s

युएईमा भिजिट भिसामा आफन्त ल्याउनेहरुका लागि एनओसी जारी नगरिने

Year of Publication: 16 July 2019 | Onlinekhabar

Published by: CESLAM

रुपेश अधिकारी

नेपाली दूतावास आबुधाबीले जारी गर्दै आएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी नगर्ने निर्णय गरेको छ।दूतावासले आइतबार एक सूचना प्रकाशित गरेर सोमबारदेखि एनओसी जारी नगर्ने निर्णय गरेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिइन् ।

युएई भ्रमणमा भिजिट भिसामा आउन चाहनेहरुका लागि यहाँ कार्यरत नेपाली कामदारका आफन्तले दूतावासमार्फत एनओसी जारी गदै आएका थिए । यहाँ रहेकाहरुले नजिकका नातेदार श्रीमान, श्रीमती, आमाबुबा सासु, ससुरा र छोराछोरीलाई ल्याउँदा दूतावासले उक्त पत्र जारी गर्ने गरेको थियो ।

प्राप्त कागजातलाई नेपालमा अध्यागमन विभागले जाँच गरेर पठाउने भएपछि दूतावासले एनओसी जारी गर्न नपर्ने भन्दै यो रोक्न विभागले गृहमन्त्रालयलाई सम्बोधन गरी दूतावासलाई बोधार्थ पत्रचार गरेको थियो। सोहीअनुसार दूतावासले जारी नगर्ने निर्णय गरेको जनाएको छ ।

राजदूत कृष्णप्रसाद ढकालले सरकारको निर्देशन अनुसार उक्त सिफारिस जारी नगर्ने निर्णय गरिएको बताए। उनले भने, ‘सरकारले सम्बन्धित निकायमार्फत आगामी दिनदेखि एनओसी जारी नगर्नु भनेर निर्देशन पठाएको छ । हामीले सोहीअनुसार सोमबारदेखि नगर्ने निर्णय गरेका छौ ।’

माथिल्लो निकायको निर्देशन कार्यान्वयन गरिएको राजदूत ढकालको भनाइ छ । तर, एनओसी जारी गर्दा युएई दूतावासमा व्यापक अनियमितता भएको समाचार विभिन्न संचारमाध्यममा आएपछि यो रोक्न दबाब बढेको जानकारहरु बताउँछन् ।

दूतावासले एनओसी जारी नगर्ने भनी गरेको निर्णयको सामाजिक संजालमा व्यापक आलोचना भएको छ। यहाँ कार्यरत कामदारहरुले यो निर्णय गलत भएको र यसले दलाललाई पृष्ठपोषण गरेको भन्दै विरोध जनाएका छन् ।

तर, दूतावासले सिफरिसपत्र उपल्बध गराए पनि अध्यागमनले जाँच गर्ने भएपछि दूतावासले एनओसी जारी गर्नुको औचित्य नरहने द्धितीय सचिव अधिकारीले अनलाइनखबरलाई बताइन् । आफन्त ल्याउने सवालमा आवश्यक कागजात भएको अवस्थामा अध्यागमनबाट कुनै रोकावट नहुने उनको भनाइ छ ।

अहिले दूतावासबाट दैनिक १५ जनाले परिवारका सदस्यलाई भ्रमणका लागि भिजिट भिसामा ल्याउन सिफारिसपत्र बनाउने गरेका छन् । चालु आर्थिक वर्षमा ३५ सय जनालाई सिफारिसपत्र उपल्बध गराएको दूतावासले जनाएको छ ।

Published on: 16 July 2019 | Onlinekhabar

Back to list

;