s

उद्धार नभएपछि आठ–आठ लाख फिरौती बुझाएर फर्किए ५० नेपाली

Year of Publication: 4 December 2023 | Naya Patrika

Published by: CESLAM

दिनमा २० घन्टासम्म काम नगरे भोकभोकै राख्नेदेखि करेन्ट लगाउनेसम्मका यातना दिइन्थ्यो

उद्धारका लागि सात युवाको हारगुहार

बर्मामा चिनियाँ गिरोहद्वारा ‘साइबर दास’ बनाइएका नेपाली उद्धार हुन नसकेपछि फिरौती रकम बुझाएर स्वदेश फर्किएका छन् । महिनौँको यातना र लाखौँ रकम गुमाएका ५० भन्दा धेरै नेपाली हालै आफ्नै पहलमा स्वदेश फर्किएका हुन् ।

यातना खप्न नसकेपछि प्रतिव्यक्ति ६ हजार अमेरिकी डलर (करिब आठ लाख नेपाली रुपैयाँ) बुझाएर आफूहरू नेपाल आइपुगेको पीडितहरूले बताएका छन् । उनीहरूमध्ये केहीले प्रहरीमा उजुरीसमेत दिएका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा मानव तस्करीमा संलग्न समूहले ठूलो संख्यामा नेपालीलाई बर्मा लगेर बन्धक बनाई ‘अनलाइन स्क्याम’मा लगाउने छन् । दिनमा २० घन्टासम्म काममा लगाउने र लक्ष्यअनुसार काम गर्न नसक्दा शारीरिक तथा मानसिक यातना दिने गरेको उनीहरूले बताएका छन् ।

स्वदेश फर्किएकामध्ये पाँचजना म्यानमार लैजानेहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका छन् । पीडितहरूको उजुरीका आधारमा तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘पीडितहरूले चिनियाँलाई फिरौती रकम बुझाएर फर्किएको बताएका छन्,’ उनले भने, ‘पछिल्लो समय फिरौती बुझाएर धेरैजना नेपाल फर्किएका छन् ।’

ब्युरोमा भेटिएका एक पीडितका अनुसार पछिल्लो दुई महिनामा मात्र ५० जना भन्दा धेरै नेपाली फिरौती बुझाएर फर्किएका छन् । ‘हाम्रो क्याम्पमा करिब ६० जना नेपाली थियौँ,’ धादिङको नीलकण्ठ स्थायी घर भएका एक पीडितले भने, ‘उद्धारको पहल हुन नसकेपछि फिरौती बुझाउनुको विकल्प भएन ।’ शरीरमा यातनाका खत, मानसिक पीडा र आर्थिक क्षति लिएर स्वेदश फर्किएका उनीहरू न्याय माग्दै प्रहरीमा पुगेका हुन् ।

साइबर स्क्यामको ट्र्याप

साइबर ब्युरोले अर्का दुईजनालाई यसरी नै म्यानमार पठाएको आरोपमा गत साता तीनजनालाई पक्राउ गरेको छ । जसमा श्रीकृष्ण घले, वाङ्गो लामा र प्रेमा लामा छन् । उनीहरूमध्ये श्रीकृष्ण र वाङ्गो आफैँ पनि चिनियाँ गिरोहमा फसेका व्यक्ति हुन् । उनीहरूले अन्य व्यक्तिलाई पनि जागिरको प्रलोभनमा बोलाएर फसाएको ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

‘एकले अर्कालाई फसाउने ट्र्यापसमेत बनाएको देखियो,’ एसपी पंगेनीले भने, ‘यसअघि पक्राउ परेका केही व्यक्तिले पनि पहिला आफू त्यहाँ पुगेपछि अन्यलाई बोलाएर फसाएका घटना छन् ।’

ब्युरोले म्यानमारमा मानवतस्करीसम्बन्धी पछिल्लो एक वर्षमा चारवटा मुद्दा दायर गरिसकेको छ । जसमा तीनजना चिनियाँ नागरिकहरूसमेत छन् । उनीहरूले दोभाषेमार्फत एजेन्टहरू राखेर नेपालीलाई अवैध रूपमा म्यानमार पठाउनले र त्यहाँ बन्धक बनाएर ‘साइबर दास’का रूपमा अवैध काममा लगाउँदै आएका छन् । त्यो क्षेत्रमा अन्य देशका नागरिकलाई समेत राखिएको छ । थाई नागरिकसमेत त्यहाँ रहेकोमा हालै उद्धार गरिएको थियो ।

चिनियाँ गिरोहले म्यानमारका सैनिकलाई समेत प्रभावमा पारी यस्ता अवैध अखडा चलाएको आशंका गरिएको छ । जसकारण त्यहाँको सरकारलाई पटक–पटक आग्रह गर्दा पनि उद्धार हुन सकेको छैन । ऋण गरी फिरौती बुझाउन नेपाली बाध्य छन् । म्यानमारमा सैनिक शासन रहेको तथा सरकारको समेत बलियो उपस्थिति नभएको र माफियाहरूको चलखेल भएका ठाउँमा यस्ता क्याम्प बनाएर विश्वभरि अनलाइन स्क्यामको धन्दा चिनियाँले चलाउँदै आएका छन् ।

म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे चिनियाँबाट बन्धक बनाइएका नेपालीको उद्धारका लागि आफूहरूले अधिकतम प्रयास गर्दै आएको बताउँछन् । साथै, क्याम्पबाट निस्किएकालाई आफूहरूले समन्वय गरी स्वदेश फर्काउने गरेको उनको भनाइ छ । ‘धेरैजसो नेपाली थाइल्यान्डको नजिक रहेको क्षेत्रमा छन्, ठ्याक्कै कति छन् भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘पछिल्लो एक वर्षमा करिब ६० जना भने स्वदेश फर्किएको हामीलाई जानकारी छ ।’ कतिपय थाइल्यान्ड हुँदै फर्कने भएकाले म्यानमारको दूतावासले जानकारी पाउने गरेको छैन ।

उद्धारका लागि सात युवाको हारगुहार

म्यानमारको म्याओडीमा चिनियाँले बन्धक बनाएर यातना दिन थालेपछि हालै सातजना नेपालीले उद्धारका लागि हारगुहार गरेका छन् । करेन्ट लगाउनेलगायतको यातना दिएको भन्दै उनीहरूले एक महिनाअघिदेखि नै उद्धारका लागि आग्रह गर्दै आएका छन् । नेपाली दूतावासले भने चिनियाँ क्याम्पबाट उद्धार गर्न कठिन रहेकाले म्यानमारको सरकारलाई आग्रह गरिएको बताएको छ ।

म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले सात नेपालीको उद्धारका लागि समन्वय भइरहेको बताए । ‘हामीले यहाँको परराष्ट्रमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र अध्यागमनलगायतलाई उद्धार गरिदिनुप¥यो भनेर पत्र लेखेका छौँ,’ उनले भने, ‘हाम्रोतर्फबाट सक्दो पहल भइरहेको छ ।’

यसरी लगियो, यस्तो यातना दिइयो

धादिङको नीलकण्ठ घर भएका सन्तोष (नाम परिवर्तन) पोखराको एक होटेलमा काम गर्थे । उनको कमाइ मासिक करिब ५० हजार थियो । सामान्य चिनजानकी सुनिता नेपालीले उनलाई म्यानमारमा कम्प्युटरबाट ट्रान्सलेसनसम्बन्धी काममा जाने प्रस्ताव गरिन् । लागत जम्मा डेढ लाख, मासिक कमाइ एक हजार डलर हुने प्रस्तावमा उनी पनि लोभिए ।
सुनितामार्फत चिनेका अर्का एक व्यक्तिलाई सन्तोषले डकुमेन्ट लगेर बुझाए । उनको थाइल्यान्डको भिसा आयो ।

उनीसहित पाँचजना गत वर्ष भदौमा थाइल्यान्ड पुगे । थाइल्यान्डको विमानस्थलबाट तस्कर समूहले गाडीमा राखेर म्यानमारको सीमासम्म पुर्‍यायो । त्यहाँबाट डुंगामा खोला तारेर फेरि गाडीमा राखी म्याओडी भन्ने स्थानमा रहेको चिनियाँ अखडामा उनलाई पुर्‍याइयो । ‘सुरुमा केटीहरूको फोटो राखेर ८–१० वटा फेसबुक आइडी खोल्न लगाइयो,’ सन्तोषले भने, ‘पछि उनीहरूसँग च्याट गर्दै बिटक्वाइनमा लगानीका लागि फकाउन लगाउँथ्यो, त्यसका लागि कसरी कुरा गर्ने भन्ने स्क्रिप्ट नै थियो ।’

अमेरिकी नागरिकहरूलाई उनीहरूले त्यसरी ठग्न लगाउँथे । आफूहरू पनि अमेरिकी नागरिक नै भएको भनेर परिचय दिन लगाइन्थ्यो । एक दिनमा कतिजनालाई साथी बनाउने र उनीहरूलाई लगानी गर्न फकाउने लक्ष्य दिन थालियो । ‘जब टार्गेटअनुसार काम गर्न सकिँदैन, त्यसपछि खान पनि नदिई करेन्ट लगाउनेसम्मको यातना दिन्थे,’ सन्तोषले सुनाए, ‘त्यसपछि नेपाल फर्कन्छु भन्दा तँलाई ६ हजार डलरमा किनेको हुँ, पहिला पैसा दे, अनि मात्र जान पाउँछन् भने । कम्पाउन्डभित्र भएकाले भाग्न सक्ने अवस्था पनि थिएन, सबैतिर सिसिक्यामेरा थियो । बाहिर म्यानमारमा सेनाहरू बन्दुक लिएर बसेका हुन्थे ।’

यसरी यातनाबीच सन्तोषले दैनिक २० घन्टासम्म केही महिना काम गरे । सुरुका केही महिना तलब पनि पाए । पछि सहनै नसक्ने भएपछि उनी नेपालबाट फिरौती पठाउन लगाएर त्यहाँबाट मुक्त भएका थिए । पैसा बुझाएपछि आफूलाई म्यानमारको सेनाले नै स्कर्टिङ गरेर थाइल्यान्डसम्मको सीमामा पु¥याइदिएको उनको भनाइ छ । तर, उनले पासपोर्ट भने पाएनन् । थाइल्यान्ड पुगेलगत्तै त्यहाँको प्रहरीमा आत्मसमर्पण गरे । प्रहरीले अध्यागमनमा बुझायो । अध्यागमनले करिब तीन साता हिरासतमा राखी दुई दिन जेल र जरिवाना गरेपछि गत १४ असोजमा उनी नेपाल आइपुगेका हुन् ।

यसरी जाँदाखेरि डेढ लाख तथा फिरौती र फर्कनका लागि करिब १० लाख खर्च भएको सन्तोषले बताए । उनलाई त्यसरी लैजाने सुनिता गत २ साउनमै अर्काे व्यक्तिको जाहेरीमा पक्राउ परेकोमा हाल थुनामा छिन् भने अर्का व्यक्ति फरार छन् । चिनियाँ नागरिक लियान जुनसँग मिलेर नेपालीलाई म्यानमारको अनलाइन स्क्याम सेन्टरमा पठाउने गरेका थिए । आफू बसेको क्याम्पमा ६० जना नेपाली रहेको सबैजसो फिरौती बुझाएर फर्किएको उनले सुनाए । ‘केही बिरामी भएका व्यक्तिबाहेक सबैजना फिरौती बुझाएर मात्र त्यहाँबाट छुटेका हुन्,’ उनले भने ।

यस्तै, कथा मकवानपुरका दुई युवकको पनि छ । उनीहरू गत वर्ष मंसिरमा त्यहाँ पुगेका थिए । उनीहरूलाई कोलकाता, बैंकक हुँदै विमानबाटै म्यानमार लगिएको थियो । उनीहरू पनि सामान्य चिनजान भएकी एक महिलामार्फत त्यहाँ पुगेका हुन् । ती महिला पनि एक महिना म्यानमारस्थित चिनियाँ क्याम्पमा काम गरेर आएकी थिइन् ।

आफू बिरामी भएर काम गर्न नसकेको र काम गर्न सक्नेले एक हजार डलर कमाउने आश्वासन उनले दिएकी थिइन् । सोहीअनुसार दुई लाख ६० हजारका दरले पैसा बुझाएर मकवानपुरे युवाहरू आकर्षक रोजगारीको आशामा म्यानमार पुगेका थिए । त्यहाँ पुगेलगत्तै पासपोर्ट र मोबाइल नियन्त्रणमा लिएर काममा लगाइएको उनीहरूले बताए । गत १७ साउनमा मुक्त भएका उनीहरू नेपाल फर्कनका लागि यांगुनमा दुई महिना बस्नुपरेको थियो । आफूहरूको प्रतिव्यक्ति फिरौतीसमेत गरी १४ लाख खर्च भएको र यातना भोगेको भन्दै उनीहरूले ब्युरोमा जाहेरी दिएका छन् ।

पछिल्लो एक वर्षमा करिब ६० जना स्वदेश फर्किएको हामीलाई जानकारी छ
हरिश्चन्द्र घिमिरे म्यानमारका लागि नेपाली राजदूत

धेरैजसो नेपाली थाइल्यान्डको नजिक रहेको क्षेत्रमा छन्, ठ्याक्कै कति छन् भन्न सकिने अवस्था छैन । पछिल्लो एक वर्षमा करिब ६० जना भने स्वदेश फर्किएको हामीलाई जानकारी छ । कतिपय थाइल्यान्ड हुँदै फर्कने भएकाले म्यानमारको दूतावासले जानकारी पाउने गरेको छैन ।

Published on: 4 December 2023 | Naya Patrika

Link

Back to list

;