s

वैदेशिक रोजगार अपारदर्शी चार महिनामा १४ करोडभन्दा बढी ठगी भएको दाबी

Year of Publication: 12 December 2015 | Annapurna Post  

Publication Type: NEWS

Published by: CESLAM

नियमन अत्यन्त फितलो हुँदा वैदेशिक रोजगारीमा जाने युवाको करोडौं रुपैयाँ ठगी भए पनि अहिलेसम्म फिर्ता हुन सकेको छैन। वैदेशिक रोजगार पारदर्शी नहुँदा म्यानपावर कम्पनीले जाने कामदारसँग मोटो रकम असुलेका हुन्।
 
आकर्षक मुलुकमा काममा पठाइदिने भन्दै चालू आर्थिक वर्षको चार महिनामा मात्रै बिदेसिने तयारी गरेकाको दलाल र म्यानपावर कम्पनीले १४ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका छन्। 
 
मोटो रकम लिएर दलाल फरार भएका छन् भने कतिपय म्यानपावर कम्पनीले रकम फिर्ता गर्न आनाकानी गर्दै आएका छन् । नाकाबन्दीले राज्य संयन्त्रसमेत थप फितलो भएका बेला वैदेशिक रोजगारीमा ठगी बढेको हो।
 
आकर्षक मुलुकमा काम गर्न पठाइदिने भन्दै दलाल र केही म्यानपावर कम्पनीले चालू आर्थिक वर्षको कात्तिकसम्ममा १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ। 
 
करोडौं रुपैयाँ ठगी भएको उजुरी परे पनि विभागले अहिलेसम्म प्राथमिकतासाथ छानबिन गरी पीडितलाई बिगो भराउन सकेको छैन। सुस्त कार्यशैली र कतिपय म्यानपावर कम्पनीको प्रभावका कारण पीडितको उजुरीमा छानबिन गरी कारबाही हुन नसकेको पीडित पक्षको भनाइ छ।
 
संस्थागत र व्यक्ति दुवै प्रकारका ठगी पछिल्ला महिनामा अझ बढेको विभागले जानकारी दिएको छ । चालू आर्थिक वर्षको कात्तिकसम्ममा म्यानपावर कम्पनीबाट भएका ठगीका मात्रै चार सय ५० वटा उजुरी परेका छन्। 
करोडौं रुपैयाँ ठगी भएको उजुरी परे पनि वैदेशिक रोजगार विभागले अहिलेसम्म उजुरीमा प्राथमिकतासाथ छानबिन गरी पीडितलाई बिगो भराउन सकेको छैन। सुस्त कार्यशैली र कतिपय म्यानपावर कम्पनीको प्रभावका कारण ठगी गर्नेमाथि कारबाही हुन नसकेको हो।
 
यी उजुरीमा छानबिन गरी दोषीमाथि कारबाही गर्ने क्रम सुस्त पाइएको छ । यही अवधिमा दलाल वा व्यक्तिगत रूपमा विदेश पुर्‍याइदिने भन्दै गरिएका ठगीका जम्मा एक सय २६ वटा उजुरी परेका छन्। उजुरी संख्या म्यानपावरमा निकै बढी भए पनि ठगी रकमको हिस्सा भने व्यक्तिगत र संस्थागतमा लगभग बराबरी नै छ।
 
वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउनदेखि कात्तिकसम्ममा व्यक्तिगत ठगीमा सात करोड १८ लाख ६६ हजार रुपैयाँको ठगी भएको उजुरी परेको छ । यही अवधिमा संस्थागत ठगीको सात करोड ३१ लाख ८७ हजार रुपैयाँ गरी कुल १४ करोड ५० लाख ५३ हजार रुपैयाँको ठगी उजुरी परेको हो। 
 
ठगीका उजुरीमा अदालसम्म मुद्दा पुर्‍याउने प्रवृत्ति पनि निकै कम छ। गएको चार महिनामा विभागले व्यक्तिगत ठगीमा एक करोड ५३ लाख रुपैयाँ ठगी गर्नेबाट बिगो भराएको छ । यसैगरी संस्थागतमा एक करोड ३७ लाख ९५ हजार रुपैयाँ बिगो भराएको छ।
 
म्यानपावर कम्पनीले चार महिनामा ठगी गरेका चार सय ५२ वटा मुद्दा परेको भए पनि वैदेशिक रोजगार विभागले जम्मा दुई मुद्दामात्र अदालतमा दायर गरेको छ। व्यक्तिगततर्फ जम्मा एक सय २६ वटा उजुरी परेकामा ८२ वटा मुद्दा अदालतमा दर्ता भएका छन्।
 
वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर ४० लाख नेपाली पुगेका छन्। म्यानपावर कम्पनीबाट भएका ठगीमा उजुरी गरी रकम फिर्ता गराउन सजिलो हुने भए पनि व्यक्तिगतमा निकै समस्या हुने वैदेशिक रोजगार विभागका अधिकारीको भनाइ छ। 
 
दलाललाई दिएको रकमको रसिद तथा अन्य प्रमाण नहुने, दलाल फरार हुँदा सम्पर्क गर्न कठिन हुने भएको हो। अवैध तरिकाबाट जाने व्यक्तिले विदेशमा पुगेपछि कामका क्रममा मृत्यु भएमा वा अंगभंग भए पनि क्षतिपूर्ति पाउँदैनन्। 
 
सरकारी स्वीकृति लिएर गएकाहरूले भने विदेशमा मरेमा वा अंगभंग भएमा क्षतिपूर्ति रकम पाउँछन् । काम लगाउने कम्पनीलाई पनि क्षतिपूर्ति भराउन पहल गर्न सकिन्छ।नेपाली कामदारको प्रमुख रोजगारी गन्तव्य खाडी मुलुक र मलेसिया हुँदै आएको छ। 
 
मलेसियामा मात्रै ६ लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन् । खाडी र मलेसियामा तुलनात्मक रूपमा थोरै तलबमा जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता छ।
 
Published on: 12 December 2015 | Annapurna Post
 

Back to list

;