपत्र मिलाइएदिएको बताइन्।

‘घरमा सकीनसकी दुःख गर्दा पनि तिमीलाई कहिल्यै हाँसोको दिन आएन। दुबईमा घरको काम गर्दा तलबसँगै मालिकले छुट्टै पैसा पनि दिन्छन्। विदेश जाऊ । यसरी बुढाको कुटाइ खाएर पनि के बस्छौ,’ गाउँकै दिदी भन्नेलाई उद्धृत गर्दै ती महिलाले भनिन्।

‘हामीलाई एयरपोर्टबाट फर्काएको आज दुई दिन भयो। विदेश जान कागजात नमिलेको भन्दै हामीलाई फर्काएको खबर घरमा पुर्‍याइदिएछन्,’ बिहीबार ती महिलाले भनिन्, ‘छोराहरू घर आउनुहोस् भन्छन्। तर पतिले कहिले विदेश उड्छेस् भनेर सोध्छन्। छिटो मिलाएर विदेश जानू भन्छन्। कसरी विदेश छिर्नु खै ? काठमाडौंमा यस्तो महँगी छ, बस्ने ठाउँ छैन, साथमा एक सुको छैन।’

दुःख बिसाउने क्रममा ती महिलाले भनिन्, ‘ए नानी! तपाईंले चिनेको एयरपोर्टमा कोही छैनन्। यो कागजात सक्कली हो भनेर पास दिन लगाउनू न, धर्मै हुुुन्छ। यति काम जसरी पनि गरिदिनू न। मलाई दुबई छिर्नु छ। घरमा किचकिचले मर्नुभन्दा बरू विदेशको व्यथा सहन तयार छु।’

ब्युरोमा भेटिएकी ती महिलाले त्यहाँ पुग्ने सबैसँग हारगुहार माग्दै थिइन्। ‘घर आउनुपर्दैन, जसरी हुन्छ विदेश जानू’ भनेर पतिले दबाब दिएको बताउँदै ती महिलाले आफू अहिले ठुलो समस्यामा परेको बताइन्। ती महिलालाई जसरी पनि विदेश पुग्नु छ। तर सोचेझैं सहज छैन बिदेसिन।

मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो सोझासिधा नेपालीलाई कामका लागि दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा पठाउने गरेका छन्। भिजिट भिसामा विदेश गएका नेपालीले लुकेर काम गर्दा विभिन्न जोखिम बेहोर्नुपरेको छ।

दसैं अगाडिसम्म सहजकर्ताले कागजपत्र सक्कली बनाइदिए दुबई जाने तिनको सोच छ।

नक्कली कागजपत्रका आधारमा विदेश जान घरबाट हिँडेका महिला र पुरुषलाई विमानस्थलमा पुगेपछि ब्युरोले फर्काउने गरेको छ। विदेशमा गएर जोखिममा नपरुन भनेर ब्युरोले यसो गरेको हो।

यसरी विमानस्थलबाट फर्काइनेमा नवलपुरकी अर्की ३८ वर्षीया महिला पनि छिन्। ती महिला पनि घरमा कसैको साथ र सहयोग नपापछि बिदेसिन लागेकी थिइन्। पतिले १० वर्षअघि दोस्रो बिहे गरेपछि दुःखका दिन सुरु भएको ती महिलाले बताइन्।

ती महिलाका तीन छोरी छन्। बिदेसिन खोज्नुको कारण छोरीहरूको राम्रो भविष्यका लागि भएको हो। पतिको माया जवानीमै गुमाएकी उनलाई छोरीको चिन्ताले सताएको छ। गाउँमा ज्यालामजदुरी गर्ने ती महिलालाई आफ्नै माइजूले दुबई गएर घरको काम गर्दा राम्रो कमाइ हुन्छ भनेर त्यतै जान भनेकी रहिछन्।

‘दसैंको मुखमा भिसा आयो भनेर एजेन्टले भन्यो। दुबई जान घरबाट बिदावारी भएर काठमाडौं आएँ,’ ती महिलाले भनिन्, ‘तर विदेश नपुग्दै हामी समातियौं। उड्न एयरपोर्ट पुग्दा कर्मचारीले तपाईंको कागजात सबै फेक भने। आफूले एक कक्षा पढ्या होइन। के सक्कली, के नक्कली। एयरपोर्टबाहिरको गेटनिर हातमा सबै कागजात समाएर एजेन्ट गयो। गाउँमै भएको भए छोरीहरूले हेर्थे होला। अहिले यसरी अलपत्र पर्नुपरेको छ।’

घर फर्किन पनि मन नमानेको बताउँदै ती महिलाले भनिन्, ‘कुन मुख लिएर जानु घर पनि। गाउँका साराले फलानी विदेश पुगी भन्दै झ्याली पिटेका छन्। छोरीहरू ममी घर आउनुस् भन्छन्। कसरी जानु घर, दसैं आइसक्यो।’

गाउँमा मरिमेटेर काम गर्दा पनि सामान्य कमाइ पनि हुन नसकेको ती महिलाको गुनासो छ। ‘आठ घन्टा काम गरेर जम्मा पाँच सय आम्दानी हुन्छ। जति खटिएर काम गरे पनि पैसै नहुने। यत्तिको दुःख विदेशमा गर्दा पैसा हुन्छ भनेर जान थालेकी हुँ। यसपटक जान दिएनन्। जसरी पनि विदेश जानु छ,’ ती महिलाले भनिन्। झापाकी महिलाझैं उनको पनि जसरी हुन्छ विदेश जाने सोच रहेछ।

विमानस्थल पुग्ने धेरैलाई आफू कुन देश जान लागेको हो, गएर के काम गर्नुपर्ने हो भन्नेसम्म थाहा नभएको ब्युरोले जनाएको छ। बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई विमानस्थलबाट फर्काउने गरिएको ब्युरोले जनाएको छ।

मुलुकका विभिन्न स्थानबाट विदेश जान आएका सोझा महिला र पुरुषका कागजात सहजकर्ताले बनाइदिने गरेका छन्। नक्कली कागजातका भरमा विदेश पुगेका सयौं नेपाली अलपत्र परेको ब्युरोको भनाइ छ।

भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन ब्युरोले फर्काउने गरेको छ। ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ।

नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ। तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको संख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए। उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन्। उनले भने, ‘वैदेशिक रोजगारीमा भिजिट भिसामा जानु हुँदैन। यसरी जाँदा समस्यामा परिन्छ। यसरी जाँदा धेरै मानिस बेचबिखनमा पनि परेका छन।’ भिजिट भिसामा विदेश गएर काम गर्दा धेरैले दुःख पाएको पंगेनीले बताए।

मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो नेपाली युवालाई दुबई, कतार, साउदी अरेबिया, कुबेतलगायत मुलुकमा पठाइरहेका छन्। भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली कामका लागि लुकेर बस्ने गरेको पंगेनीले बताए।

‘सरकारले तोकेको मापदण्डभित्र रहेर र प्रक्रिया पुर्‍याएर मात्र विदेश जान परामर्श दिने गरेका छौं,’ पंगेनीले भने।

खाडी मुलुकमा बसेर एजेन्टको काम गर्ने व्यक्तिले नेपाली एजेन्टसँग सम्पर्क गरी मान्छे खोजेर राहदानी बनाउनेदेखि उडाउनेसम्म गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। ‘एजेन्टले आर्थिक अवस्था न्यून भएका मान्छे खोजेर पासपोर्ट बनाइदिने, गाउँबाट काठमाडौंसम्मको यातायात खर्च बेहोर्ने, होटल खर्च दिने, एयरलाइन्सको टिकट किनिदिनेसम्म गरेको देखिएको छ,’ उनले भने, ‘भिजिट भिसामा दुबई, कुबेत, ओमन, जोर्डनलगायत मुलुकमा घरेलु कामदार पठाउने गरेको पाइएको छ।’

यसरी खाडी मुलुक पुर्‍याएपछि मात्र उनीहरूबाट एजेन्टले सबै खर्च असुल्ने गरेका छन्। सम्बन्धित देशमा बोलिने भाषा नजान्दा र सीप नहुँदा भिजिट भिसामा खाडी मुलुक जानेले यातना सहनुपर्ने, यौनशोषण खेप्नुपर्ने, शारीरिक तथा मानसिक दबाब भोग्नुपर्ने पंगेनीले बताए। ‘भिजिट भिसामा गएर दुःख पाएका धेरैले उद्धार गरिदिनुपर्‍यो भनेर सूचना गरेका छन्,’ उनले भने।

कानुनतः कुबेत, ओमन, साउदी अरेबिया, कतार, लेबनानलगायत मुलुकमा घरेलु कामदार लैजान पाइँदैन। तर पनि अनेक तरिकाले ती देशमा जाने–पठाउने क्रम रोकिएको छैन।

न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतीत गरेको अभिलेखबाट प्रमाणित व्यक्ति मात्र भिजिट भिसाका लागि योग्य हुन्छ। विदेश जान उच्च माध्यमिक तहको औपचारिक शिक्षा वा सोसरहको प्राविधिक–व्यावसायिक सीप दक्षता हासिल गरेको र गन्तव्य मुलुकमा बोलिने भाषाको राम्रो ज्ञान लिएको हुनुपर्छ।

त्यस्तै गन्तव्य मुलुकमा रहेका नेपाली नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका, सरकारी कामको सिलसिलामा जाने कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्था एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संघसंस्थाका प्रतिनिधि, व्यावसायिक कम्पनी÷फर्मका सञ्चालक÷व्यवसायी पनि भिजिट भिसाका लागि योग्य हुन्छन्।

एकाघरका नातेदारका साथमा जाने तथा एकाघरका व्यक्तिको आमन्त्रण र प्रायोजनमा पनि भिजिट भिसामा जान पाइन्छ। भिजिट भिसामा खाडी मुलुक जान चाहनेले १ हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउँदा रोकटोक हुँदैन।

‘भिजिट भिसामा म्यानपावर कम्पनीले सेटिङ गरेर पठाउँछन्। यो दलाली हो। तर भिजिट भिसामा पठाउने अन्तिम निकाय सरकार हो। सरकारको पनि अध्यागमन विभाग हो।,’ वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेले भने। विभिन्न संघसंस्थाले जनचेतना बढाउन भन्दै पाँचतारे होटेलमा कार्यक्रम गरे पनि समस्या सुल्झाउन भने पहल नगरेको उनले बताए।

सबै ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीलाई सरकारले कडाइ गर्न सके मात्र भिजिट भिसाको आवरणमा युवालाई काम गर्न विदेश पठाउने धन्दा रोक्न मद्दत पुग्ने उनको भनाइ छ। युरोपेली मुलुकमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनले बताए।

Published on: 9 October 2023 | Nagarik

Link

Back to list

;