s

युएईमा धेरैले गुमाए रोजगारी

Year of Publication: 21 May 2021 | Nagarik

Published by: CESLAM

रुद्र खड्का 

कोरोना महामारीले यतिखेर नेपाल मात्र नभई संसार नै आक्रान्त छ। महामारीका कारण विभिन्न मुलुक पुगेका नेपालीले रोजगारी गुमाइरहेका छन्। सरकारले दुई सातादेखि भारतका सीमितबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्नुअघिसम्म महामारीका कारण सबभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएका छन्। फर्कनेमध्ये धेरैजसोले रोजगारी गुमाएको बताइन्छ।  

सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुअघिसम्म युएईबाट एक लाख ४० हजार नेपाली घर फर्किएका छन्। त्यस्तै दोस्रोमा कतारबाट एक लाख ६ हजार फर्किएका छन्। मलेसियाबाट४९ हजार घर फर्किंदा साउदी अरेबियाबाट ४२ हजार र कुबेतबाट करिब २४ हजार फर्केका छन्। त्यस्तै ओमानबाट साढे पाँच र बहराइनबाट करिब १५ सय घर फर्किएका छन्। कोरोना महामारीले रोजगारी गुमाएर भारतबाट सबभन्दा धेरै फर्किएको बताइन्छ। तर समितिले भने भारतबाट फर्केको भनी २६ हजारको मात्र तथ्यांक राखेको छ।  

सीमावर्ती क्षेत्रमा काम गर्ने प्रहरी तथा सम्बद्ध निकायका अनुसार कोरोना महामारी सुरु भएयता भातरबाट करिब चार लाख रोजगारी गुमाएर घर फर्किएका छन्। घर फर्किएकामध्ये केही पुनः भारत गए पनि केही स्वदेशमै रहेको अनुमान छ। पहिलो लहरको महामारीपछि घर फर्किएर पुनः भारत गएका पनि दोस्रो लहरको महामारी सुरु भएसँगै फर्कने क्रम सुरु भइसकेको छ। समितिले एक वर्षको अवधिका विभिन्न मुलुकबाट करिब साढे चार लाख घर फर्केको जनाएको छ।  

यसअवधिमा खाडी मुलुक र मलेसिया तथा भारतबाट मात्र नभई विकसित मुलुकबाट समेत कैंयौं नेपाली फर्केका छन्। जापान र टर्कीबाट १४ हजार नेपाली फर्किंदा सिंगापुरबाट ६ हजार, मकाउबाट तीन हजार, हङकङ र चीनबाट साढे तीन हजार नेपाली स्वदेश आएका छन्।  

त्यस्तै बंगलादेशबाट करिब तीन हजार घर फर्कंदा अस्ट्रेलियाबाट एक हजार चार सय र माल्दिभ्सबाट एक हजार फर्किएका छन्। एक वर्षयता करिब एक लाखले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन्। कोरोना महामारी सुरु हुनुअघि नयाँ र पुराना गरी बर्सेनि करिब पाँच लाख युवायुवती वैदेशिक रोजगारीमा जाने गर्थे।  

हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या भने करिब ५५ लाख छ। विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये करिब २५–३० लाख अझै पनि गन्तव्य मुलुकमा रहेको अनुमान छ। गन्तव्य मुलुकमा रहेकामध्ये केही कोरोनाबाट प्रभावित भए पनि अन्तर्राष्ट्रिय हवाई उडान सहज नहुँदा र रोजगारदाताले बर्हिगमनको अनुमति नदिँदा उतै रहेको बताइन्छ। 

श्रम स्वीकृति जारी भएको आधारमा अहिलेसम्मको सबभन्दा ठूलो गन्तव्य मलेसियाले एक वर्षदेखि नेपाली श्रमिक लैजान बन्द गरेको छ। कोरोना महामारी फैलने त्रासले नेपालबाट श्रमिक लैजान बन्द गरे पनि मलेसियामै कार्यरतलाई भने रोजगारदाताले घर फर्कन अनुमति दिने गरेका छैनन्।  

मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकाल अप्ठेरो परेका र रोजगारदाताले अनुमति दिएका मात्र घर फर्कन पाइरहेको बताउँछन्। ‘अप्ठेरो अवस्थामा रहेका पनि केही दिनअघि अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएपछि घर नपाउने भएका छन्,’ उनले भने, ‘चाँडै अन्तर्राष्ट्रिय हवाई उडान सुरु भए त खासै असर नपर्ला नत्र समस्या पर्ने नै देखिन्छ।’  

हालसम्म करिब १० लाख श्रम स्वीकृति जारी भएको मलेसियामा यतिखेर करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ। विभागले वैदेशिक रोजगारीमा जानेको मात्र विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा यतिखेर विदेशमा कति नेपाली रोजगारीमा छन् भन्ने यकिन तथ्यांक भेट्न कठिन छ।  

विज्ञहरूले कोरोना महामारीको प्रकोप कम हुँदै गएपछि विदेशबाट ठूलो संख्यामा नेपाली फर्कन सक्ने भएकाले पुनर्एकीकरणका योजना ल्याउन माग गर्दै आएका छन्। ‘अप्ठेरोका बेला सरकारले रोजगारी गुमाएकालाई लक्षित गरी चाँडोभन्दा चाँडो पुनर्एकीकरणको कार्यक्रम ल्याउनुपर्छ,’ वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आइरहेको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल भन्छन्, ‘विदेश गएको छोटो समयमै रोजगारी गुमाएकालाई आर्थिक सहायता पनि दिनुपर्छ।’ 

कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई निःशुल्क उद्धार गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग हुँदै आए पनि सरकारले अहिलेसम्म त्यस्ता कार्यक्रम घोषणा गर्न सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू विदेशबाट फर्कनेलाई लक्षित गरी पुनर्एकीकरण निर्देशिका बन्ने क्रममा रहेको बताउने गरे पनि कहिले कार्यान्वयनमा आउँछ भन्ने कुनै टुंगो छैन। 

विदेशबाट फर्किएकामध्ये कतिपय बेरोजगार भएर बस्नुपरेको, कतिपयले आफ्नै प्रयासबाट गुजारामुखी कृषि कर्म गरिरहेको बताउँछन्। विदेशबाट फर्किएकालाई स्वरोजगारमुखी उद्यम वा आधुनिक कृषि प्रणालीमा लगाउन नसके अर्थतन्त्रमा नकारात्मक असर पर्ने विज्ञहरूको भनाइ रहँदै आएको छ। विदेशबाट फर्किएकाहरू लामो समयसम्म बेरोजगार बस्नु पर्दा उत्पादनमा कमी आएर भोकमरी पर्ने सम्भावना देखिएको कतिपयको भनाइ छ।  

विगतमा उत्पादन हुन नसके पनि विदेशबाट रेमिटेन्स पठाउने गरेका कारण दैनिक आवश्यकता परिपूर्ति गर्न सहज हुने गरेको थियो। तर कोरोना महामारीले विदेशबाट फर्किएकाको हातमा अब रेमिटेन्स पर्ने देखिँदैन। वैदेशिक रोजगारी कहिलेदेखि सहज हुन्छ भन्ने पनि टुंगो छैन।

Published on: 21 May 2021 | Nagarik

Link

Back to list

;