s

युक्रेनबाट बाहिरिए २९३ नेपाली

Year of Publication: 2 March 2022 | Nayapatrika

Published by: CESLAM

पर्शुराम काफ्ले

युरोपको युद्धग्रस्त देश युक्रेनबाट मंगलबार साँझसम्म दुई सय ९३ जना नेपाली बाहिरिएका छन् । यीमध्ये सबैभन्दा बढी पोल्यान्डमा दुई सय ३२ पुगेका छन् । त्यस्तै, स्लोभाकियामा ३९, रोमानियामा २३ र हंगेरीमा तीनजना पुगेका छन् । युक्रेनको राजधानी किभ र अर्को ठूलो सहर खार्किभबाट पनि नेपालीहरू पश्चिमी सीमातर्फ जाने क्रम जारी छ ।

‘अहिलेसम्म युक्रेनबाट चार मुलुकमा जम्मा दुई सय ९३ नेपाली पुग्नुभएको जानकारी सम्बधित मुलुकको आधिकारिक निकायबाट प्राप्त भएको छ,’ युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काले बर्लिनबाट टेलिफोनमा भने, ‘हामीसँग सम्पर्कमा आएकामध्ये सीमा क्षेत्र र भित्र ६० जनाको आसपासमा हुनुहुन्छ । उहाँहरू पनि बाहिरिने प्रक्रियामा हुनुहुन्छ ।

पोल्यान्डसँगको सीमामा पुगेका एनआरएनए अध्यक्ष कुमार पन्त भन्छन्– युक्रेनमा अझै सात सय नेपाली छन् 

सोमबारदेखि पोल्यान्ड–युक्रेन सीमा क्षेत्रमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले युक्रेनभित्र अझै कम्तीमा पनि सात सय नेपाली बाहिरिने पर्खाइमा रहेको बताए । ‘धेरै नेपाली दूतावास वा सरकारी निकायसँग सम्पर्कमा आउनुभएको छैन किनभने उहाँहरू नेपाल फर्किन चाहनुहुन्न,’ अध्यक्ष पन्तले भने, ‘पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानियासँग जोडिएका युक्रेनी क्षेत्रमा सात सयजति हुनुहुन्छ, तीन सयजति बाहिरिनुभएको छ ।’

चार मुलुक प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघका तर्फबाट सहजीकरण भइरहेको पन्तले बताए । पोल्यान्डको सीमा क्षेत्रमा नेपालीलाई राख्ने अस्थायी सेल्टर तयार गर्न लागिएको पनि उनले बताए । ‘कम्तीमा एक दिन बस्ने सेल्टर तयार गर्दै छौँ,’ पन्तले भने, ‘त्यहाँबाट पोल्यान्डका अन्य सहरमा जानका लागि यातायातको सुविधा उपलब्ध गराएका छौँ । गाडी स्ट्यान्डबाई राखेका छौँ ।’

विभिन्न मुलुक प्रवेश गरेका नेपालीका लागि नेपाल सरकारले उद्धार गर्नु आवश्यक नभएको उनले बताए । ‘मैले धेरै नेपालीसँग कुराकानी गर्दा उहाँहरू स्वदेश फर्किन चाहनुहुन्न, उहाँहरू पश्चिम युरोप जानकै लागि युक्रेन आउनुभएको रहेछ, युद्धका कारण उहाँहरूले सोचेभन्दा चाँडो जाने वातावरण बनेको छ,’ अध्यक्ष पन्तले भने ।

नेपाली राजदूत खड्काले पनि नेपालीले त्यहाँबाट चार्टर उडान वा अन्य माध्यमबाट स्वदेश फर्कन सहयोग नमागेको बताए । ‘उहाँहरूलाई युक्रेनबाट बाहिर निकाल्ने हाम्रो प्रमुख प्रयास हो, बाहिरिएकामध्ये अधिकांशले नेपाल आउने मन गर्नुभएको छैन । हामीले जबर्जस्ती नेपाल लैजाने कुरा पनि भएन,’ राजदूत खड्काले भने ।

अध्यक्ष पन्तका अनुसार युक्रेनमा करिब हजार नेपाली रहेको फेला परेको छ । ‘एकथरी नेपाली पोल्यान्डको अध्यागमन पार गरेर चाहेको गन्तव्यतर्फ जाने क्रममा छन्, अर्काथरी नेपालीको ठूलो संख्या पोल्यान्ड प्रवेश गरेको, तर अध्यागमन पार हुन बाँकी छ,’ पन्तले भने, ‘करिब सात सय नेपाली युक्रेनमै हुनुहुन्छ, त्यसमध्येको ठूलो संख्या पोल्यान्ड सीमा क्षेत्रमा आउने प्रयासमा छ । युक्रेनमा हजारभन्दा बढी नेपाली रहेछन् भन्ने कुरा यहीँ आएर थाहा पायौँ ।’

सीमा क्षेत्रको भ्रमणका क्रममा कतिपय नेपाली असाध्यै पीडित रहेको पन्तले बताए । ‘६ दिनदेखि युक्रेनबाट हिँडेर आएका र मानसिक रूपमा विक्षिप्त र तनावमा रहेकालाई भेट्यौँ,’ पन्तले भने ।

पन्तका अनुसार युक्रेनमा रहेका नेपालीको ठूलो संख्या दलालहरूले पश्चिमी युरोप पुर्‍याइदिने आश्वासनमा पुर्‍याएका छन् । ‘नेपाली दलालले ल्याएर छाडेका र अलपत्र अवस्थामा रहेकाहरू पनि भेट्यौँ । अहिले नाका खुलेपछि दलालहरू फेरि सक्रिय भएको र नेपालीसँग थप पैसा बार्गेनिङ गरेको दुःखेसो पनि उहाँहरूले पोख्नुभएको छ,’ पन्तले भने ।

पोल्यान्ड पुग्नुअघि दुःख भए पनि त्यहाँ पुगेपछि ब्रेडसहितका खानेकुरा, आधारभूत औषधि उपचार, बस्ने बन्दोबस्तको उपयोग नेपालीहरूले गरेको पन्तले बताए । ‘पोल्यान्डको पहिलो प्राथमिकता युक्रेनी शरणार्थी हुन्, त्यसपछि मात्रै विदेशी हुन्,’ उनले भने, ‘ नेपालीहरू शरणार्थी नभएका कारण युक्रेनीलाई जस्तो सुविधा छैन, तर गाह्रोसाह्रो पनि उनीहरूलाई छैन ।’

सबैभन्दा धेरै नेपालीको अहिलेको गन्तव्य पोल्यान्ड भएको छ । पोल्यान्ड भएर पश्चिम युरोपका अन्य मुलुक जान सकिने भएको हुनाले दुःख सहेर भए पनि नेपालीहरू पोल्यान्ड प्रवेश गर्न खोजेको पन्तले बताए । ‘पोल्यान्डमा शरणार्थीका रूपमा बस्ने सुविधा छ । कतिपयले स्पेन, पोर्चुगल जान्छौँ भनेका छन् र उनीहरूलाई जाने सहजता पनि हुन्छ,’ पन्तले भने ।

पोल्यान्ड पुगेकी सीता राई भन्छिन्– नेपाल फर्किन चाहन्नौँ

हाम्रो १७ जनाको समूह हिजो मात्रै सीमा क्षेत्रबाट पोल्यान्डको राजधानी वार्सा आइपुगेको छ । हामीले तीन महिनाका लागि सेन्जेन मुलुकका लागि भिसा पाएका छौँ । हाम्रा कतिपय साथीहरू फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेनतिर गएका छन् । हामी अब कता जाने भनेर सोच्दै छौँ । यहीँ काम गर्ने वा अर्को देशमा जाने दुवै अवसर छ । पासपोर्ट नहुने नेपालीले शरणार्थीका रूपमा बस्न पाउने भए, पासपोर्ट हुनेलाई तीन महिनाका लागि सेन्जेन भिसा सजिलै उपलब्ध छ । त्यसपछि भिसा थप्नका लागि पैसा खुवाउनुपर्छ । तर, काम गर्ने, कमाइ गर्ने अवसर यहाँ छ । हामी स्वदेश फर्किन चाहँदैनौँ । आठ लाखभन्दा बढी पैसा खर्च गरेर युक्रेन पुगेका थियौँ । दलाललाई पैसा खुवाएर आएका हौँ । सेन्जेन भिसा लागिसकेपछि को नेपाली स्वदेश फर्किन चाहन्छ र ? यहाँ आएका कोही पनि नेपाल फर्किने होइन, यतै काम गर्ने र कमाइ गर्ने योजनामा हुनुहुन्छ । हामी यहीँ आउनका लागि युक्रेन पुगेका हौँ ।

युक्रेनकै खार्किभमा रहेकी रोसा क्षेत्री भन्छिन्– अवस्था एकदमै नराम्रो छ, बाहिर जान खोज्दै छौँ

यहाँको अवस्था एकदमै नाजुक छ । भारतीय राजदूतावासले यहाँ रहेका भारतीय विद्यार्थी र हामीहरूलाई बाहिर जान समन्वय गर्ने भनेको थियो । तर, एकदमै ढिलाइ भयो । त्यसकारण हामी आफैँ निस्किन खोज्दै छौँ । आज (मंगलबार) बाहिर निस्किन खोजेका थियौँ, रेल्वे स्टेसनमै रुसी सैकिले बम पड्काएपछि रोकियौँ । रेल बन्द भए पनि ट्याक्सीलाई अनुरोध गर्‍यौँ, तर मानेन । अब बुधबार रेल चढेर पश्चिम युक्रेनको लिभिव र त्यहाँबाट पोल्यान्ड वा अरू कुनै देश जाने सोचिरहेका छौँ । परिस्थिति शान्त नहुन्जेल यहीँ बस्ने सोचमा थियौँ । तर, हामी बसेको छेउछाउकै युनिभर्सिटी बिल्डिङ ध्वस्त भयो । एकजना विद्यार्थीको मृत्यु भयो र एकजना घाइते भए । त्यसपछि हामी छाड्ने मुडमा पुगेका छौँ । जे–जसरी हुन्छ हामी बहिरिन्छौँ ।

पोल्यान्ड पुगेका गोकुल शर्मा भन्छन्– ६ दिन लाइन बसेर पोल्यान्ड आयौँ

युक्रेन–पोल्यान्ड सीमामा ६ दिन निरन्तर लाइन बसेर सोमबार पोल्यान्डको अध्यागमन पार गर्‍यौँ । अध्यागमनले चिठी दिएपछि हामी खुला भयौँ । हामीलाई ९० दिनसम्म बस्ने गरी छाप लगाइदिएको छ । ६ दिन लाइनमा बस्दा निदाएको, ब्युँझेको केही पनि पत्तो भएन । एक सातापछि बल्ल हिजो राम्रोसँग खान पायौँ । पासपोर्ट भएकालाई तीन महिनाको भिसा लगाइदिएको छ, पासपोर्ट नभएकालाई अरू कुनै परिचयपत्रका आधारमा जान दिएको छ । हामी पोल्यान्डको राजधानी वार्सा जाने तयारीमा छौँ । त्यहाँ साथीहरू भेटेर के गर्ने भन्ने सल्लाह गर्छौँ । नेपाल फर्किने मुड बनाइसकेका छैनौँ ।

रुस–युक्रेन युद्धको छैटौँ दिन : राजधानी किभमा ‘लक्षित हमला’ गर्ने रुसको घोषणा

युक्रेनविरुद्ध युद्ध घोषणा भएको छैटौँ दिन रुसले मंगलबार युक्रेनको राजधानी किभमा ‘लक्षित हमला’ गर्न बख्तरबन्द गाडीको लस्कर पठाएको छ भने दोस्रो ठूलो सहर खार्किभमा रकेट प्रहार गरेको छ । रुसले किभस्थित युक्रेनी सुरक्षा सेवा र सूचना प्रविधि केन्द्रहरू ध्वस्त पार्न आक्रमण गर्न लागेको भन्दै वरिपरि रहेका सर्वसाधारणलाई ठाउँ छाड्न चेतावनी दिएको छ ।

रुसले त्यही प्रयोजनका लागि ठूलो संख्यामा बख्तरबन्द सैनिक गाडी पठाएको छ । करिब ६० किलोमिटरसम्म रुसी सैनिक चढेका गाडीको लस्कर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाएका छन् । अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सरले जारी गरेको तस्बिरमा रुसी ट्यांक, तोपखाना र इन्धन ट्रकहरूको लस्कर उत्तरतर्फको राजमार्गमा ४० माइल (६० किलोमिटर)सम्म देखाएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमेर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै भनेका छन्, ‘शत्रुहरूको मुख्य लक्ष्य किभ सहर हो । हामी किभमा कुनै असर हुन दिनेछैनौँ ।’

खार्किभमा रकेट आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । युद्धको पाँचौँ दिन बेलारुसमा रुस र युक्रेनका अधिकारीबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको थियो भने बुधबार पुनः वार्ता हुने बताइएको छ ।

युक्रेनी गृह मन्त्रालयका सल्लाहकार एन्टोन हेरास्चेन्कोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले मंगलबार जनाएअनुसार रुसले किभ र खार्किभमा हमला गरेको छ । रुसी सेनाले सोमबार रातभर राजधानी किभ, ठूलो सहर खार्किभ र दक्षिणी बन्दरगाह सहर मारियोपोलमा तोप प्रहार गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले भनेका छन्, ‘हाम्रा सेनाले राजधानी किभवरिपरि आएका रुसी सैन्य विमान खसालिदिएका छन् ।’ युक्रेनी अधिकारीहरूका अनुसार किभ र खार्किभबीचको सहरमा रुसी रकेट आक्रमणमा ७० जना युक्रेनी सैनिक मारिएका छन् ।

युरोपेली संघ (इयू)मा सामेल हुने आधिकारिक अनुरोधमा हस्ताक्षर गरेको भोलिपल्ट मंगलबार युरोपेली संसद्लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको पक्षमा इयू रहेको प्रमाणित गर्न आग्रह गरे । उनले स्वतन्त्रता रक्षाका लागि आफू अन्तिमसम्म रुसविरुद्ध लडिरहने र विजय हासिल गर्ने विश्वास व्यक्त गरे । उनले सम्बोधन सुरु गर्दै गर्दा इयूका सांसदहरूले उठेर सम्मान प्रकट गरेका थिए ।

यसैबीच, रुसी रक्षामन्त्री सर्गेई सोइगुले आफ्नो लक्ष्य हासिल नभएसम्म युक्रेनमा सैन्य कारबाही जारी राख्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘पश्चिमाहरूबाट सिर्जना भएको खतराबाट बचाउने उद्देश्यका लागि सैन्य कारबाही भएको हो, युक्रेन कब्जा गर्नका लागि होइन ।’

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जेनेभामा आयोजित निःशस्त्रीकरण बैठकमा मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा युक्रेनले आणविक हतियार खोजिरहेको आरोप लगाए । उनले सम्बोधन सुरु गरेसँगै दर्जनौँ कूटनीतिज्ञ बाहिरिएका थिए । यसैबीच, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसविरुद्ध बेलायतको सुरक्षा फौज युक्रेनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

Published on: 2 March 2022 | Nayapatrika

 

Link

Back to list

;