s

भिजिट भिसाको सेटिङलाई कर्मचारीको छुट्टै मोबाइल

Year of Publication: 25 October 2019 | Naya Patrika

Published by: CESLAM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट संगठित रूपमै भिजिट भिसामा मानव तस्करी हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ । बिचौलियासँग मिलेर हरेक सिफ्टमा सेटिङ मिलाएर मानव तस्करी हुँदै आएको आयोगले जनाएको छ । आयोगले अध्यागमनका ११ अधिकृत र दुई कम्पयुटर अपरेटविरुद्ध मुद्दा दायर गरी थप अनसन्धान थालेको छ । आयोगले मुद्दा दायर गरेका १३ जनाले सेटिङकै लागि गोप्य मोबाइल बोकेका थिए । सेटिङमा प्रस्थान अनुमति दिनुपर्ने व्यक्तिहरूको नाम त्यही मोबाइल एसएमएस आउने गर्दथ्यो । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर उनीहरूले आवश्यक कागजपत्रसमेत नहेरी प्रस्थान अनुमति दिने गर्दथे । आयोगले २४८ जनालाई त्यसरी सेटिङमा उडाएको खुलेपछि २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिसकेको छ ।

अध्यागमन अधिकृतकहरू कमलप्रसाद पराजुली, नरहरि बराल, दिनेश केएम., तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईँ¸ जगदीशचन्द्र नेपाली र कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो । उनीहरूमध्ये पराजुलीलाई पक्राउ गरेर मुद्दा दायर गरिएको थियो । विशेष अदालतको आदेशमा उनी बिहीबार तीन लाख धरौटीमा छुटेका छन् । अन्यलाई फरार बनाएर मुद्दा दायर गरिएको थियो । उनीहरूले सेटिङमा पठाएका व्यक्तिहरूको नाम नै सफ्टवेयर इन्ट्री नगर्ने छानबिनमा खुलेको छ । सेटिङकै लागि कतिपय अवस्थामा सफ्टवेयरसमेत बिगार्ने गरेका थिए ।

गोप्य मोबाइलबाट खुल्यो पोल

गत १५ साउनको बिहानी सिफ्टमा पराजुली डिउटीमा थिए । डिपार्चरको १३ नम्बर डेस्कमा उनको जिम्मेवारी थियो । अख्तियारको अनुसन्धानअनुसार पासपोर्टमा छाप लगाउनुअघि उनले सर्भरको तार निकाल्छन् र लाइनमा भएकामध्ये नाम हेरेर २० महिलालाई अगाडि बोलाएर भिजिट भिसामा खाडी देश जाने अनुमति दिन्छन् । जुन विषयले अध्यागमन कार्यालयभित्रै चर्चाको विषय हुन्छ । माथिल्ला अधिकारीसम्म उजुरी पुगेपछि छानबिन सुरु हुन्छ । अख्तियारमा समेत उजुरी परेपछि अध्यागमन विभागले उनलाई आयोगलाई बुझाएको थियो । त्यसरी सर्भरको तार निकालेको सिसिटिभी फुटेजकै आधारमा छानबिन सुरु भएको थियो । सुरुमा अनुसन्धान सोही दिनको सेटिङमा केन्द्रीत थियो । तर, जब डेराको दराजमा लुकाएको मोबाइल फेला पर्छ, त्यसले अध्यागमनमा हुने संगठित सेटिङको संकेत मिल्दछ ।

सेटिङमा बोर्डिङ पास

भिजिट भिसाको सेटिङमा नेपाल एयरलाइन्सका कर्मचारीमाथि समेत आयोगले छानबिन थालेको छ । अधिकृत पराजुलीसँगको गिरोहमा आबद्ध देखिएका विजय अधिकारी र भोजराज कटवालमाथि आयोगले छानबिन थालेको हो । भिजिट भिसामा खाडी जानेहरूसँग सरकारले तोकेअनुसार कागजपत्र तथा डलर नभएमा एयरलाइन्सले नै बोर्डिङ पास दिन पाउँदैन । तर, कतिपय अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले सेटिङमा बोर्डिङ पास उपलब्ध गराएका थिए । पराजुलीले नै नेपाल एयरलाइन्सका कर्मचारीहरूले आफुलाई सहयोग गर्दै आएको बताएका छन् । विगतमा पनि यस्तो घटनामा एयरलाइन्सका कर्मचारी पक्राउ परिसकेका छन् । त्यस्तै, सोही गिरोहमा अध्यागमन अधिकृतहरू मित्रदेव लम्साल, सुरेश श्रेष्ठ, युवराज परियार, यामबहादुर बुढा र मोहन केसीविरुद्ध समेत आयोगले भिटिज भिसामा सेटिङ गराएको आरोपमा छानबिन गरिरहेको छ । एयरलाइन्सका कर्मचारी तथा थप व्यक्तिमाथि दोस्रो चरणमा मुद्दा दायर गरिने अख्तियारका एक अधिकारीले बताए ।

Published on: 25 October 2019 | Naya Patrika

Link

Back to list

;