s

ऊ गयो ओमान

Year of Publication: 24 March 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

घनश्याम खड्का

फुर्सद छ भने बानेश्वर आइज न एक छिन् ।' एकाबिहानै मेरो मोबाइलको इन्बक्समा यस्तो एउटा मेसेज आयो । एकजना पुरानो साथीले पठाएको रहेछ । उसको मेसेजसँगै स्मृतिको खाताबाट सम्झनाका तस्बिर पनि पल्टिए ।

संसारका बारेमा नबुझ्दै हामीले एकअर्कालाई भेटेका थियौं । ऊ मेरो स्कुलको सबभन्दा पुरानो र पहिलो साथी थियो । हाम्रो सबै क्लासको सधैंको फस्र्ट ब्वाई ऊ । पढाइमा उसलाईजस्तो रुचि मलाई कहिल्यै भएन । तर पनि स्कुले जीवनभरि हामी सधैं सँगै बस्यौं । कलेजमा ऊ एकातिर भयो म अर्कातिर । आआफ्ना कामले हामी अलमलियौं । भेटघाट उति भएन । तर हाम्रो हार्दिकता बजारु रङजस्तो खुइलिएको थिएन । जहिल्यै भेट्दा प्रेमको गहिराइ उस्तै हुन्थ्यो ।
 
केही वर्षअघिको भेटमा उसले पीएचडी गर्ने तयारीका बारेमा सुनाएको थियो । चार-चारवटा कलेजमा पढाउन भ्याउँदो रहेछ । पढ्नमा ऊ सधैं अब्बलै थियो । पढाउनमा पनि भएछ । सुनेर कम्ता खुसी भएको थिइनँ म । भेटघाट अलिक बाक्लो पार्ने वाचासहित हामी छुट्टएिका थियौं । तर आफ्नै कामले दिनहरू बितेको पत्तो भएन । निकै पछि आज उसैले सम्झियो। म खुसीले फुलेल भएँ । 'पुरु' मेसेज गर्न ढिलो लागेर मैले फोनै गरेँ र भने, 'तँ कता ?' उसले सानो स्वरमा जवाफ फर्कायो र भन्यो, 'एउटा तालिममा छु ।'
 
यो कस्तो तालिम हो जहाँ पढाउनै छाडेर बिहानै आउनुपरेको हो उसलाई ? त्यो जान्ने सकसक लागेर अयो । अलि पछि म गएँ । एउटा रेस्टुराँमा हामी बस्यौं । ऊ अलिक उदास थियो । 'म ओमान जाने भएँ,' उसले भन्यो, 'जानुअघि भेटुँ भनेर ।' सुनेर म चकित भएँ । 'यता गतिलो काम पाइएन,' उसैले भन्दै गयो, 'चारतिर पढाएर पनि केही लछारपाटो लागेन ।'
 
पैसा उति नकमिने मास्टरीदेखि वाक्क लागेर ओमानमा एउटा कम्पनीका लागि ‘फ्रिभिसा फ्रिटिकट' भन्ने अखबारी विज्ञापनलाई पछ्याउँदै उसले आवेदन दिएछ । छानिएछ पनि । तर सबै कुरा फ्रिभने पनि म्यानपावर कम्पनीलाई ५० हजार दिनैपरेछ । जसले दिन्छ उसैलाई पठाउने 'कम्पनी' चाल बुझेपछि उसले मिहिनेतले चक घोटेर जम्मा पारेको ५० हजार खुरुक्क बुझाएछ ।
'जानाजान ठगिनुपर्छ यहाँ,' ऊ खिस्स हाँस्यो, 'बुझेको छु भनेर के काम !'
 
जानुअघि म्यानपावर कम्पनीले ओरिएन्टेसनजस्तो एउटा कक्षा लिएको रहेछ । त्यसैमा सहभागी हुन ऊ आएको रे बानेश्वर । मैले देखेँ, उसको अनुहारमा दुविधा थियो । ओमान जानु ठीक कि यतै प्राध्यापनै जारी राख्नु ठीक भन्ने खुट्याउन नसकेर ऊ आजित भएको रहेछ । 'म दिनमा दसपल्ट मनमनै ओमान पुगिसक्छु र दसैपल्ट र्फकेर फेरि पढाउन थाल्छु,' उसले भन्यो, 'एकै छिनमा यो ठीक लाग्छ, अर्कोछिनमा अर्कै ठीक लाग्छ ।' भिसा लागिसकेको रहेछ । जाने दिन आइसकेको रहेछ । चारै ठाउँको प्राध्यापन छाडिसकेको रहेछ । यस्तोमा फेरि किन दुविधा ?
धेरैले उसलाई भनेछन्, 'यतै इज्जत थियो नि, किन जानुपरेको ?' उसलाई पनि लाग्दो रहेछ, गएर गल्ती गर्दै छु कि कसो ? यो दुविधाका बीच ऊ मलाई भेटिरहेको थियो । 'यसमा अब केको सोचविचार ?' मैले भनिदिएँ, 'नयाँ ठाउँ देखिन्छ, नयाँ अनुभव हुन्छ, पैसा पनि अलेलि कमिन्छ, खुस्सी भएर जा ।' नभन्दै गएको बुधबार ऊ गयो ।
 
'अन्तमा जाने दिन पनि आइहाल्यो,' जानुअघि उसले फेसबुकमा लेखेको रहेछ, 'म अलिक दुःखी छु, ठीकै खुसी पनि छु । मेरो काम, नयाँ ठाउँ र नयाँ देशका बारे बढी नै उत्सुक पनि छु । सबैलाई मिस गरिरहेको छु । भोलि ९:३० बजे त म ओमानमा हुनेछ !' आशा गर्छु ओमानमा ऊ खुसी नै होला । यता मेरो मन भने नमिठो गरी दुःखेको छ । ऊ ओमान गएकामा होइन, जान बाध्य भएकामा । ऊ एउटा प्रधिनिधि हो हामीले भागिरहेको समयको । पढाइमा सधैं अब्बल भएर पनि उसलाई सुहाउने काम देशमा फेला परेन । जो फेला पर्‍यो त्यसले यो आकाश छुने महँगीसँग तालमेल हुने तलब दिन सकेन । यो देशका लाखौं युवाका अघिल्तिरजस्तै ऊसँग पनि एउटै उपाय बिदेसिनु थियो । बिदेसियो ।
 
पढेका नपढेका कसैलाई यहाँ गरिखाने ठाउँ छैन । जसरी खोला मूल छाडेर समुद्रको ताकमा हिँड्छन् हाम्रो पहाडमा, त्यसैगरी हामी देश छाडेर हिँड्छौं संसारभर । गैरआवासीय नेपालीको एउटा तथ्याङ्क भन्छ, हामी नेपाली विश्वका १ सय २८ देशमा पुगेका छौं काम खोज्न । 'तर यो सार्क देशबाहेक हो,' एनआरएन नेपाल कार्यालयका अधिकृत राजेश राणा भन्छन्, '३० लाख जति नेपाली यी देश -सार्कबाहेकका १ सय २८ देश) मा छन् ।'
 
सार्क देशको पनि जोड्दा देशबाहिर झन्डै १ करोड पुग्दो रहेछ कामको खोजीमा गएका नेपालीको संख्या । भारतमा मात्रै ५० लाखको हाराहारीमा छन् अरे नेपाली । अध्यागमन विभागको तथ्याङ्क भन्छ, गएको वर्ष मात्रै पौने आठ लाख नेपालीले मुलुक छाडे । दिनको सरदर २१ सय ५० युवाले नेपाल छाड्दारहेछन् । झन्डै झन्डै घन्टामा सय नेपाली विदेश पुगिरहेका छन् । लस्करका लस्कर खुला सिमानाबाट कालापानीतिर छिर्ने नेपालीको संख्या त्रिभुवन विमानस्थलको अध्यागमन शाखाले निकालेको यो तथ्याङ्कमा छैन ।
 
देश छाड्नेको हूल देख्दा यस्तो लाग्छ नेपालमा ठूलो महामारी फैलिएको छ । त्यसबाट बच्न सक्दो छिटो मानिसहरू भागिरहेका छन् ।
समाजशास्त्रीहरू भन्छन्, देशमा साँच्चि नै महामारी छ । तिनका विचारमा यो महामारी राजनीतिक बेथितिको हो । अविकास र पछौटेपनको हो । भ्रष्टाचार र नातावादको हो । 'इमानको राजनीति र स्थिरता सबै कुराको मियो हो,' समाजशास्त्री सुरेन्द्र कोइराला भन्छन्, 'यहाँ त्यो दबै छैन ।'
त्यसकारण विकास पनि छैन । अवसर पनि छैन । रोजगारी पनि छैन । एकातिर संसारलाई खुला बजारले डोर्‍याएको छ । विश्वव्यापीकरण र पुँजीवादले पछ्याएको छ । अर्कातिर नेपाल सदैव राजनीतिक भद्रगोलमा रुमल्लिएको छ । यता अवसर नहुनु र अवसरको ढोका संसारैभर खुल्नुले मेरो सहपाठीलाई झैं यो देशका सारा युवालाई देश छाड्न सजिलो पारिदिएको छ ।
 
आफ्नो सीप, क्षमता र अवसर हेरी नेपालीहरू दिल्लीदेखि दुबईसम्म पुगेका छन् । मलेसियादेखि ओमानसम्म छरिएका छन् । युरोपदेखि अमेरिकासम्म काम गर्दै छन् । यस्तो कहिलेसम्म ? कहिलेसम्म यहाँका युवाले यहीँ काम नपाउने ? कहिलेसम्म ? 'जहिलेसम्म देशले प्रगति गर्दैन,' कोइराला भन्छन्, 'जहिलेसम्म स्थायित्व र विकास हुँदैन ।' विकास कहिले हुन्छ ? स्थायित्व कहिले आउँछ ? कहिले गर्छ देशले प्रगति ? जवाफ पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनालले दिऊन् ।
 
Published on: 24 March 2012 | Kantipur

Back to list

;