s

युक्रेनबाट विस्थापित युवा भन्छन्- ‘१२ लाख ऋण टाउकामा बोकेर कसरी फर्कूं ?’

Year of Publication: 2 March 2022 | Kantipur

Published by: CESLAM

होम कार्की

काठमाडौँ — द्वन्द्वग्रस्त युक्रेनको राजधानी किभ छाडेको सातौं दिन सिन्धुपाल्चोकका वीरबहादुर पाख्रिन स्लोभाकियाको राजधानी ब्रातिसलाभास्थित नेपाली रेस्टुरेन्टमा मंगलबार बिहान ६ बजे पुगे । यो रेस्टुरेन्ट सीमाबाट झन्डै ५ सय ३० किलोमिटर दूरीमा छ । ब्रातिसलाभा पुग्दासम्म उनले झेल्नुपरेको मानसिक तनाव र सास्तीको भने कुनै मापन छैन । 

युक्रेनबाट विस्थापित भएर स्लोभाकिया पुगेका नेपाली ।

जयप्रकाश शिवाकोटीले आफ्नो रेस्टुरेन्टलाई युक्रेनबाट विस्थापित नेपालीका लागि सेल्टर बनाएका छन् ।स्लोभाकिया प्रवेश गरेका नेपालीलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी नेपाली रेस्टुरेन्टसम्म निःशुल्क रूपमा ल्याउने प्रबन्ध मिलाइएको छ । ती संस्थाको समन्वयमा पाख्रिनसहित १५ जनालाई ब्रातिसलाभा पुर्‍याइएको हो । ‘हामीले किभ छाडेपछि बल्ल आरामले खाना खाने अवसर जुर्‍यो । आराम गर्न पाएका छौं,’ पाख्रिनले कान्तिपुरसँग फोनमा भने, ‘ठूलो तनावबाट मुक्त पाएका छौं ।’ 

उनीहरूले स्लोभाकिया प्रवेश गरेपछि भने केही तनाव झेल्नुपरेन । १५ घण्टा युक्रेनको सीमा पालो कुरेपछि मात्रै सोमबार राति युक्रेन पार गर्न सफल भएको उनले बताए । ‘हामी ५ दिन त लभिभ आएर बस्यौं । त्यहाँबाट पोल्यान्डको मेडिका सीमामा जान खोज्यौं । त्यहाँ पुगेका नेपालीले केही सुविधा छैन भन्यो । ३० किलोमिटर वरबाटै लाइन बस्नुपरेको बताए । छिर्न मुस्किल परेको खबर दिए,’ उनले भने, ‘हामी गाडी रिजर्भ गरेर हुजभोरतर्फ आयौं ।’

किभबाट ५५० किमि यात्रा गरेर लभिभ पुगेका उनीहरूले हुजभोरको सीमा पुग्न अर्को २ सय ६६ किमि पार गरेका थिए । युक्रेनले १८ देखि ६० वर्षसम्मका पुरुष नागरिक (युक्रेनी) लाई बाहिरिन कडाइ गरेपछि जाम र विवाद परिरहन्थ्यो । ‘हाम्रो अगाडि हजारौं युक्रेनी र विदेशी थिए । सय जना युक्रेनीलाई पठाएपछि अन्य देशको १० जनाको मात्रै पालो आउँथ्यो,’ उनले भने, ‘एकदमै हूलमूल थियो । लाइनको सिस्टम थिएन । लगेज लिएर अगाडि बढ्ने अवस्था थिएन । कतिपय साथीहरूले त्यहीं लगेज छोडेर झोला मात्रै बोकेर आए ।’

लाइनमा बसेकाहरूलाई सुरक्षाकर्मीले माथिबाट खानाको पोका र राति ओढ्न ब्लाङ्केट फालिदिन्थे । ‘उफ्रीउफ्री समात्नुपर्थ्यो । एउटा ब्लाङ्केट ६–७ जनाले ओढ्थ्यौं । राति १ बजे हिउँ पर्ने हुँदा एकदमै चिसो हुन्थ्यो,’ उनले भने, ‘खाना नपाउनेहरू खाना खोज्न जाने अवस्था थिएन । शौचालय जाने अवस्था थिएन ।’

युक्रेनपट्टिको सीमा पार गरेपछि स्लोभाकिया मात्रै होइन, पोल्यान्डतर्फ पनि सहज छ । ‘पोल्यान्डतर्फको अध्यागमन पार गरेलगत्तै सहयोग दिने विभिन्न संस्थाको स्टल छ । कपडा नभएकाहरूलाई दिन न्यानो कपडा, टोपी, पञ्जाहरू राखिएका छन् । तानीतानी खाना खुवाइरहेको देखिन्छ । निःशुल्क सिम वितरण गरिन्छ,’ मेडिका सीमा पुगेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुशन बर्देवाले कान्तिपुरसँग भने, ‘महिलाका लागि सिटी बस निःशुल्क छ । नेपालीलाई लिन पोल्यान्डमा भएका नेपाली समुदायहरू सक्रिय रूपमा देखिन्छन् ।’

युक्रेन मामिला हेरिरहेको जर्मनीस्थित नेपाली दूतावासका अनुसार मंगलबारसम्म २९८ जना नेपालीले युक्रेनको सीमा छाडिसकेका छन् । जसमध्ये २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् । स्लोभाकिया पुगेका ३९ मध्ये १२ जना पोर्चुगलतर्फ लागेका छन् । युक्रेनको द्वन्द्वग्रस्त सहर खार्किभमा फसेका तीन नेपाली विद्यार्थी पनि बाहिरिन सफल भएका छन्  

उनीहरू रेल चढेर सीमातर्फ आइरहेका छन् । रुसले फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेदेखि उनीहरू खार्किभ छोड्न सकिरहेका थिएनन् । खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएका थिए । एक नेपाली युवती भने खार्किभमा सुरक्षित स्थानमा छिन् । उनलाई भारतीय विद्यार्थीसँगै उद्धारको तयारी भइरहेको छ । 

युक्रेनबाट विस्थापित नेपालीहरू स्वदेश फिर्ने पक्षमा देखिँदैनन् । ‘महिनाको डेढ लाख कमाउने भनेर युक्रेन आएका थियौं । युरोप जस्तो देश भनेर खर्चको मुख हेरिएन । १२ लाख रुपैयाँ ऋण लिएँ,’ ५ महिनाअघि युक्रेन पुगेका पाख्रिनले भने, ‘यत्रो ऋण बैंकमा छ । गरिबको छोराले रकम कसरी तिर्नु ? यहाँ बस्न पनि नसक्ने र फर्कन पनि नसक्ने अवस्थामा छौं ।’ उनले आफूहरूलाई पोर्चुगल, जर्मनी वा पोल्यान्डतिर पठाइदिएर सहजीकरण गर्नुपर्ने बताए ।

पोल्यान्ड पुगेका रितेश थापाले पनि आफूहरूलाई शरणार्थीको मान्यता दिइनुपर्ने बताए । ‘हामी द्वन्द्वबाट विस्थापित भएर दोस्रो देश जानुपरेको हो । हामी नेपाल फर्किने अवस्था छैन,’ उनले भने । पोल्यान्ड पुगेका अधिकांश नेपाली पोलिस सरकारको सेल्टरमा नबसी आफन्त वा चिनजानको शरणमा गएका छन् । नेपाली दूतावासका प्रतिनिधि बोधराज सुवेदीका अनुसार विस्थापितलाई पोल्यान्ड सरकारले विशेष खालको अस्थायी भिसा दिइरहेको छ । ‘एक महिनादेखि तीन महिनासम्मको भिसा दिइरहेको देखिन्छ । कोही पनि नेपाली नेपाल जान्छु भनेर भनेको छैन । हामीले नआत्तिकन बस्न र धैर्य गर्न भनिरहेका छौं,’ उनले भने, ‘अब नेपालीलाई यहाँ नै कसरी राख्न सकिन्छ भनेर कूटनीतिक रूपमा सोच्न जरुरी रहेको देखिन्छ ।’

एम्नेस्टी इन्टरनेसनलले युक्रेनबाट विस्थापितहरूका लागि सहजीकरण युरोपियन युनियनले गर्नुपर्ने जनाएको छ । ‘युक्रेनबाट विस्थापितलाई भेदभावबिना समान हिसाबले सुरक्षा दिइनुपर्छ । उनीहरूको विशेष आवश्यकता पूरा हुने गरी हेरचाह र मानवीयता देखाइनुपर्छ,’ एम्नेस्टीले भनेको छ, ‘प्रवेशका लागि चाहिने सबै प्रावधान हटाइनुपर्छ । युरोपियन युनियन र अन्तर्राष्ट्रिय तहमा खतरामा परेकाहरूलाई स्थानान्तरण गरिनुपर्छ ।’

संयुक्त राष्ट्रसंघीय मानव अधिकारको विश्वव्यापी घोषणापत्र र शरणार्थीसम्बन्धी संयुक्त अन्तर्राष्ट्रिय कानुनले पनि आन्तरिक तथा बाह्य द्वन्द्वका बेला पायक पर्ने देशमा शरण लिने अधिकारलाई सुनिश्चित गरेको छ । ‘यो बेला विस्थापितहरूको छनोटलाई प्राथमिकता दिइनुपर्छ । शरण दिई मानवीय सहायता सुनिश्चित गर्नु सम्बन्धित देशको दायित्व हो,’ इक्विडेयमका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले भने, ‘मानवीय सहयोगबाट कुनै हिसाबले बेदखल गर्न मिल्दैन । युरोपियन युनियनले थुप्रै मानव अधिकारसम्बन्धी कानुनहरू बनाएको छ । त्यसअनुसार युरोपियन देशले नेपालीसहितका विस्थापितको छनोटलाई स्वीकार गर्नुपर्छ ।’

Published on: 2 March 2022 | Kantipur

Link

Back to list

;